काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले संसदीय प्रणालीमा राजनीतिक दलहरूबीच निरन्तर संवाद आवश्यक रहेको बताएका छन् ।
तेत्तीसौँ मदन–आश्रित दिवसका अवसरमा ‘मदन–आश्रित प्रतिष्ठान’द्वारा आज काठमाडौँमा आयोजित ‘जनताको बहुदलीय जनवाद (जबज) र युवा’ विषयक विचार गोष्ठीमा बोल्दै उनले दलहरूबीच जनताका समस्या समाधानका लागि पर्याप्त संवाद हुन नसकेको टिप्पणी गरे ।
उनले राज्यका तीन अङ्गबीच समेत उचित समन्वयको अभाव रहेको उल्लेख गरे ।
महासचिव पोखरेलले सूचना प्रविधि र शिक्षामा युवालाई जोड्न पार्टीले विशेष पहल गर्ने बताए । उनले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्दै शान्तिपूर्ण राजनीतिक प्रक्रियाबाट परिवर्तनको अनुभूति दिलाउनुपर्नेमा जोड दिए ।
उनका अनुसार पछिल्लो निर्वाचनको परिणामबाट पाठ सिक्दै एमाले अब जनमुखी नीति लिएर पुनः जनतासमक्ष जाने तयारीमा छ ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रदीपकुमार ज्ञवाली, एमाले संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महर, राष्ट्रिय युवा सङ्घ नेपालका उपाध्यक्ष विनायक शाह, नेपाल ल क्याम्पसका स्ववियु सभापति समीर रिजाल, सूचना प्रविधि विज्ञ इ. रमेश पौडेललगायतले युवाभावअनुसार नीति निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
उनीहरूले जननेता मदनकुमार भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादका आधारमा युवालाई सही राजनीतिक दिशामा अघि बढाउनुपर्ने बताए ।
कार्यक्रममा प्रतिष्ठानको वार्षिक मुखपत्र समेत विमोचन गरिएको थियो ।











