काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ पुस्तामा वैचारिक स्कुलिङको निरन्तरता दिन नसक्दा कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको बताउनुभएको छ ।
शुक्रवार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरुको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । कम्युनिष्ट शक्तिहरु सरकार गठन र सत्ता समिकरण मिलाउने रणनीतिमा अल्मलिँदा वैचारिक पक्ष कमजोर हुन पुगेको उहाँको भनाइ छ ।
उहाँले विदेशी शक्तिहरुले मुलुक र जनतालाई भ्रममा पार्न लामो समयदेखि रणनीति बनाइरहेको कुरा समयमे थाहा नपाउँदा मुलुकको भूराजनीतिक संकटतर्फ उन्मुख भएको टिप्पणी पनि गर्नुभयो । उहाँले चिनियाँ साम्राज्यवादी शक्तिहरूले अफिमको लतमार्फत चिनियाँ जनतालाई कमजोर बनाएर स्रोत–साधनमाथि कब्जा गरेको स्मरण गर्दै नेपालको पछिल्लो राजनीतिमा त्यही घटना दोहोरिएको तर्क गर्नुभयो । उहाँले वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरुको कमजोरीमाथि टेकेर नेपाली जनतालाई पनि अफिम खुवाएको उहाँको टिप्पणी छ ।
सामाजिक सञ्जालमा ‘एल्गोरिदम म्यानिपुलेसन’ मार्फत नयाँ पुस्तालाई प्रभावित बनाउने कार्य भएको भन्दै त्यसको प्रतिवादका लागि कम्युनिष्ट शक्तिहरुले वैचारिक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वाम एकताको दिगोपनको सुनिश्चितता नगरिकन वाम एकता सम्भव नभएको पनि बताउनु भयो ।










