काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद स्वदेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । राष्ट्रपति हमिद शुक्रबार अपराह्न करिब पाँच बजे स्वदेश फर्किँदैछन् । उनी चारदिने सदभावना भ्रमणका लागि गत मंगलबार नेपाल आएका थिए ।
उनी बंगलादेशको राजधानी ढाका उड्नुअघि शुक्रबार अपराह्न चार बजे ४० मिनेटदेखि ५ बजेर १० मिनेटसम्म अन्य सबै उडान तथा अवतरण बन्द गरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । राष्ट्रपति हमिदले स्वदेश फर्किनुअघि चन्द्रागिरि हिल्स र पाटन दरबार स्क्वायर अवलोकन गर्नेछन् । उनले नेपाल आएर भक्तपुर दरबार स्क्वायर र पोखरा भ्रमण गरिसकेका छन् ।
नेपाल बसाइँको क्रममा राष्ट्रपति हमिदले समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।