काठमाडाैँ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले ढुंगा जस्तै मौन भएको भन्दै सरकारको आलोचना गर्नु भएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सरकारले जनप्रतिनिधिहरुको आवाज सुन्नुपर्ने संवैधानिक दायित्व समेत पूरा नगरेको आरोप समेत लगाउनु भयो ।
सांसद रम्तेलले प्रधानमन्त्री बालेन्द्र साहको राष्ट्रघाती अभिव्यक्ति सच्याउनुपर्ने आफूहरुको माग समेत अझै सुनुवाई हुन नसकेको गुनासो समेत गर्नुभयो ।
सांसद रम्तेलले भन्नुभयो,‘नेपालीमा एउटा उखान छ–ढुंगालाई जति पानी खन्याए पनि त्यो गल्दैन । तर लोकतन्त्रमा सरकार ढुंगाजस्तो मौन हुन मिल्दैन । संसदमा उठेका जनप्रतिनिधिका आवाज सुन्नु सरकारको दायित्व र जवाफदिनु सम्वैधानिक जिम्मेवारी हो । यही विषयमा हामीले निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आएका छौँ । तर आजसम्म पनि प्रधानमन्त्रीज्यूको अभिव्यक्तिबारे न त स्पष्टता आएको छ, न संसदले चित्तबुझ्दो जवाफ पाएको छ । गणेश नेपालीको मृत्युले हामी सबै देशबासी आज अत्यन्तै दुःखी छौँ । सम्बन्धित मन्त्रालयले छानविन गरी मृतकका परिवारलाई राहत दिन अनुरोध पनि गर्दछु ।’
सांसद रम्तेलले गणेशी नेपालीको मृत्यको खबरले सिँगो देशलाई स्तब्ध बनाएको उल्लेख गर्दै पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।










