काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) भ्रष्टाचार प्रकरणमा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ।
विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिएको हो ।
बस्नेतसंगै प्राधिकरणका कर्मचारीहरू दिपेश आचार्य, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा, विजयकुमार राय, रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्तकोटी र सन्दीप आचार्यले पनि सफाई पाउनु भएको छ ।
अदालतले तत्कालीन अध्यक्ष दिगम्बर झालाई एक वर्ष, तत्कालीन सदस्यद्वय धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती ६र६ महिनाको कैद सजाय तोकिएको छ। साथै उनीहरू तीन जनालाई जनही ५० हजार जरिबाना पनि तोकिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षहरू दिगम्बर झा, पुरूषोत्तम खनालसहित १६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ १ विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
आयोगले प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनाल, प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका निर्देशक विजयकुमार राय, उपनिर्देशक रेवती राम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्यप्रसाद बस्ताकोटी र उपनिर्देशक अच्युतानन्द मिश्रलाई प्रतिवादी बनाइएको थियो।
यस्तै, प्राधिकरणका निर्देशकहरू सुरेन्द्रलाल हाडा तथा दिपेश आचार्य र उपनिर्देशक सन्दिप अधिकारीलाई पनि प्रतिवादी बनाइएको थियो।











