९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का

झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन

झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन
फाइल फोटो
अ अ+ अ-

झापा। जिल्लामा पछिल्लो तीन वर्षयता चैते धानको क्षेत्रफल र उत्पादन क्रमशः घट्दै गएको छ । किसानले उचित मूल्य नपाएपछि खेती गर्न छोडेपछि जिल्लामा चैते धानको क्षेत्रफल र उत्पादन क्रमशः घट्दै गएको हो ।

चालु आर्थिक वर्ष २०८२/८३ मा १६ हजार ७५८ हेक्टर क्षेत्रफलमा ८९ हजार ६५५ दशमलव तीन मेट्रिकटन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । यो परिमाण गतवर्षको तुलनामा सात हजार ४७८ दशमलव सात मेट्रिकटन कम हो ।

आर्थिक वर्ष २०८१/८२ मा १९ हजार ९५० हेक्टरमा एक लाख छ हजार १३४ मेट्रिकटन चैते धान उत्पादन भएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा १९ हजार ८५० हेक्टरमा एक लाख चार हजार १४ मेट्रिकटन धान उत्पादन भएको थियो ।

जिल्लामा धानखेतीको क्षेत्रफल र उत्पादन घटे पनि उत्पादकत्व भने बढिरहेको छ । आव २०८०/८१ मा चैते धानको उत्पादकत्व पाँच दशमलव २४ थियो । आव २०८१/८२ मा पाँच दशमलव ३२ पुगेको थियो भने चाल आवमा पाँच दशमलव ३५ पुगेको कार्यालयले कृषि ज्ञान केन्द्रले जनाएको छ ।

विकल्प खोज्दै किसान 

मुलुकलाई चामलमा आत्मनिर्भर बनाउने सरकारी योजनामा मुख्य कडी मानिएको चैते धानको उचित मूल्य नपाएपछि किसानले विकल्प खोज्न थालेका छन् । उत्पादकत्वमा केही सुधार देखिए पनि उचित बजार मूल्य र सरकारी खरिद नीतिको अभावका कारण कृषकहरू चैते धानको विकल्प खोज्न थालेका हुन् ।

उचित मूल्य नपाएपछि अधिकांश किसान धानखेती छाडेर मकै तथा अन्य बालीतर्फ मोडिएका छन् । आव २०८२/८३ मा जिल्लामा ४६ हजार १२५ हेक्टरमा गरिएको मकैखेती गरिएको थियो । जसमा दुई लाख ८३ हजार १८७ दशमलव ८८ मेट्रिकटन उत्पादन भएको थियो ।

गत आव २०८१/८२ मा ४४ हजार ६२० हेक्टरमा तीन लाख ५१ हजार ४२६ दशमलव ४५ मेट्रिकटन मकै उत्पादन भएको थियो । यस पटक वर्षाका कारण मकै उत्पादनमा कमी आए पनि उत्पादकत्व सात दशमलव ८८ बाट वृद्धि भई सात दशमलव ८९ पुगेको केन्द्रका प्रमुख विष्टले जानकारी दिनुभयो ।

धान सुपरजोन कचनकवलकी किसान पुष्पा रिमालले चैते धानको मूल्य नपाउँदा कृषक मकैखेतीतर्फ आकर्षित भएका बताउनुभयो । “धानको मूल्य नै नपाएपछि मकैखेती गरेँ”, उहाँले भन्नुभयो, “मकैको मूल्य राम्रो भए पनि यस वर्ष वर्षाले नोक्सान ग¥यो ।”

लागत नउठ्ने मूल्य

किसानले रु ६०० देखि ६५० प्रतिमन (४० किलो) मा चैते धान बिक्री गरिरहेका कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले जानकारी दिनुभयो । “यो मूल्यले किसानको लागत नै उठ्दैन”, उहाँले भन्नुभयो, “अनि किसानले कसरी खेती गर्ने, हामीले उहाँहरूलाई खेती गर्न दबाब पनि दिन सक्दैनौँ ।”

सरकारले चालु आर्थिक वर्षका लागि चैते धानको मूल्य प्रतिक्विन्टल दुई हजार ८५६ रुपैयाँ ४९ पैसा तोकिएको थियो । जुन गतवर्षको तुलनामा ५५ रुपैयाँ आठ पैसाले बढी हो । गत साउनमा सरकारले चालु आवका लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो । सरकारले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ४६३ र मध्यम धानको रु तीन हजार ६२८ निर्धारण गरेको थियो । चैते धानको न्यूनतम समर्थन मूल्यअनुसार प्रतिमन धानको मूल्य रु एक हजार १४२ दशमलव चार हुन्छ । किसानले रु ६०० देखि रु ६५० पाइरहेका छन् ।

सरकारी नीति कागजमै सीमित

सरकारले चैते धानको क्षेत्रफल विस्तार गर्ने नीति लिए पनि व्यावहारिक रूपमा सरकारी संयन्त्रबाट धान खरिद गर्ने वा समर्थन मूल्य कार्यान्वयन गराउने कुनै स्पष्ट र प्रभावकारी व्यवस्था नरहेको कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले बताउनुभयो । “बजार पूर्णरूपमा निजी व्यवसायीहरूको नियन्त्रणमा रहँदा किसानहरू मारमा परेका छन्”, उहाँले भन्नुभयो, “किसानलाई उत्पादनमा प्रोत्साहन गरेर मात्र हुँदै बजार सुनिश्चित हुनुपर्छ ।”

“वर्षे धानको क्षेत्रफल बढाउने ठाउँ हाम्रो देशमा अब बाँकी छैन, त्यसैले चामलमा आत्मनिर्भर हुनका लागि चैते धानकै क्षेत्रफल र उत्पादन बढाउनुको विकल्प छैन”, उहाँले भन्नुभयो, “यदि सरकारले न्यूनतम समर्थन मूल्यमा किसानको धान आफैँ खरिद गरिदिने वा बजार मूल्य सुरक्षित गर्ने ग्यारेन्टी गर्दैन भने चैते धानको खेती अझै घट्दै जानेछ, जसले मुलुकमा गम्भीर खाद्य सङ्कट निम्त्याउन सक्छ ।”

घाटाको व्यापार गरेर कृषकले सधैं खेती गरिरहन नसक्ने हुँदा सरकारले बेलैमा खरिद रणनीति र यान्त्रीकरणलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । रासस