काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’ का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेको छ ।
सो अवसरमा नेपाल–चीनबीच चलचित्र, संस्कृति र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य विस्तार गर्नेलगायतका विषयमा छलफल भएको थियो ।
सो अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनाले अन्तरराष्ट्रिय चलचित्र महोत्सवलगायतका कार्यक्रमले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै द्विदेशीय सम्बन्ध विस्तारका पक्षमा हुने प्रवर्द्धनात्मक गतिविधिमा सहयोग गर्न सरकार तयार रहेको स्पष्ट गर्नुभयो ।
चलचित्र महोत्सवले नागरिकस्तरमा सम्बन्ध विस्तार गर्नुका साथै पर्यटन प्रवर्द्धनमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उहाँले आपसी हित र साझा लाभका आधारमा आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो ।
यसैगरी, सञ्चारमन्त्री डा तिमिल्सिनाले बाह्य पर्यटकका रुपमा उल्लेख्य सङ्ख्यामा चिनियाँ नागरिक आउने गरेको प्रसङ्ग उल्लेख गर्नुहुँदै प्राकृतिक सम्पदा, संस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न चलचित्र प्रभावकारी माध्यम बन्न सक्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले नेपाली चलचित्रलाई विश्व बजारमा पुर्याउन तथा अन्तरराष्ट्रिय पहुँच विस्तार गर्न सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
चिनियाँ प्रतिनिधिमण्डलका नेता तथा ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’ का संस्थापक अध्यक्ष ली होङ्शुले नेपाल चीनको घनिष्ठ मित्र राष्ट्र भएको उल्लेख गर्दै प्राकृतिक सौन्दर्यसहित सांस्कृतिक विविधताका कारण चलचित्र छायाङ्कनका लागि नेपाल उत्कृष्ट गन्तव्य रहेको बताउनुभयो ।
उहाँले अनुकूल वातावरणका कारण चलचित्र निर्माणका साथै सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवर्द्धन र नागरिकस्तरको सम्बन्ध सुदृढ गर्न नेपाल अनुपमस्थल रहेको धारणा व्यक्त गर्नुभयो ।
‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’ नेपाल र चीनबीच चलचित्र तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिएको द्विपक्षीय पहल हो । महोत्सवले नेपाली चलचित्रलाई चिनियाँ बजारसँग जोड्ने महत्त्वपूर्ण मञ्चका रूपमा काम गरिरहेको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले बताउनुभयो ।
उहाँका अनुसार सन् २०२६ अप्रिल १४ देखि १९ तारिखसम्म चीनको हुनान प्रान्तस्थित चाङ्सा र हेङयाङ सहरमा आयोजना गरिएको महोत्सव नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वर्षको अवसरमा सम्पन्न भएको थियो ।
महोत्सवका लागि नेपालबाट २३ वटा चलचित्र आवेदन परेकामा ११ वटा प्रारम्भिक छनोटमा परेका थिए। त्यसपछि चिनियाँ सेन्सर प्रक्रियाबाट अन्तिमरूपमा ‘अञ्जिला’, ‘छक्का पञ्जा ५’, ‘तेल भिसा’, ‘महाजात्रा’, ‘कबड्डी ४’ र ‘होस्टेल ३’ गरी छ वटा नेपाली चलचित्र प्रदर्शनका लागि स्वीकृत भएका थिए ।
ती चलचित्रहरू चिनियाँ ‘सबटाइटल’ सहित सम्बन्धित चिनियाँ निकायको स्वीकृतिपछि चाङ्सा र हेङयाङका चलचित्र हलमा प्रदर्शन गरिएको थियो ।
सो महोत्सवमा पुरस्कृत चलचित्रहरूको पुरस्कार वितरण कार्यक्रम भोलि साउन ५ गते मङ्गलबार चलचित्र विकास बोर्ड, काठमाडौँमा हुने अध्यक्ष दाहालले जानकारी दिनुभयो । रासस











