काठमाडाैँ । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाले गत आर्थिक वर्षको महालेखापरीक्षकको लेखापरीक्षणमा बेरुजु रकम शून्य कायम गर्न सफल भएको छ। दैनिक आर्थिक कारोबारमा वित्तीय अनुशासन, पारदर्शिता र नियमसंगत प्रक्रिया अवलम्बन गर्दै गाउँपालिकाले बेरुजु शून्य बनाएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशिल लम्सालले कार्यालयमा हाजिर भएकै दिनदेखि आफ्नो कार्यकालमा गाउँपालिकाको बेरुजु शून्य बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। सोही प्रतिबद्धताअनुसार आर्थिक कारोबारमा आवश्यक प्रक्रिया र पारदर्शिता कायम गर्दै अघि बढेपछि बेरुजु शून्य बनाउन सफल भएको उहाँले बताउनुभयो।
गाउँपालिकाले गत आर्थिक वर्षको वार्षिक लेखापरीक्षणमा बेरुजु शून्य कायम गर्नुका साथै विगतका आर्थिक वर्ष २०७८/७९, २०७९/८० र २०८०/८१ मा असुलउपर गर्नुपर्ने पुराना बेरुजुसमेत फर्छ्यौट गरेको जनाएको छ।
लेखापरीक्षणका क्रममा औंल्याइएका कैफियतलाई समयमै नियमसंगत प्रक्रियामार्फत सम्बोधन गर्दै पुराना बेरुजु असुल तथा फर्छ्यौट गरिएको गाउँपालिकाले जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत लम्सालले वित्तीय अनुशासन र सुशासन कायम गर्न बेरुजु फर्छ्यौटलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले बेरुजुको अस्थायी समाधानभन्दा पनि स्थानीय तहमा आर्थिक अनुशासन कायम गर्न यसको स्थायी उपचार आवश्यक रहेको उल्लेख गर्नुभयो।
आफूले कार्यभार सम्हालेको पहिलो दिन गरेको प्रतिबद्धता पूरा गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै लम्सालले आगामी दिनमा पनि निष्ठा, पारदर्शिता र दृढताका साथ कार्यसम्पादन गर्न सके स्थानीय तहमा वित्तीय अनुशासन र सुशासन कायम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।
नार्पाभूमि गाउँपालिकाको यो उपलब्धिले स्थानीय तहमा आर्थिक अनुशासन, पारदर्शिता र सुशासन कायम गर्न अन्य स्थानीय तहका लागि समेत अनुकरणीय सन्देश दिएको छ।
नवीन अंङकुर
१८ श्रावण २०८३, सोमबार १८:२२
नवीन अंङकुर
१८ श्रावण २०८३, सोमबार १८:२२
१८ श्रावण २०८३, सोमबार १८:२२








