काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुरसहित तीनवटा मुद्दामा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत भक्तपुरमा ७ दिनको म्याद माग गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरले सरकारी वकिलको कार्यालयमार्फत म्याद थपको माग गरेको हो। म्याद थपसम्बन्धी बहस जिल्ला अदालत भक्तपुरमा जारी रहेको प्रहरीले जनाएको छ।
प्रसाईंलाई आइतबार राति भक्तपुरस्थित निकोसेराबाट पक्राउ गरिएको थियो। उनीविरुद्ध सार्वभौमसत्ता वा अखण्डतामा खलल पुग्ने गतिविधि गरेको, सार्वजनिक शान्तिविरुद्धको कसुर तथा विद्युतीय कारोबार ऐनअन्तर्गतका कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
हालै आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका प्रसाईं यसअघि पनि विभिन्न मुद्दामा पक्राउ परेर कानुनी प्रक्रियापछि छुटिसकेका छन्। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।











