१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिबन्धित भारतीय मुद्रासहित विदेशी नागरिक नियन्त्रणमा



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
अ+ अ-

काठमाडौँ । प्रतिबन्धित भारतीय मुद्रासहित प्रहरीले त्रिभुवन अनतराष्ट्रिय विमानस्थलबाट दुई जना थाइ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीया वानविसा जनतासन र ४१ वर्षीया वारापर्न खुनसोमबट रहेका छन् । उनीहरुको साथबाट दुई हजार दरका चार थान र ५०० दरका ५७३ थान गरी जम्मा दुई लाख ९४ हजार ५०० भारतीय रूपैयाँ बरामद गरिएको छ । 

भिस्टारा एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट दिल्ली जान लागेका बेला एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनीहरुको साथमा प्रतिवन्धित भारतीय रूपैयाँ फेला परेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको त्रिभुवन अन्तरराष्ट्रिय सुरक्षा कार्यालयले आज एक सूचना जारी गरी जनाएको छ । 

सुन चाँदीका गरगहना लुटपाट गर्ने पक्राउ

काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट राजकुमार तामाङको सुन र चाँदीका गरगहना लुटपाट गरेको अभियोगमा सोही ठाउँ बस्ने नुवाकोट किस्पाङ गाउँपालिका–३ का १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । 

सुन र चाँदीका गरगहना लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न ती किशोरलाई भाग्दै गरेको अवस्थामा फेला पारेको हो । उनको साथबाट एक तोला सुनको मङ्गलसुत्र, चाँदीको ब्रासलेट र एक थान पोतेको माला बरामद गरिएको छ ।