२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र रोमानियाबीच व्यापारिक तथा लगानी सहकार्यका लागि नयाँ समझदारी



अ+ अ-

काठमाडौँ।नेपाल र रोमानियाबीचको द्विपक्षीय व्यापार, वैदेशिक लगानी र औद्योगिक सहयोगलाई सुदृढ बनाउन नयाँ क्षेत्रहरूमा सहकार्य गर्ने सहमति भएको छ ।

नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप प्रभावकारी बनाउन व्यापारिक प्रोटोकलमा हस्ताक्षर भएको जानकारी दिनुभएको हो ।

सम्झौताअनुसार दुई देशबीच व्यापार आदानप्रदान, पूर्वाधार विकासका लागि वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई), सीप विकास तथा प्राविधिक तालिम, ई–कमर्स, सूचना प्रविधि र बजारीकरण जस्ता महत्वपूर्ण क्षेत्रमा सहकार्य गरिनेछ ।

यसले नेपाल र रोमानियाका व्यवसायीहरूबीच व्यावसायिक सम्बन्ध र उपभोक्ता सम्बन्धलाई थप सहज बनाउने लक्ष्य राखेको छ ।

अध्यक्ष पाण्डेकाअनुसार आर्थिक वर्ष २०२४/२५ मा नेपालले रोमानियातर्फ करिब ११ लाख ७० हजार अमेरिकी डलर बराबरको वस्तु निर्यात गरेको छ ।

सोही अवधिमा रोमानियाबाट करिब ६ लाख ९० हजार अमेरिकी डलर बराबरको आयात भएको छ । नेपालबाट रोमानिया निर्यात हुने प्रमुख वस्तुमा तयारी पोशाक पहिलो स्थानमा रहेको छ ।

यद्यपि हालको व्यापार परिमाण सानो देखिए तापनि यसले युरोपेली बजारमा नेपाली तयारी पोशाकको उच्च सम्भावना र बढ्दो आपसी चासोलाई स्पष्ट पारेको पाण्डेले बताउनु भयो । रोमानियालाई उदाउँदो युरोपेली बजार र वृहत्तर युरोपेली क्षेत्रको प्रवेशद्वारका रूपमा उल्लेख गर्नुभयो ।

अध्यक्ष पाण्डेले भन्नुभयो, ‘हाम्रा संस्था, व्यवसायी र सरकारबीचको निरन्तर सहकार्यले आगामी वर्षहरूमा द्विपक्षीय लगानी र व्यापारलाई उल्लेख्य रूपमा वृद्धि गर्न सकिन्छ । प्रविधि हस्तान्तरण, संयुक्त लगानी र बलियो व्यावसायिक सञ्जालमार्फत नेपालले युरोपेली बजारमा आफ्नो पकड बलियो बनाउनुपर्छ ।’

दुई देशबीचको व्यापारिक गतिविधिलाई संस्थागत रूपमा अगाडि बढाउन ‘नेपाल–रोमानिया उद्योग वाणिज्य संघ’ स्थापना गर्ने निर्णय समेत भएको छ । यो संघले दुई देशको अर्थतन्त्रलाई जोड्न र व्यापारिक गाँठो फुकाउन सक्रिय भुमिका खेल्ने विश्वास लिइएको छ ।

अध्यक्ष पाण्डेले नेपाली उत्पादनको गुणस्तर सुधार र अन्तर्राष्ट्रिय मापदण्डको पालनाले युरोपेली बजारमा प्रतिष्पर्धात्मक क्षमता बढ्ने उल्लेख गर्नुभयो ।

साथै, रोमानियाको विकासमा नेपाली श्रमिकहरूले पुर्याएको योगदानको प्रशंसा गर्दै उनले यस सहकार्यले औद्योगिक वृद्धि, रोजगारी सिर्जना र जनस्तरको सम्बन्धलाई समेत नयाँ उचाइ दिने बताउनु भयो ।–न्युज एजेन्सी नेपाल