५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव

तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव
अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवालाई अध्ययन, संवाद र बहसका माध्यमबाट तथ्य तथा तर्कमा आधारित राजनीतिक धारणा निर्माण गर्न आग्रह गर्नुभएको छ ।

मदन भण्डारी आइडोलोजी स्टुडेण्ट फोरमले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले आफूभन्दा फरक विचार राख्ने व्यक्तिको विचारलाई समेत सम्मानपूर्वक सुन्ने संस्कार विकास गर्न युवालाई आग्रह गर्नुभएको हो ।

उहाँले लोकतन्त्रको शक्ति आफूले राखेको विचार मात्र स्थापित गर्नुमा नभई फरक मतलाई सम्मानपूर्वक सुन्ने र तथ्य तथा तर्कका आधारमा आफ्नो दृष्टिकोण निर्माण गर्ने संस्कारमा रहेको बताउनुभयो ।

“कुनै पनि राजनीतिक विचार समयसँगै विकसित हुँदै जानुपर्छ । त्यसैले तपाईंहरू आफ्नो जिज्ञासा राख्नुस्, अध्ययन गर्नुस्, आफ्ना विचार व्यक्त गर्नुस्, अरूका विचार पनि सुन्नुस् र संवाद तथा बहसबाट आफ्नो धारणा निर्माण गर्नुहोस्,” उहाँले भन्नुभयो ।

सामाजिक सञ्जाल, सूचना प्रविधि र विश्वव्यापी सम्पर्कका कारण आजको पुस्ता विगतका पुस्ताभन्दा बढी सूचनासम्पन्न भए पनि धेरै सूचना हुनु र सही ज्ञान हुनु फरक विषय भएको उहाँले बताउनुभयो । सूचनालाई तथ्यसँग, भावनालाई विवेकसँग र आलोचनालाई रचनात्मकतासँग जोड्ने क्षमता युवाका लागि आवश्यक रहेको उहाँको भनाइ थियो ।

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा युवाको सहभागिता निर्वाचनका बेला मत माग्ने वा दिने कार्यमा मात्र सीमित हुन नहुने बताउनुभयो । समाज बुझ्ने, जनताको आवाज सुन्ने, नीति निर्माणमा भूमिका खोज्ने तथा देशको विकास र परिवर्तनमा रचनात्मक योगदान गर्ने निरन्तर प्रक्रियाका रूपमा युवाको राजनीतिक सहभागिता अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मदन भण्डारीको राजनीतिक यात्राबाट नयाँ पुस्ताले महत्वपूर्ण पाठ सिक्न सक्ने उल्लेख गर्दै उहाँले जनताको भावना, आकांक्षा र वास्तविकतालाई राजनीतिक विचारसँग जोड्ने प्रयास उहाँको राजनीतिक यात्राको महत्वपूर्ण पक्ष रहेको बताउनुभयो ।

“आज तपाईंहरूको पुस्ताले पनि आफ्नो समयका जनताको भावना, आकांक्षा र आवश्यकतालाई बुझ्दै देश र समाजलाई अघि बढाउने आफ्नो बाटो पहिल्याउनु आवश्यक छ,” उहाँले भन्नुभयो ।

उहाँले मदन भण्डारीका विचारलाई नयाँ पुस्ताले बदलिँदो समय र सामाजिक परिवेशसँग जोडेर अध्ययन तथा आत्मसात गर्नुपर्ने बताउनुभयो । लोकतन्त्रलाई थप प्रभावकारी र जनमुखी बनाउने, राज्यका संस्थालाई जवाफदेही तथा सक्षम बनाउने, राजनीतिमा युवाको सहभागिता र विश्वास बढाउने तथा शिक्षा र रोजगारीका अवसर विस्तार गर्ने विषयमा युवाले गम्भीर बहस गर्नुपर्ने उहाँको भनाइ थियो ।

देशमा परिवर्तनको अपेक्षा उच्च रहेको र युवामा नयाँ सोच तथा केही नयाँ गर्ने ऊर्जा रहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले उक्त ऊर्जा र उत्साहलाई देश तथा समाजको सकारात्मक परिवर्तनमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले युवालाई लोकतन्त्रप्रति प्रतिबद्ध, सामाजिक न्यायप्रति संवेदनशील, राष्ट्रिय हितप्रति सचेत, अध्ययनशील र जिम्मेवार नागरिक बन्न आग्रह गर्नुभयो । नयाँ पुस्ताले नै देशको सुदृढ र उज्ज्वल भविष्य निर्माण गर्ने उहाँको भनाइ थियो ।