८ भाद्र २०८३, सोमबार
,
Latest
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर हो%LS हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष महाधिवेशन पक्षधरले भ्रमको खेती फैलाए : कांग्रेस नेता खड्का



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दा सुरुदेखि नै सुनुवाइ गर्नेगरी सर्वोच्च अदालतले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षलाई अनुमति दिएपछि कांग्रेसभित्रको राजनीति थप तरंगित बनेको छ।

निर्वाचन आयोगले कांग्रेसको नेतृत्व अद्यावधिक गर्ने क्रममा गरेको निर्णय त्रुटिपूर्ण रहेको भन्दै पुनरावलोकनका लागि सर्वोच्चले निस्सा दिएपछि विशेष महाधिवेशन पक्षधर नेताहरूले विभिन्न भ्रम फैलाउन थालेको कांग्रेस नेता दीपक खड्काले आरोप लगाएका छन्।

खड्काका अनुसार गगन थापा, विश्वप्रकाश शर्मालगायत नेताहरूले अदालतलाई प्रभाव र दबाबमा पार्ने उद्देश्यले भ्रामक धारणा सार्वजनिक गरिरहेको आरोपसमेत लगाइएको छ। केन्द्रिय नेतृत्वमा रहेका व्यक्तिहरूबाटै शीर्ष नेताविरुद्ध गालीबेइज्जती र अपमानजनक अभिव्यक्ति दिने प्रवृत्ति बढेको उनको दाबी छ।

आफ्नो पक्षअनुकूल सञ्चारमाध्यम प्रयोग गरी देउवा तथा पूर्वमहामन्त्री डा. शशांक कोइराला पक्षधर नेताहरूविरुद्ध प्रायोजित समाचार प्रकाशन गराउने काम भइरहेको आरोप पनि खड्काले लगाए।

अदालतले मुद्दाको सुरुदेखि नै सुनुवाइ गर्ने अनुमति दिइरहेको अवस्थामा विशेष महाधिवेशनबाट आएको भनिएको नेतृत्वले एकलौटीरूपमा महाधिवेशनको प्रक्रिया अघि बढाउन खोज्नुले पनि न्यायिक प्रक्रियामाथि दबाब सिर्जना गर्न खोजिएको देखिने उनले बताए।

विशेष महाधिवेशनबाट आएको भनिएको समितिले एकतर्फी रूपमा महाधिवेशन घोषणा गरेपछि देउवा पक्ष अदालत पुगेको छ। सोमबार देउवाका तर्फबाट पूर्वमन्त्री दीपक खड्काले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन्।

कानुनी लडाइँका लागि अदालतमा उपस्थित भइरहेका बेला आफूविरुद्ध सुनियोजित रूपमा समाचार प्रकाशन गराएर बदनाम गर्न खोजिएको खड्काको आरोप छ। केही सञ्चारमाध्यमले अदालतमा ‘सेटिङ’ गरेको जस्तो देखिने कपोकल्पित समाचार प्रकाशन गरेर आफ्नो चरित्रहत्या गर्न खोजेको उनले बताए।

खड्काले भने, ‘केही मिडियामा मेराविरुद्ध कपोकल्पित समाचार आएको भन्ने सुनेको छु। यो वास्तवमै पार्टीका झगडिया पक्षधरका तर्फबाट नियोजित षड्यन्त्रका रूपमा गरिएको हुन सक्छ।’

उनले थपे, ‘आफैँ कानुन र अदालतलाई प्रभाव र दबाबमा राख्नका लागि अनेक फन्दा गर्ने अनि अरूलाई चाहिँ अनेक आरोप लगाएर बदनाम गर्ने काम भइरहेको छ। समाचारमा मेरो नाम जोडेर आरोप लगाउने व्यक्तिहरूको संलग्नता हेर्दा यसको पछाडि कसले परिचालन गरेको छ भन्ने पुष्टि हुन्छ।’
खड्काले कांग्रेसमा एकलौटी ढंगले कब्जा जमाएर अरूको अपमान गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। लोकतान्त्रिक पार्टी कांग्रेसमा ‘कब्जाको राजनीति’ कुसंस्कारका रूपमा मौलाउन थालेको भन्दै उनले पार्टीलाई इमानदार, लोकतान्त्रिक र संस्कारयुक्त कार्यकर्ताको पार्टीका रूपमा जनतामाझ स्थापित गर्नुपर्ने बताए।

आधिकारिकता विवाद अदालतसम्म पुग्नुको मुख्य कारण पनि पार्टीभित्र एकलौटी निर्णय गर्ने प्रवृत्ति रहेको उनको दाबी छ। यद्यपि अदालतले गर्ने फैसलालाई सबैले स्वीकार गर्नुपर्ने बताउँदै खड्काले कांग्रेसलाई एकताबद्ध बनाउन संवादको वातावरण आवश्यक रहेकोमा जोड दिए।