काठमाडौं । राष्ट्रिय सभामा नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले सरकारले संसदको सर्वोच्चतालाई अवमूल्यन गर्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय सभाको चालु अधिवेशनलाई सम्बोधन गर्दै नेता सुवेदीले जननिर्वाचित प्रतिनिधिहरूको सामूहिक विवेकको सम्मान गर्न सरकारलाई आग्रह गर्नुभयो । संसद अधिवेशन आह्वान भइसकेको अवस्थामा बैठक प्रारम्भ नहुँदै हठात् अध्यादेश ल्याइनु लोकतान्त्रिक मूल्य, मान्यता र बहुदलीय राजनीतिक प्रणालीको परम्पराविपरीत भएको उहाँको भनाइ थियो ।
उहाँले संविधानको धारा ११४ ले तत्काल आवश्यक अवस्थामा मात्र अध्यादेश जारी गर्न सकिने व्यवस्था गरेको स्मरण गराउँदै सरकारले उक्त प्रावधानको दुरुपयोग गरेको आरोप लगाउनुभयो । विशेषगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति असन्तुष्टि व्यक्त गर्दै सुवेदीले ६ सदस्यीय परिषद्मा तीन जनालाई बहुमत मान्ने व्यवस्था गणितीय तथा कानुनी रूपमा त्रुटिपूर्ण रहेको बताउनुभयो ।
सरकारले न्यायपालिका र व्यवस्थापिकाको अधिकारसमेत कार्यपालिकामार्फत प्रयोग गर्न खोजेको आरोप लगाउँदै उहाँले यसले शक्ति पृथकीकरणको सिद्धान्तमाथि चुनौती थपिएको धारणा राख्नुभयो ।
आर्थिक विषयमा पनि सरकारमाथि प्रश्न उठाउँदै नेता सुवेदीले स्पष्ट योजना विना विदेशी ऋण लिएर रेकर्ड कायम गर्न खोजिएको टिप्पणी गर्नुभयो । बजेट निर्माणका क्रममा प्रतिपक्षसँग पर्याप्त छलफल नगरी राष्ट्रिय बजेटलाई दल विशेषको दस्तावेजजस्तो बनाउन खोजिएको उहाँको आरोप थियो । ऋणको औचित्य पुष्टि गर्न तथा बजेटलाई सर्वपक्षीय बनाउन उहाँले सरकारसँग माग गर्नुभयो ।
बैठकमा बोल्दै उहाँले भन्नुभयो, “सदनलाई छलेर अध्यादेश ल्याउने प्रक्रिया लोकतन्त्रको खिलापमा छ । दुई तिहाइ बहुमतको समर्थन प्राप्त सरकारले गम्भीर विषयमा अध्यादेशको सहारा लिनुले नेपाली राजनीतिमा नयाँ प्रश्न उब्जाएको छ ।”
सुकुम्बासी व्यवस्थापनको विषय उठाउँदै सुवेदीले सरकारले मानवीय संवेदनशीलता गुमाएको आरोप पनि लगाउनुभयो । उचित विकल्प र व्यवस्थापन विना डोजर प्रयोग गरेर त्रास सिर्जना गरिएको भन्दै उहाँले यसलाई ‘मानवताविरोधी अपराध’ को संज्ञा दिनुभयो ।
वागमती किनारामा भएका मृत्यु तथा सुकुम्बासीहरूको आत्महत्याका घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने उहाँको भनाइ थियो । साथै, उहाँले सरकारलाई अंकगणित र विधिको शासनको सम्मान गर्दै स्वेच्छाचारी ढंगले अघि नबढ्न चेतावनी दिनुभयो ।
न्यूजपोलार
२८ बैशाख २०८३, सोमबार १४:४५
न्यूजपोलार
२८ बैशाख २०८३, सोमबार १४:४५
२८ बैशाख २०८३, सोमबार १४:४५










