१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’

“विकेन भनेर हार खायो भने त सिर्जना मर्यो नि”

“विकेन भनेर हार खायो भने त सिर्जना मर्यो नि”
अ अ+ अ-

काठमाडौं । नेपालको अतुलनीय प्राकृतिक र भौगोलिक सुन्दरतालाई रङले सजाउन चित्रकार अरुणा हिङ्माङलाई यतिबेला भ्याइनभ्याइ छ । सन् २०१५ मा भारतको चर्चित डा अम्बेडकर कलाश्री पुरस्कार पाउने नेपाली कला क्षेत्रको पहिलोे कलाकार अरुणा यतीखेर कुचीले ल्याण्डस्केपमा थरीथरी रङ भर्दै हुनुहुन्छ ।

नजिकिँदो नेपाल भ्रमण वर्ष २०२० ले उहाँलाई व्यस्तता बनाएको छ । चित्रकलामार्फत प्रचारप्रसार गर्ने उहाँले एकल प्रयास गरिरहनुभएको छ । “कला भनेको देशको मौलिकता र वास्तविकता हो, हामीले सिर्जनामार्फत मुलुकलाई प्रवद्र्धन गर्न सक्छौँ, विश्वमा प्रचारप्रसार गर्न पनि कला उपयुक्त माध्यम हो, यसपटक भ्रमण वर्षलाई ध्यानमा राखेर भारतमा कला प्रदर्शनीको तयारी गरिरहेकी छु”, अरुणाले भन्नुभयो । आगामी पुसमा हुने एकल कला प्रदर्शनीका लागि ठूलो मेहनत गर्दै हुनुहुन्छ ।

शेफोक्सुन्डो ताल जाने बाटाको हिमनदी र प्राकृतिक सुन्दरताले भरिपूर्ण हिमाली दृष्यलाई ल्याण्डस्केपमा उतार्दै गर्दाको अर्धदृष्य निकै रमणीय देखिन्थ्यो । तरेली परेर बग्दै गरेको हिमनदीलाई केन्द्रमा राखेर रङ भर्न औधी मन पराउने अरुणा पानीका विविध रुपसँग खेल्न मन पराउनुहुन्छ ।

बिक्री भएका र अरुले मन पराउने उहाँका चित्रमा धेरै यस्तै प्राकृतिक सुन्दरता र पानीको सङ्गम रहेका थिए । मुलुककै आकर्षक पर्यटकीय क्षेत्रका विविध चित्र कुनै बनिसकेका र कुनै बन्दै गरेका सङ्कलनसँग खेल्दै हुनुहुन्थ्यो अरुणा । उहाँको हिमाल, पर्यटकीय क्षेत्र र दृष्य चित्र तथा विभिन्न मौलिक सांस्कृतिका चित्र यसपटकको प्रदर्शनीमा राख्ने तयारी छ ।

तीस वर्षदेखि कला सिर्जनामा तल्लिन दुई सन्तानकी आमा अरुणा समसामयिक चित्रकलामा रुचि राख्नुहुन्छ । त्यसमाथि महिलाका पिडा, महिलामाथि भएका हिंसाको उजागर गर्ने उहाँका चित्रहरुले नेपाली समाजको वास्तविकता झल्काउछ । यस्तै यस्तै चित्र समेटेर नेपालसहित सिङ्गापुर, भारत, मलेसिया, अफगानिस्तानमा एकल कला प्रदर्शनी गरिसक्नुभएको छ ।

कलाको अनुभवले खारिएकी सिर्जनात्मक महिला समूह नेपालकी अध्यक्ष तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी पूर्वप्राज्ञ अरुणा कला शिक्षक पनि हुनुहुन्छ । नयाँ कलाकार भौंतारिएर हिँडिरहेको बेला अवसर दिन उहाँले संस्था स्थापना गरी कलाको विकासमा लाग्नुभएको थियो । संस्था अहिले पनि क्रियाशील छ ।

स्वअध्ययन र सिर्जना आर्ट ग्यालरीले उहाँलाई यहाँसम्म पुर्यायो । हुन त उहाँको पढाइ ललितकलामा थिएन । मेडिकल क्षेत्र हो । सिएमए पढेर हेल्थ असिष्टेन्टमा छात्रवृत्ति पाउनुभएको थियो । तर मेडिकल क्षेत्र छाडेर उहाँले कला सिर्जना रोज्नुभयो । कारण आफ्नो रुचि नै हो भन्नुहुन्छ अरुणा । “मेरो गुरु प्रकृति हो, प्रकृतिसँग रमाउन र चित्र बनाउन मन पर्छ” अरुणाले थप्नुभयो ।

विवाहअघि चित्रकलामा ठूलो व्यावसायिकता थिएन । महिला हिंसाविरुद्ध कला सिर्जनामा पोख्त समसामयिकसँगै महिलाको विम्ब भएको अमूर्तकला कोर्ने अरुणाले विवाहपछि व्यावसायिकता हासिल गर्नुभयो । समाज जति शिक्षित हुँदै आएपनि महिलामा पिडा यथावत छ भन्नुहुन्छ उहाँ । दैनिक समाचारमा हिंसाका घटना आइरहेका छन् । त्यसले पनि कला कोर्न उहाँलाई प्रेरित गर्छ ।

ललितपुरको लेलेमा एक सुस्त मनस्थितिको महिलामाथि भएको हिंसा देखेर मन रोयो । उहाँले त्यसैलाई बिम्ब बनाएर एउटा चित्र कोर्नुभएको थियो । एक जर्मनी नागरिकले घर पत्ता लगाएर चित्र किनेर लगेको उहाँ सुनाउनुहुन्छ । उहाँका त्यस्ता चित्र महिलाका विषयमा काम गर्ने विदेशी सङ्घसंस्थाले विशेष पुस्तक निकाल्नसमेत प्रयोग गरेका छन् ।

पहिले ‘अनङ्कुरित आशा’ शीर्षकमा इन्स्टलेशन आर्टमार्फत जनयुद्धको मैदानमा महिलाले भोग्नुपरेको पिडालाई चित्रण गर्नुभएको थियो । त्यो कला प्रदर्शनीको देशभर निकै चर्चा भयो ।

कलामा पनि महिलासामू चुनौती छ

एक त चित्रकारिता, त्यसमाथि महिलाको घर गृहस्थी । घर, श्रीमान् र बालबच्चा हेर्दा चित्र छुट्ने । अनि चित्र बनाउन थाल्यो घरबार छुट्ने । अझ व्यावसायिक भैनसकेको नेपाली कला जगतमा चित्रकला कै माध्यमबाट कमाउन नसक्दा अर्को तनाव महिलाले खेप्नुपर्छ ।

महिला भएकैले आफ्नो व्यावहारिकताका अनुभव र देखेका कुरा समेटेर भावना व्यक्त गर्नुहुन्छ । कमाइ नहुने समयमा पनि सामग्री किनेर निरन्तर काम गर्नु चित्रकला क्षेत्रको सबैभन्दा ठूलो विपद्को समय रहेको उहाँको अनुभव छ । “घर सम्हाल्नदेखि काम गर्ने र चित्र बनाउनुपर्छ, परिवारले साथ दियो भने सम्भव छ नत्र गाह्रो छ ।” उहाँले भन्नुभयो ।

महिलाले काम गर्न सक्दैनन्, उनीहरु कमजोर हुन्छन् भन्ने सोचाइ अझै समाजमा गढेको उहाँ बताउनुहुन्छ । कलाबाट बाँच्न सकिन्छ भन्ने कुरा अझै सोचनीय अवस्थामा छ । ‘‘पहिलेभन्दा सरल भएको छ, अझै धेरै गर्नुपर्ने छ’’, भन्नुहुन्छ अरुणा ।

मेहनत गरे सम्भव छ

नेपाली कला सङ्घर्षको चरणमै रहेकाले कलाकारको अझै भविश्य अन्यौलमा भए पनि मेहनत गरे सफल हुन सकिने उहाँले बताउनुभयो । भन्नुहुन्छ, “कलाकारले मेहनत पनि गर्नुपर्छ, अनि धैर्य पनि बिक्री गर्ने भनेर बनाउने होइन, विकेन भनेर हार खायो भने सिर्जना मर्यो नी ।”

कतिपय साथीहरुले एकपटक कला प्रदर्शनी गरेर छाडेको अनुभव सुनाउँदै उहाँले कला साधना गर्न छाड्न नहुने तर्क गर्नुहुन्छ । नेपालमा किन्ने क्रमपनि न्यून रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “राज्यले कला सिर्जना खरीदका लागि बजेट छ्ट्याएकै हुँदैन, किन्न चाहनेले पनि कतैबाट बजेट मिलाएर दिनुपर्ने अवस्था छ, अनि कसरी कलाको व्यवसायीकरण हुन्छ ।” राज्यबाट महत्व नै नदिएको उहाँले गुनासो गर्नुभयो ।

विदेशमा पेन्टिङ राखेर ऋण लिन मिल्ने व्यवस्था रहेको प्रसङ्ग जोड्दै उहाँले नेपालमा पनि व्यवसायीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो । विदेशमा निश्चित ठाउँमा कला लगेपछि त्यहाँ जसको पनि विक्ने सम्भावना हुन्छ । नेपालमा त्यो अवस्था छैन । अनुत्पादक र एसएलसीमा सि ग्रेड आउनेले पढ्ने र काम गर्ने विषय भनेर कलालाई राज्यले नै हेपेको उहाँले दुखेसो गर्नुभयो । कला क्षेत्रलाई समेत राजनीतिले गाँजेको भन्दै उहाँले आफू प्राज्ञ हुँदा आधा समय विवादमै बितेको अनुभव सुनाउनुहुन्छ ।

कलामार्फत समाजमा योगदान गरेको भन्दै उहाँलाई हालै भारतमा भएको एक कार्यक्रमा अन्तर्राष्ट्रिय युथ अवार्ड प्राप्त भएको छ । यसअघि भारतको चर्चित डा अम्वेडकर कलाश्री पुरस्कार, सिम्पल सम्मान, युवा प्रतिभा सम्मान, पोटे«ट सोसाइटी अमेरिकाको अवार्डसमेत प्राप्त गर्नुभएको छ ।

अरुणा जस्ता महिला कलाकारहरु झण्डै २५ प्रतिशत रहेको अनुमान गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार (केके) कर्माचार्य नियमित कला साधना गर्नेहरु निक्कै कम रहेको प्रतिक्रिया दिनुहुन्छ ।