८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित

जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी

जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी
अ+ अ-

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित हनुमाननगरमा रहेको गुठीको जग्गा गुठी संस्थानले निजी संस्थालाई भाडामा दिएपछि स्थानीय बासिन्दा र संस्थानबीच विवाद उत्पन्न भएको छ ।

सरकारले एकातिर अतिक्रमित गुठी जग्गा फिर्ता ल्याउन ९ सदस्यीय समिति गठन गरी अभियान चलाइरहेको बेला, अर्कोतर्फ संस्थानले नै मोटो रकम लिएर जग्गा लिजमा उपलब्ध गराएको भन्दै विरोध शुरु भएको हो । गुठी संस्थानले हनुमाननगरमा रहेको कित्ता नम्बर १ को ५ बिघा १० कठ्ठा १२ धुर जग्गा ‘विदेह ओशो ध्यान केन्द्र’ लाई २० वर्षका लागि लिजमा दिएको पाइएको छ । २०८२ जेठ ७ गतेदेखि लागू हुनेगरी वार्षिक १० लाख १५ हजार रुपैयाँ भाडा बुझाउने शर्तमा धार्मिक क्रियाकलापका लागि सो जग्गा केन्द्रलाई दिइएको हो ।

यसअघि उक्त जग्गा स्थानीय हनुमान मन्दिरले उपभोग गर्दै आएको थियो । मन्दिरले स्थानीय गरिब तथा विपन्न परिवारलाई प्रतिव्यक्ति २ कठ्ठाका दरले खेतीपातीका लागि जग्गा उपलब्ध गराएको थियो, जसबापत उनीहरूले मन्दिरलाई ‘कुत’ (भाडा) बुझाउने गर्दथे । अहिले सोही जग्गा अर्कै संस्थालाई दिएपछि स्थानीय बासिन्दा आफ्नो जीविकोपार्जनको माध्यम खोसिएको भन्दै आन्दोलित भएका छन् ।

स्थानीय कलावती साहले वर्षौँदेखि आफूहरूले जोतभोग गर्दै आएको सहारा खोसिँदा ठूलो समस्या आइलागेको बताउनु भयो । अर्का स्थानीय प्रितम राउत कुर्मीले अतिक्रमित अवस्थामा रहेको जग्गालाई आफूहरूले नै संरक्षण गरी खेतीयोग्य बनाएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले खेती गरेर गुजारा चलाउनुका साथै मन्दिरलाई पनि सहयोग गरिरहेका थियौँ । अब हामीलाई बिचल्लीमा पार्न खोजिएको छ, यसका विरुद्ध हामी आन्दोलन गर्न तयार छौँ ।’

हनुमाननगर हनुमान मन्दिर संरक्षण समितिका महासचिव रोशनकुमार राउतले संस्थानले मन्दिर र स्थानीय कसैलाई पनि जानकारी नदिई जग्गा लिजमा दिएर अन्याय गरेको आरोप लगाउनु भयो । उहाँकाअनुसार मन्दिरको जीर्ण अवस्था सुधार गर्न र दैनिक भोगरागादिका लागि स्थानीयबाट प्राप्त हुने कुत नै मुख्य स्रोत रहेको थियो । सरकारले एकातिर अतिक्रमण हटाउने भन्ने र अर्कोतिर संरक्षण भइरहेको जग्गा अर्कैलाई सुम्पिएर पुनः अतिक्रमणलाई बढावा दिएको उहाँको तर्क छ ।

यता, विदेह ओशो ध्यान केन्द्रले भने आफूहरूले कानूनी प्रक्रिया पूरा गरेरै जग्गा लिजमा लिएको स्पष्ट पारेको छ । केन्द्रका सचिव स्वामी विवेक सागरले विवाद गर्ने आफ्नो उद्देश्य नभएको र नियमसंगत ढंगले नै जग्गा प्राप्त गरेको दाबी गर्नुभयो । उहाँकाअनुसार केन्द्रले उक्त स्थानमा अन्तर्राष्ट्रिय स्तरको योग तथा ध्यान केन्द्र निर्माण गर्ने लक्ष्य राखेको छ । साथै, त्यहाँ मिथिलाका विद्वान–विदुषीका प्रतिमा र विभिन्न देवी–देउताका मन्दिरहरू समेत निर्माण गरी पर्यटकीय तथा धार्मिक स्थलका रूपमा विकास गरिने उहाँको भनाइ छ ।

मन्दिरलाई जग्गा खाली गर्न पत्र आएपछि मात्र आफूहरूले यसबारे जानकारी पाएको स्थानीयको भनाइ छ । हाल सो जग्गालाई लिएर उत्पन्न विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले पहल गरिरहेको छ । –न्युज एजेन्सी नेपाल