१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार

कलङ्की डिजिटल मालपोत: प्रविधिको प्रयोग न्युन

कलङ्की डिजिटल मालपोत: प्रविधिको प्रयोग न्युन
अ अ+ अ-

काठमाडौँ । कलङ्की मालपोत देशको पहिलो डिजिटल मालपोत कार्यालय हो । गएको असारमा प्रधानमन्त्रीले नमुना मालपोत कार्यालयका रूपमा यसको उद्घाटन गरेका थिए । कागजको न्यूनतम प्रयोग गरी सेवा दिनु नमुना मालपोतको अवधारणा हो । यस अवधारणाबाट कार्यालयको सेवामा केही सकारात्मक परिवर्तन देखिएका छन् भने अझै धेरै कमजोरी बाँकी छन् ।

एकद्वार सेवाले सजिलो: डिजिटलाइज्ड मालपोतको अवधारणा आएसँगै सेवाग्राहीले एउटै ठाउँबाट सम्पूर्ण सेवा लिन सक्ने भएका छन् । कलङ्की मालपोत कार्यालयको भौतिक संरचनाको डिजाइन पृथक् देख्न सकिन्छ । भौगोलिक क्षेत्रअनुसार फाँटहरूको व्यवस्था गरिएको छ । “त्यसैभित्र सम्पूर्ण प्रणाली व्यवस्थित गरिएको छ । एक ठाउँबाट प्रवेश भएको फाइलको सम्पूर्ण काम त्यही ठाउँमा पूरा हुन्छ,” अधिकृत कमल कार्कीले भने ।

नमुना मालपोतको अवधारणा आएपछि ल्याइएको एकद्वार सेवालाई सेवाग्राहीले पनि मन पराएका छन् । “पहिले जस्तो सानो रुजुका लागि अर्कोअर्को कोठा र कर्मचारी खोज्दै हिँड्नुपर्दैन,” एक आफन्तको जग्गाको काम लिएर मालपोत कार्यालय आएका कमल सुवेदीले भने । एउटै फाँटबाट सम्पूर्ण सेवा पाउने भएपछि तुलनात्मक रूपमा कम समयमा काम हुने गरेको सेवाग्राहीको प्रतिक्रिया थियो । सचेत सेवाग्राहीले भने एक्लै आएर सेवा लिन पनि कुनै समस्या नहुने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका कर्मचारी टोलप्रसाद लामिछानेको अनुभव छ ।

सेवाग्राही आफैँ सचेत हुनुपर्ने बताउँदै उनले भने, “हामी नागरिक बडापत्र पढेर सेवाबारे जानकारी लिएर आउँछौँ । त्योअनुसार नभए सम्बन्धित निकायमा गुनासो गरिहाल्छौँ । त्यसो भएमा बिचौलियाबाट काम लिनुपर्ने वा ढिलासुस्ती हुने सम्भावना कम हुन्छ ।”

छैन टोकन प्रणाली: सेवाग्राहीको पङ्क्ति प्रणाली व्यवस्थापनका लागि टोकन मेसिन र डिस्प्ले बोर्डहरू छन् तर ती कुनै पनि फाँटका बोर्डहरू सुचारु देखिएनन् । टोकनको व्यवस्था नहुँदा सेवाग्राहीको भीड फाँट अगाडि झुम्मिएका देखिन्थे । एउटाको काम गर्दै गरेका कर्मचारीतर्फ अर्कोले कागज घुसाइरहेका दृश्य नौलो थिएन । अर्कोतिर हरेक फाँटअघि सेवाग्राहीलाई बस्नका लागि आरामदायी कुर्सीको व्यवस्था गरिएका छन् । आफ्नो पालो नआएसम्म ती कुर्सीमा बस्ने धैर्य सेवाग्राहीले पनि गरेको देखिएन ।

टोकन प्रणाली नभएका कारण पालो आएको थाहा नहुने भएकाले कर्मचारीका अघिल्तिर झुम्मिएको उनीहरूको भनाइ थियो । मालपोत अधिकृत कार्कीले भने छिट्टै टोकन प्रणाली सुचारु हुने बताए । दशैँ–तिहारको बीचमा ती मेसिनमा समस्या आएको उनको भनाइ छ । “टोकन नभए पनि कर्मचारीले बोलाएको सुन्न सकिन्छ तर सेवाग्राहीहरू कुर्सी खाली बनाएर काउन्टर अगाडि नै झुम्मिन्छन्,” उनले भने ।

ढड्डाको चाङ: मालपोत कार्यालय पुग्दा प्रविधि प्रयोगको आभास पाउन मुस्किल हुन्छ । प्रविधि प्रयोगमा पूर्ण प्रभावकारिता अझै भएको देखिँदैन । यहाँ न सेवाग्राही डिजिटल प्रविधिमा अभ्यस्त छन् न त सेवा प्रदायक नै प्रविधिमा विश्वस्त हुन सकेका छन् । कर्मचारीका अगाडि कागजातका ढड्डाका चाङ देख्दा डिजिटल मालपोतमा आएजस्तो कतै पनि लाग्दैन । सेवाग्राही पनि कागजात लिएर यताउता गरिरहेको दृश्यहरू सामान्य जस्तै छन् । प्रविधिका लागि नमुना कार्यालयमा जाँदा सम्पूर्ण काम कम्प्युटरमा भएको हेर्ने सेवाग्राहीको अपेक्षा हुन्छ तर यहाँ कम्प्युटरले कागजको प्रयोगलाई कम गरेजस्तो देखिँदैन ।

हरेक फाँटका कर्मचारी कम्प्युटर पनि चलाउँछन् र सहयोगी कागजातहरू भने कागजमै मगाइन्छ । पुराना कागजातहरू डिजिटलाइज्ड नहुुनु ढड्डा प्रयोगको मुख्य कारण रहेको अधिकृत कार्की बताउछन् । त्यस्तै सर्भरमा भएका तथ्याङ्कहरू सधैँ बसिराख्छन् भन्नेमा मालपोत कार्यालय विश्वस्त हुन सकेको छैन । “जग्गा सम्पत्तिजस्तो विषयका तथ्याङ्कहरू धेरै पछिसम्मलाई चाहिन्छ, कुनै बेला उडी पो हाल्छ कि भन्ने डर पनि छ,” अधिकृत कार्की भन्छन् ।

अझै दुईवटा हाजिरी:कार्यालयको ढोकाबाट भित्र प्रवेश गर्नेबित्तिकै पहिलो तलामा कर्मचारीको डिजिटल हाजिरी मेसिन राखिएका छन् । भित्तामा झुन्ड्याइएका दुई हाजिरी मेसिन चालू देखिन्छन् । ठीक त्यसकै छेउमा एक कोठाको टेबलमा २०७६ को हाजिरीको ढड्डा पनि देख्न पाइन्छ । यसबाट प्रविधिप्रति अझै सार्वजनिक संयन्त्रहरू विश्वस्त हुन नसकेको उदाहरण हो ।

बिचौलियाको बिगबिगी: मालपोतको ढोकामा पस्ने बेलादेखि नै बिचौलियासँग ठोक्किन पुगिन्छ । लेखापढी व्यवसायी, ‘काम मिलाउने’ हरूदेखि जग्गा दलालसँग समेत पाइला–पाइलामा जम्काभेट भइरहन्छ । कलङ्की मालपोतमा सेवा लिन आएका एक सेवाग्राही कमल सुवेदीले भने, “सेवाग्राहीभन्दा यहाँ बिचौलिया धेरै हुँदा रहेछन् ।” बिहीबार गोरखापत्र समाचारदाता पुग्दा कार्यालय खुल्नुभन्दा पहिले नै जग्गा मिलाइलिने बिचौलियासँग भेट भयो ।

भनेजस्तो ठाउँमा जग्गा मिलाइदिनेदेखि छिटो काम गराइदिन्छु भन्नेसम्मका मानिससँग घरिघरि भेट भइरह्यो । बिचौलियाबिना काम गर्नै मुस्किल रहेको कतिपय बताउँदै थिए । जान्नेसुन्ने सेवाग्राहीको समेत शुल्क तिरेर लेखापढी व्यवसायीको सहयोगबिना काम गर्न नसकिने गुनासो प्रशस्तै सुनियो । अनुमतिप्राप्त लेखापढी व्यवसायीको शुल्कमा पनि एकरूपता देखिँदैन । एक हजार रुपियाँदेखि पाँच हजार रुपियाँसम्म शुल्क तिरेको सेवाग्राहीहरूले बताए ।

अप्ठेरो स्तनपान कक्ष: शिशुसहित आउने सेवाग्राही र कर्मचारीका लागि मालपोतको भवनमै एक स्तनपान कक्ष स्थापना गरिएको छ । यस कार्यालयमा स्तनपान गराउने कर्मचारी नभए पनि सेवाग्राहीले भने सेवा लिने गरेका छन् । एक कार्यालय सहयोगीका अनुसार दैनिक दुई/तीन जना सेवाग्राहीले स्तनपान कक्षमा आएर शिशुलाई स्तनपान गराउने गरेका छन् तर कति सेवाग्राहीले त्यहाँ स्तनपान कक्ष छ भन्ने नै थाहा पाउँदैनन् किनकी कक्ष पाँचतले भवनको तेस्रो तलामा राखिएको छ । अधिकृत कार्कीका अनुसार तल्लो तलामा ठाउँ अभावका कारण माथिल्लो तलामा स्तनपान कक्ष राख्नुपरेको बताए ।

तल्लो तलामा ठाउँ बनाएर सार्ने प्रयास गरिरहेको उनको भनाइ छ । नमुना मालपोत कार्यालयले आफ्नो भौतिक संरचनालाई अपाङ्गमैत्री बनाउने प्रयास गरेको देखिन्छ । अपाङ्गमैत्री शौचालयहरू बनाइएका छन् तर कार्यालयको तल्लो तलाभन्दा माथिको तलाहरूमा भने अपाङ्गता भएका व्यक्तिको पहुँच सहज छैन । माथिल्ला तलाका शौचालयहरू पनि अपाङ्गमैत्री छैनन् । माथिल्लो तला जान ह्विलचेयर र्याम्प बनाइएको छैन भने भएका एलिभेटहरू पनि बन्द देखिन्छन् ।

सर्भर र इन्टरनेटका कारण ढिलाइ:कतिपय सेवाग्राही सानो काम गर्न पनि ढिलाइ भएको गुनासो गरिरहेका थिए । फर्पिङका विष्णु थापा जग्गा रोक्का भए÷नभएको हेर्न मालपोत कार्यालय आएका थियो । दुई दिन लगाएर आफ्नो काम पूरा गरेका उनले भने, “बुधबार बिहान १० बजे निवेदन दर्ता गरेर बेलुका कर्मचारी कार्यालय बन्द नभएसम्म बस्दा पनि मेरो काम गरिदिनुभएन । टेबलमा कागजको थुप्रो देखाएर पन्छिनुभयो । सानो कामका लागि दुई दिन खेर फाल्नुपर्यो ।” गोरखापत्र दैनिक