१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्तसञ्चार केन्द्रमा रगत अभाव



अ+ अ-

बाँके । चाडपर्वका कारण रक्तदान कार्यक्रम नहुँदा नेपालगञ्जस्थित रक्तसञ्चार केन्द्रमा रगत अभाव देखिएको छ । दशैँ अवधिमा रक्त सङ्कलन नभएका कारण रगतको मौज्दातमा कमी आएको नेपाल रेडक्रस सोसाइटीको नेपालगञ्जस्थित क्षेत्रीय रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो ।

सामान्य अवस्थामा तीन सय पिन्टभन्दा माथि नै रगत मौज्दात रहने भए पनि अहिले त्यो भन्दा कमी भएकाले रक्तदातालाई आह्वान गरेको उहाँले जानकारी दिनुभयो । “दुइ दिनयता रक्तदानका कार्यक्रम शुरु भएका छन्, अब मौज्दात बढ्दै गएको छ”, प्रमुख रेग्मीले भन्नुभयो, “रगतको अभाव हुन नदिन रक्तदातालाई अनुरोध गरेअनुसार सङ्कलन हुन थालेको छ ।”

बाँकेमा सञ्चालित अस्पतालमा आउने बिरामीको सङ्ख्या बढेसँगै अहिले दैनिक सरदर ४० देखि ४५ पिन्टसम्मको रगत माग हुने गरेको नेपाल रेडक्रस क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ । दैनिक रुपमा नेपालगञ्जबाट २५ देखि ३० र कोहलपुरबाट १५ देखि २० पिन्ट रगत माग हुने गरेको केन्द्रका प्रमुख रेग्मीले जानकारी दिनुभयो । साबिकको मध्य तथा सुदूरपश्चिमका जिल्लाबाट उपचारका लागि यहाँ बिरामी आउने गर्दछन् ।

सबभन्दा धेरै भेरी अञ्चल अस्पताल, शिक्षण अस्पताल नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुरमा रगतको खपत हुने गरेको उहाँले बताउनुभयो । नेपालगञ्जमा ठूला–साना गरी करीब २४ अस्पताल सञ्चालनमा छन् । रक्त सञ्चार केन्द्रमा जम्मा भएको रगत ३५ दिनभित्रै प्रयोग गरिसक्नुपर्ने भएकाले धेरै सङ्कलन गर्नुभन्दा पनि नियमित गर्नेतर्फ आफूहरुको ध्यान हुने गरेको प्रमुख रेग्मीको भनाइ छ ।