१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड

यसरी हराउँदै गयो तिहारको मौलिकता

यसरी हराउँदै गयो तिहारको मौलिकता
अ अ+ अ-

गलेश्वर । चारैतिर शरद् ऋतुको उल्लासमय वातावरण छ । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैं सिङ्गारिदिएका छन् । बिजुली बत्तीको झिलिमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ तर, प्रकृतिसँंग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ । युवा पुस्ता आयातित संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक विरासतका मौलिक चाडपर्वहरुले आफ्नो मौलिकता गुमाउँदै गएका संस्कृतिविद्हरु बताउँछन् ।

नेपालीहरुका लागि दशैं पछिको दोस्रो ठूलो चाड तिहार पशुपक्षी, प्रकृति र पुरुष (भाइ) पूजा गरिने एकमात्र चाड हो । दशैंमा बली दिने प्रचलनले कहीँ कतै कसैलाई नरमाइलो लाग्छ भने तिहारमा सबै उमेर, वर्ग र सम्प्रदायका मानिसहरु रमाउने गर्दछन् । हिन्दू संस्कृतिका अध्येता पं भीमनाथ पराजुलीका अनुसार तिहार प्रकृति, पुरुष र ऐश्वर्य (लक्ष्मी)लाई खुशी बनाउने रोमाञ्चक चाड हो तर, पछिल्लो समय यो चाडमा पनि निकै विकृतिहरु भित्रिएकाले यसको सांस्कृतिक पहिचान नै ओझेलमा पर्दै जान थालेको छ । आधुनिकतासँगै तिहार पर्वमा पनि अनेक खालका विकृतिहरु देखिन थालेको पं पराजुलीले बताउनुभयो । “अरु बेला वास्ता नगरिने पशुपक्षीलाई पनि तिहारमा पूजा गरिन्छ,” पं पराजुलीले भन्नुभयो – “यसले सबै प्राणीबीच सम–दृष्टिकोण राख्नुपर्दछ भन्ने सन्देश दिन्छ । काग, कुकुर, गाई, गोरु, लक्ष्मी र भाइ (दाजुभाइ) लाई तिहारमा पूजा गरेर सुख, शान्ति र ऐश्वर्यको कामना गरिने यो पर्व अहिले केवल औपचारिकतामा सीमित भएको छ ।”


माटाको दियो र अमिलाको पातमा बाति (बत्ती) बालेर जिम फाल्ने चलन अहिले हराएको छ । घरको मूलढोका, सहायक ढोका, आँगनको डिल, तुलसीको मठ, धनसार, गोठ, जुठेल्नो जतातलै बत्ती बालेर जिम फाल्ने चलन थियो तर, अहिले भने जतातलै बिजुली बत्ती बालेर उज्यालो बनाइने गरिन्छ । बेनी नगरपालिका–२ बगरफाँटका ८३ वर्षीय वेदप्रसाद शर्मा भन्नुहुन्छ – “यसबाट मनोरञ्जन त प्राप्त हुन्छ तर, जिम फाल्ने विधान र तिहारको मौलिकता हुँदैन ।” माटाको दियो, अमिलाको पात र मैनबत्ती हुँदै अहिले बिजुलीको झिलिमिली बत्तीमा मनाइने तिहारको मौलिकता अब कुनै चिजमा पनि बाँकी नरहेको बूढापाकाहरु बताउँछन् । अचेल माटोको पाला पूजाकोठामा सीमित भएको छ । माटोको दियोपछि मैनबत्ती र मैनबत्तीलाई उछिन्दै बिजुली बत्तीमा अहिलेको तिहार भुलेको छ ।

यमराजलाई बाटो छेक्न विशाल नदीको प्रतीकका रुपमा घरको मूल ढोकामा हालिने तेलको धारले प्रतीकात्मक अर्थ दिन्थ्यो । दाजुभाइलाई यमराजबाट सुरक्षित राख्न दिदीबहिनीले मूल ढोकामा तेलको धार हालेर बाटो छेक्ने प्रचलन पछिल्लो समय हराउँदै गएको शर्माले बताउनुभयो ।
“ओखर फोरिन्थ्यो, तेलको धार हालिन्थ्यो, देउसी भैलो खेलिन्थ्यो, साथीभाइहरु एकै ठाउँमा भएर जुवातास खेली रमाइलो गरिन्थ्यो,” शर्माले भन्नुभयो – “अब ती सबै कुराहरु हराइसके । तिहार केवल औपचारिकतामा सीमित हुन थालिसकेको छ ।”

भाइमसला बनाउन बिर्से दिदीबहिनी
‘सूचना र प्रविधिले विश्वलाई नै साङ्घुरो बनाइदिए पनि अपनत्व र सौहार्दतालाई भने निकै टाढा पुर्याइदिएको छ । मोबाइल र इन्टरनेटको बढ्दो प्रभाव र प्रयोगका कारण मानिसहरु यति व्यस्त भएका छन् कि उनीहरुलाई आफ्नो नजीकैको मान्छेले के गर्दै छ र के भन्दै छ भन्ने कुराको समेत पत्तो हुँदैन । युवा पुस्ताका दिदीबहिनीहरु पनि सूचना प्रविधिको यो प्रभावबाट मुक्त हुने कुरै भएन । सूचना प्रविधि र सामाजिक सञ्जालको प्रभावका कारण दिदीबहिनीहरु पनि बेफुर्सदिला हुने गरेका छन् भने झण्झटिला कामहरुप्रति उनीहरुको रुचि घट्दै गएको छ । फूल खोज्ने, माला गाँस्ने, भाइमसला बनाउने, खानाका परिकारहरु तयार गर्ने र समग्रमा तिहारको रौनक बढाउने प्रमुख भूमिका दिदीबहिनीको नै हुने गर्छ तर, उनीहरु पनि बेफुर्सदिला बनिदिँदा तिहारको मौलिकतामा पनि असर गरेको छ भन्नुहुन्छ अर्मनका खडानन्द सापकोटा ।

सापकोटाका अनुसार अहिले बजारमा प्याक गरेर राखिएका भाइमसलामै दिदीबहिनीहरुले काम चलाउने गरेका छन् । सापकोटाको भनाइसँग सहमत हुनुहुन्छ अर्मनकै रसिला जैसी पनि । “पहिला पहिला दिदीबहिनीहरु भेला भएर तिहार शुरु हुनेबित्तिकै भाइमसलाको खोजी गथ्र्यौं, ओखरदेखि लिएर सम्पूर्ण सामग्रीहरुको जोहो गरेर भाइमसला बनाउँथ्यौं,” ६३ वर्षीया जैसीले भन्नुभयो – “अहिले त कसैलाई कामले फुर्सद छैन, कसैलाई मोबाइलले ।”

देउसी पैसा असुल्ने माध्यम
तिहारको आकर्षणमध्येको एक मानिएको देउसी भैलो हिजोआज आशीष दिने, मनोरञ्जन लिने र साथीभाइहरुसँग रमाउने माध्यम नभै पैसा असुल्ने माध्यम बन्दैगएको आरोप लाग्न थालेको छ । केही सामाजिक सङ्घसंस्था र व्यक्तिहरुले मेमोरीमा रेकर्ड गरिएका गीतहरुको सहयोग लिई बेतालको नृत्य देखाउँदै देउसी भैलोलाई पैसा असुल्ने माध्यम बनाइरहेका स्थानीय व्यापारीहरुले बताएका छन् । हुन पनि हिजोआज गाइने देउसी भैलो र देखाइने नृत्यमा कुनै पनि मोलिकता देखिँदैन । अधिकाँश भैली समूहहरुले हिन्दी र नेपाली चलचित्रका गीत एवं एल्बममा राखिएका देउसी भैलो गीतहरुमा नाच्ने गरेका छन् । न उनीहरुले मादल बोकेका हुन्छन् न मुरली र खैजडी नै । ठूल्ठुला साउन्ड बक्सहरुमा गीतहरु घन्काउदै हल्ला गर्दै देउसी भैलो समूहहरु हिँडेका देखिएका छन् ।
देउसी भैलोहरुले ठूलो स्वरमा बज्ने साउन्ड बक्समा गीत घन्काउँदा मनोरञ्जनभन्दा बढी हल्ला मात्रै हुने गरेको छ । ठूल्ठूलो स्वरमा गीत बजाउँदै चिच्याउँदै देउसी भैलो खेल्नेहरु हिँडेको देख्दा आफूहरुलाई रमाइलोभन्दा बढी डर लाग्ने गरेको स्थानीय वृद्धवृद्धाहरु बताउँछन् ।
बेनीका वयोवृद्ध नैनकुमार श्रेष्ठ भन्नुहुन्छ – “पहिलेका भैलीहरु आउँदा स्थानीय लोकबाजाहरु र गीतहरु देख्न सुन्न पाइन्थ्यो तर, आजभोलि आयातित गीतहरु सुन्न पर्दा वाक्क लाग्छ । पहिले आफैं भट्याएर देउसी खेल्दा छुट्टै मजा आउँथ्यो अनि हेर्नेलाई पनि रमाइलो लाग्थ्यो ।आजभोलिका भैली खेल्नेहरु उफ्रिने र कराउने मात्र गर्छन् ।,” केही वर्षपछि लोकबाजा र भैलीकै मौलिकता हराउन सक्ने चिन्ता उहाँ व्यक्त गर्नुहुन्छ । बेनीका जेष्ठ नागरिक डम्मरबहादुर कार्कीका अनुसार पहिला पहिला देउसी भैलो खेल्दा सबैले लोकगीत आफैले गाउने, मुरली, मादल, खैजडी, झ्याली, टयाम्कोलगायतका मौलिक बाजाहरु बजाउने गर्थे । “अब ती सबै कुरा एकादेशका कथा भए,” उहाँले भन्नुभयो ।