२ आश्विन २०८३, शुक्रबार Friday, September 18, 2026
२ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा

एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ?

एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ?
अ+ अ-

लन्डन— कृत्रिम बुद्धिमत्ता (एआई) का सुरक्षा तथा सैन्य जोखिमबारे धेरै चर्चा भएको छ। तर सीमित भाषामा प्रशिक्षित र केही बहुराष्ट्रिय कम्पनीहरूको स्वामित्वमा रहेका ठूला भाषा मोडेल (Large Language Models–LLMs) ले निम्त्याउने सांस्कृतिक तथा आर्थिक जोखिमप्रति अपेक्षित ध्यान दिइएको छैन। यस्ता एलएलएमहरूको बजार वर्चस्वले अल्पसंख्यक भाषा भएका विकासशील देशहरूलाई स्पष्ट रूपमा पछाडि पार्ने जोखिम सिर्जना गरेको छ।

सन् २०२२ को नोभेम्बरमा ओपनएआईले च्याटजिपिटी सार्वजनिक गरेयता उद्योगका अगुवा र नीति निर्माताहरूले स्वास्थ्य, शिक्षा, उत्पादकत्व र आय वृद्धिमा एआईले ल्याउन सक्ने परिवर्तनकारी सम्भावनाको व्यापक चर्चा गर्दै आएका छन्। तर यी लाभ सबै देश र समुदायमा समान रूपमा पुगेका छैनन्।

धेरै विकासशील अर्थतन्त्रहरू भाषागत असन्तुलनका कारण यस्ता एआई प्रणालीको पूर्ण लाभ लिन असमर्थ छन्। विश्वभर बोलिने ७,००० भन्दा बढी भाषामध्ये अधिकांश एलएलएमहरू करिब १०० भाषामा मात्र प्रशिक्षित छन्। तीमध्ये अंग्रेजी तथा अन्य पाँच प्रमुख भाषा—चिनियाँ, स्पेनी, फ्रान्सेली र जर्मन—ले प्रशिक्षणका लागि प्रयोग हुने अधिकांश डेटा ओगटेका छन्। तर अंग्रेजी मातृभाषा हुने मानिसको संख्या करिब ४० करोड मात्र छ, र विश्वको केवल २५ प्रतिशत जनसंख्याले यी पाँच प्रमुख भाषामध्ये कुनै एकलाई पहिलो भाषाका रूपमा बोल्छ। यस्तो असन्तुलनले छोटो अवधिमा सांस्कृतिक तथा आर्थिक अलगाव र दीर्घकालमा आर्थिक वृद्धिमा अवरोध तथा भाषिक विविधताको ह्रास निम्त्याउन सक्छ।

यसमा अर्को विडम्बना पनि छ। धनी देशहरूले विशाल डेटा सेन्टर र शक्तिशाली कम्प्युटिङ पूर्वाधारमा ठूलो लगानी गर्दै एआईको तीव्र विस्तार गरेका कारण विकासशील देशका नागरिकका लागि इन्टरनेट पहुँच र डिजिटल सेवाको लाभ लिन अझ कठिन भएको छ। एआईका लागि आवश्यक चिपको बढ्दो मागले स्मार्टफोन महँगो बनाएको छ, जसका कारण लाखौं मानिस डिजिटल पहुँचबाट वञ्चित भइरहेका छन्।

त्यसैले एलएलएमहरूले स्थानीय भाषा र संस्कृतिलाई अझ राम्रोसँग प्रतिनिधित्व गर्नुपर्छ। अन्यथा, ऐतिहासिक घटनाक्रम, बसाइँसराइ र राजनीतिक परिवर्तनले निर्माण गरेका स्थानीय शब्दावली र सांस्कृतिक सम्पदा हराउने खतरा बढ्नेछ। साथै, भाषिक विविधताको अभावले एआईको प्रयोग विस्तार हुन पनि ढिलाइ हुनेछ।

उदाहरणका लागि, पेरुमा डिजिटल वित्तीय सेवाले स्थानीय बोलिचालीको भाषा प्रयोग नगरेसम्म उपभोक्तासँग प्रभावकारी रूपमा जोडिन सक्दैन। त्यस्तै, भियतनाममा अनलाइन स्वास्थ्य सेवाले प्रभावकारी उपचार उपलब्ध गराउन मातृभाषामा आधारित एआई आवश्यक पर्छ।

मोबाइल नेटवर्क अपरेटर (एमएनओ) हरू स्थानीय भाषा मोडेल विकास गर्न सबैभन्दा उपयुक्त संस्थामध्ये पर्छन्। उनीहरूसँग ठूलो प्राविधिक जनशक्ति, डेटा प्रशोधन क्षमता तथा सरकारसँगको विश्वसनीय साझेदारी हुन्छ। किनकि अल्पसंख्यक भाषाका एलएलएम निर्माणको सबैभन्दा ठूलो चुनौती पर्याप्त प्रशिक्षण डेटा नहुनु हो। यसको समाधान सरकारसँग सुरक्षित रूपमा रहेको विशाल डेटा स्रोतको जिम्मेवार प्रयोगमा निहित छ।

यसको उदाहरण युक्रेनको सबैभन्दा ठूलो मोबाइल नेटवर्क अपरेटर किभस्टार (Kyivstar) हो, जसले डिजिटल रूपान्तरण मन्त्रालयसँग साझेदारी गरी युक्रेनी भाषासहित रुसी, बुल्गेरियन र क्रिमियन टाटार भाषामा आधारित देशकै पहिलो राष्ट्रिय एलएलएम विकास गरेको छ। यस क्रममा रुसी शासनकालमा लेखिएका धेरै साहित्य सांस्कृतिक रूपमा संवेदनशील मानिएकाले प्राविधिक, कानुनी, सांस्कृतिक, ऐतिहासिक तथा भाषिक पक्षको समीक्षा गर्न चारवटा अधिकारसम्पन्न सल्लाहकार समिति गठन गरिएको थियो।

मैले नेतृत्व गरिरहेको ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन्स एसोसिएसन (GSMA) ले पनि नाइजेरिया, माडागास्कर, टोगो तथा लोकतान्त्रिक गणतन्त्र कङ्गोसहित उप-सहारा अफ्रिकाका धेरै देशमा अफ्रिकन एआई ल्याङ्ग्वेज मोडल्स परियोजना सञ्चालन गरिरहेको छ। यसले एयरटेल, एक्सियन टेलिकम, इथियो टेलिकम, एमटीएन, ओरन्ज र भोडाकमलगायतका प्रमुख मोबाइल कम्पनी, सरकारी तथा निजी क्षेत्र, शिक्षाविद् र नागरिक समाजलाई एकै ठाउँमा ल्याएर अफ्रिकी भाषाका लागि समावेशी तथा विस्तारयोग्य एलएलएम निर्माण गरिरहेको छ।

सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका समुदायका लागि सकारात्मक प्रभाव पार्ने एआई स्टार्टअपलाई विस्तार गर्न जीएसएमएले बेलायतको Foreign, Commonwealth and Development Office (FCDO) को सहयोगमा EmergingTech कार्यक्रम सुरु गरेको छ। यसको पहिलो समूहमा मोरक्कोका स्थानीय बोलिमा आवाजमार्फत डिजिटल तथा वित्तीय सेवा पहुँचयोग्य बनाउने ToumAI तथा नेपालको डिजिटल विभाजन कम गर्न बहुभाषिक ‘मिक्स-कोड’ संवादात्मक एआई विकास गरिरहेको Wiseyak पनि समावेश छन्।

विश्व अहिले ‘प्रम्प्ट-आधारित’ एआईबाट ‘एजेन्टिक एआई’तर्फ अघि बढिरहेका बेला यस्ता पहलको महत्त्व झन् बढेको छ। बैंकिङ, स्वास्थ्य, शिक्षा लगायतका डिजिटल सेवामा एआई समावेश हुँदै जाँदा यसले जनजीवन र जीविकोपार्जनमा प्रत्यक्ष प्रभाव पार्नेछ। खुला स्रोत (ओपन-सोर्स) एआई मोडेलबाट व्यवसायहरू पनि लाभान्वित भइरहेका छन्।

स्थानीय एआईमा गरिएको लगानीले विकासशील अर्थतन्त्रमा सकारात्मक चक्र सिर्जना गर्छ। यसले दक्ष प्राविधिक जनशक्ति उत्पादन गरी डिजिटल आत्मनिर्भरताको आधार तयार गर्छ। डेटा तथा डेटा-प्रशोधनसम्बन्धी सार्वभौमिकताको महत्त्व बढिरहेका बेला विकासशील देशहरूले एजेन्टिक एआईको प्रयोगमा आफ्नै नियन्त्रण र सुशासन सुदृढ गर्नुपर्छ। त्यसका लागि सरकार, विकासकर्ता र मोबाइल नेटवर्क अपरेटरहरूले सहकार्य गर्दै समाजको आवश्यकता अनुरूप अल्पसंख्यक भाषामा आधारित एआई मोडेल विकास गर्नु अपरिहार्य छ।

 विवेक बद्रिनाथ –ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन्स एसोसिएसन (GSMAका महानिर्देशक हुनहुन्छ । 

© Project Syndicate, 1995–2026