काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत जारी शुभकामना सन्देशमा उहाँले राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई सरल, सहज र सर्वसुलभ बनाउँदै भाषिक एकता र राष्ट्रिय सांस्कृतिक चेतनालाई सुदृढ बनाउन अतुलनीय योगदान पुर्याएको उल्लेख गर्नुभएको छ।
भण्डारीले भानुभक्तद्वारा नेपालीमा अनूदित रामायण आज पनि नेपाली समाजको सांस्कृतिक तथा नैतिक जीवनको महत्वपूर्ण आधारका रूपमा रहेको बताउँदै नेपालको बहुभाषिक तथा बहुसांस्कृतिक विविधताबीच नेपाली भाषाले सम्पर्क भाषाका रूपमा राष्ट्रिय एकतालाई सुदृढ गर्दै आएको धारणा व्यक्त गर्नुभएको छ।
उहाँले आदिकविको भाषिक तथा साहित्यिक योगदानबाट प्रेरणा लिँदै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन तथा भावी पुस्तामा हस्तान्तरण गर्न सबैलाई आह्वान गर्नुभएको छ। साथै, आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र राष्ट्रिय एकताको कामना गर्नुभएको छ।










