२ भाद्र २०८३, मंगलवार
,
Latest
लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित



अ+ अ-

लेज–क्याप–फेरेट।  फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण एक लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

तीव्र हावा र लामो खडेरीका कारण डढेलो तीव्र रूपमा फैलिँदा दुवै देशले युरोपेली सङ्घ (इयू) सँग सहयोग मागेका छन् ।

फ्रान्सको दक्षिणपश्चिमी बोर्डो क्षेत्र र स्पेनको राजधानी म्याड्रिड आसपासका क्षेत्रमा डढेलोले व्यापक क्षति पु¥याएको छ । फ्रान्समा करिब एक लाख ४१ हजार तथा म्याड्रिड क्षेत्रमा करिब २५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन् ।

विस्थापितमध्ये एक हजार २०० भन्दा बढी वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्ति रहेका छन् । बोर्डोको दक्षिणस्थित पर्यटकीय क्याप फेरेट प्रायद्वीपबाट मात्र करिब ४४ हजार मानिसलाई उद्धार गरिएको छ । आगोका कारण त्यहाँ ५० भन्दा बढी घर नष्ट भएका छन् । डुङ्गा र सवारी साधनमार्फत् स्थानीय बासिन्दा तथा पर्यटकलाई सुरक्षित स्थानमा पु¥याइएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले डढेलो नियन्त्रणका लागि युरोपेली सङ्घसँग सहयोग माग्दै सेनालाई परिचालन गर्न निर्देशन दिनुभएको छ । फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले यो देशले अहिलेसम्मकै सबैभन्दा भीषण डढेलोको सामना गरिरहेको बताउनुभयो ।

स्पेनमा म्याड्रिड क्षेत्रीय आपतकालीन व्यवस्थापन प्रमुख कार्लोस नोभिलोले राजधानी आसपासको डढेलो अग्निनियन्त्रकहरूको नियन्त्रण क्षमताभन्दा बाहिर पुगेको बताउनुभएको छ । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले प्रभावित क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम तय गरिएको छ ।

फ्रान्सले डढेलो नियन्त्रणका लागि करिब एक हजार सैनिक परिचालन गरेको छ । साथै, धुवाँबाट प्रभावित क्षेत्रका बासिन्दा र उद्धारकर्मीका लागि १५ लाखवटा एफएफपी–२ मास्क वितरण गरिने जनाइएको छ ।

क्याप फेरेट क्षेत्रमा आगो नियन्त्रणमा खटिएका करिब एक हजार अग्निनियन्त्रकमध्ये ४० जना घाइते भएका छन् । यसै साता फ्रान्स र इटालीमा डढेलो नियन्त्रणका क्रममा तीन अग्निनियन्त्रकको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

युरोपेली आयोगले सहयोगस्वरूप फ्रान्सका लागि तीन र स्पेनका लागि चारवटा पानी बोक्ने अग्नि नियन्त्रण विमान परिचालन गरेको जनाएको छ ।

अधिकारीहरूका अनुसार फ्रान्समा हालसम्म १३ हजार ५०० हेक्टरभन्दा बढी र म्याड्रिड क्षेत्रमा करिब छ हजार हेक्टर वन तथा जमिन डढेलोले नष्ट गरिसकेको छ । ग्वाडालाजारा क्षेत्रमा फैलिएको अर्को डढेलोले ३२ हजार हेक्टरभन्दा बढी क्षेत्र जलेको छ ।

वैज्ञानिकहरूले मानव गतिविधिका कारण भएको जलवायु परिवर्तनले खडेरी र अत्यधिक गर्मी बढाएकाले युरोपमा डढेलोको जोखिम झन् तीव्र बन्दै गएको बताएका छन् । (रासस/एएफपी)