काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र संयुक्त अरब इमिरेट्स (युएई) का वैदेशिक व्यापार मन्त्री डा. थानी बिन अहमद अल जियोडीबीच शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। दुवै देशका मन्त्री तथा उच्च अधिकारी सहभागी बैठकमा द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्य विस्तारका विविध विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा युएईका मन्त्री डा. थानीले नेपालको नयाँ सरकारप्रति विश्वास व्यक्त गर्दै कृषि, उद्योग, सूचना प्रविधिलगायत विभिन्न क्षेत्रमा लगानी गर्न युएई तयार रहेको बताउनुभयो। लगानीमैत्री वातावरण निर्माण गरी सहकार्यका अवसरलाई थप सहज बनाउन उहाँले नेपाली पक्षसँग आग्रह गर्नुभयो।
छलफलका क्रममा युएईले नेपालको कृषि क्षेत्रमा विशेष चासो देखाएको छ। कृषि परियोजनामा लगानीका लागि आवश्यक सहजीकरण गरिदिन युएई पक्षले अनुरोध गरेको छ। साथै, युएईबाट आएको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपालको रेल क्षेत्रमा निजी क्षेत्रमार्फत लगानी गर्न इच्छा व्यक्त गर्दै त्यसका लागि आवश्यक कानुनी तथा नीतिगत सहजता उपलब्ध गराउन आग्रह गरेको छ।
बैठकमा सूचना प्रविधि क्षेत्रको सम्भावनाबारे पनि छलफल भएको थियो। नेपालका लागि युएईका राजदूतसहितको प्रतिनिधिमण्डलले नेपालमा हरित डाटा सेन्टर (Green Data Center) स्थापना गर्ने योजना रहेको जानकारी दिँदै आवश्यक लगानी गर्न आफूहरू तयार रहेको जनाएको छ।
दुवै पक्षबीच नेपालमा उत्पादन हुने फलफूल, तरकारीलगायत कृषि उपज युएई निर्यात गर्ने विषयमा पनि सहमति जुटेको छ। निर्यातलाई सहज बनाउन खाद्य गुणस्तर परीक्षण, प्रमाणीकरण तथा मापदण्ड विकासका क्षेत्रमा युएईले प्राविधिक र लगानी सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
भेटवार्ताका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादवले नेपाल–युएई व्यापार मञ्च (बिजनेस फोरम) लाई थप विस्तार र सुदृढ बनाउन प्रस्ताव राख्नुभएको थियो। युएई पक्षले उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिँदै यसबारे आगामी दिनमा थप ठोस छलफल अघि बढाउने जनाएको छ।
मन्त्री यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडान सञ्चालनका लागि देखाएको सहयोगप्रति युएई सरकारलाई धन्यवाद पनि व्यक्त गर्नुभयो।
उक्त उच्चस्तरीय भेटवार्ताले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न तथा नेपाल–युएईबीचको आर्थिक, व्यापारिक र लगानी साझेदारीलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।











