२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको बताउनुभएको छ ।

भारत भ्रमण सम्पन्न गरी शुक्रवार स्वदेश फर्कने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले भारत भ्रमणका क्रममा दुवै नेतालाई नेपाल भ्रमणको निम्तो दिएको बताउनुभएको हो । सभापति लामिछानेले भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष दुवै नेपाल भ्रमणका लागि सकारात्मक रहेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक दलहरूबीच एक–अर्काको देशमा भ्रमण र निमन्त्रणा आदानप्रदान गर्ने कार्य निरन्तर चलिरहने प्रक्रिया भएको समेत स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘त्यहाँका समस्या त भारतमा रहेका नेपाली दाजुभाइ–दिदीबहिनीहरूको आम समस्या नै हुन् । त्यसकारण हामीले तत्कालै, आजकै दिनमा, ती सबै समस्यालाई सम्बोधन गर्न सक्ने क्षमता अभिवृद्धि गरिसकेका छैनौँ, किनभने भर्खरै मात्र सरकार गठन भएको छ । त्यसका लागि त्यहाँ रहेको दुतावास र सम्बन्धित संयन्त्रलाई अझ बढी चुस्त बनाउने तथा नागरिकका गुनासाहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सक्ने बनाउने प्रयास गरिएको छ ।

त्यहाँ आवश्यक पर्ने चाहे स्वास्थ्यसँग सम्बन्धित विषयहरू हुन्, चाहे कागजपत्रसँग सम्बन्धित विषयहरू हुन्, वा अन्य कुनै विषयहरू; एउटा मानिस लामो समयसम्म बसोबास गर्ने ठाउँमा विभिन्न प्रकारका समस्याहरू आउन सक्छन् । जनजीवनमा आइपर्ने जुनसुकै समस्याहरू छन्, तिनको समाधान गर्ने संयन्त्रलाई अझ चुस्त बनाउन सकिने कार्यहरू गरिँदै आएका छन् । समस्या त उही हुन्, विदेशमा हुने समस्याहरू प्रायः उस्तै–उस्तै नै हुन्छन् । तर तिनलाई सम्बोधन गर्ने र समाधान गर्ने संयन्त्र चुस्त भयो भने समस्यालाई न्युनिकरण गर्न सकिन्छ । त्यसैतर्फ नै मैले इंगित गरेको छु ।’

भारतमा रहेका नेपाली नागरिकहरूले भोग्दै आएका समस्याका विषयमा सोधिएको प्रश्नमा लामिछानेले त्यहाँस्थित नेपाली दुतावास र सम्बन्धित संयन्त्रलाई थप चुस्त बनाउनुपर्नेमा जोड दिनुभयो । भारतमा रहेका नेपालीहरूका स्वास्थ्योपचार, कागजी प्रक्रिया र दैनिक जनजीवनसँग जोडिएका विविध समस्याहरूलाई सम्बोधन गर्न सरकारी संयन्त्रको क्षमता अभिवृद्धि गर्नु आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘मैले यही भ्रमणका क्रममा भारतीय जनता पार्टीका अध्यक्षज्यूलाई र प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई पनि निमन्त्रणा गरेको छु ।उहाँहरूलाई नेपाल आउनका लागि निमन्त्रणा गरेको छु । आवश्यकताअनुसार विभिन्न राष्ट्रका राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गर्ने क्रम निरन्तर चलिरहन्छ । तपाईंले भनेजस्तै ‘कहिले बोलाउनुहुन्छ ?’ भन्ने प्रश्नमा, मैले पनि आवश्यकता पर्दा उहाँहरूलाई निमन्त्रणा गरिसकेको छु । दुवैजना अत्यन्त सकारात्मक हुनुहुन्छ । प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ र भाजपा अध्यक्ष पनि सकारात्मक हुनुहुन्छ । अब हेरौँ, समय कहिले जुराउँछ । दुवैतर्फको समय मिल्यो भने भ्रमण हुन्छ ।’

सभापति लामिछानेले प्रवासमा रहेका नेपालीका समस्याहरू लगभग उस्तै प्रकृतिका हुने भएपनि ती समस्या समाधान गर्ने संयन्त्र सक्रिय र चुस्त भएमा त्यसलाई उल्लेख्य रूपमा कम गर्न सकिने धारणा व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल