काठमाडौं । ‘सेरोफ्लो रोटाक्याप्स २५०’ नामक नक्कली औषधि बजारमा फेला परेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बजार अनुगमनलाई तीव्र बनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा सार्वजनिक बिदाको दिनसमेत निरन्तर अनुगमन सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।
औषधि व्यवस्था विभागका अनुसार विभिन्न औषधि पसलमा गरिएको अनुगमनका क्रममा महाराजगञ्ज क्षेत्रमा १५ वटा, वीर अस्पताल तथा चाबहिल आसपास १८ वटा, पाटन तथा जावलाखेल क्षेत्रमा ११ वटा, बसपार्क–बालाजु क्षेत्रमा १४ वटा तथा बनेपामा ८ वटा गरी कुल ६६ वटा औषधि पसलको निरीक्षण गरिएको छ।
अनुगमनका क्रममा बनेपास्थित एक औषधि पसलबाट ‘सेरोफ्लो रोटाक्याप्स २५०’ नामक २१ थान नक्कली औषधि बरामद गरिएको विभागले जनाएको छ। उक्त पसललाई तत्कालका लागि बन्द गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
यसैबीच, नवीकरण नगरी सञ्चालन भएका, म्याद गुज्रिएका औषधि बिक्री गरिरहेका, फार्मासिस्टबिनै औषधि बिक्री–वितरण गरिरहेका तथा सरसफाइ र तोकिएका मापदण्ड पालना नगरेका १५ भन्दा बढी औषधि पसललाई कारबाहीका लागि काठमाडौंको बिजुलीबजारस्थित औषधि व्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
विभागका अनुसार बजार अनुगमन आगामी केही दिनसम्म निरन्तर जारी रहनेछ। यसबाट सेवाग्राहीले गुणस्तरीय र सुरक्षित औषधि सहज रूपमा प्राप्त गर्न सक्ने तथा अवैध औषधिको कारोबार नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नक्कली औषधि बिक्री–वितरण भइरहेको सूचना प्राप्त भएपछि मन्त्री निशा मेहता कडा रूपमा प्रस्तुत भएको मन्त्रालयले जनाएको छ। विभागले नक्कली औषधिको भण्डारण, आपूर्ति तथा अनधिकृत बिक्री–वितरणमा संलग्न व्यक्ति, संस्था र उत्पादकको पहिचान गरी कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाएको पनि जनाएको छ।
विभागले सर्वसाधारणलाई औषधि खरिद गर्दा आधिकारिक रूपमा दर्ता भएका औषधि पसलबाट मात्रै खरिद गर्न तथा कुनै शंका लागेमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन आग्रह गरेको छ।











