१५ श्रावण २०८३, शुक्रबार
,
Latest
अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तराई–मधेस क्षेत्रमा हालै भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्दै घटनाको निष्पक्ष, स्वतन्त्र तथा विश्वसनीय अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ।

शुक्रबार काठमाडौंमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तराई–मधेसमा विकसित पछिल्लो अवस्थाबारे समीक्षा गर्दै हिंसा, साम्प्रदायिक विद्वेष, धार्मिक असहिष्णुता तथा सामाजिक द्वन्द्व कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने निष्कर्ष निकालेको हो।

बैठकले हालैका घटनामा ज्यान गुमाएका नेपाली नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, धनुषाको रघुनाथपुरस्थित हनुमान मन्दिरको रेखदेख गर्ने व्यक्तिको रहस्यमय हत्या भएको घटनाको पनि निन्दा गरेको छ।

राप्रपाले प्रहरीको गोली प्रहारबाट नागरिकको मृत्यु हुनुमा भिड व्यवस्थापनमा गम्भीर प्रशासनिक कमजोरी देखिएको उल्लेख गर्दै समस्याको समाधान दमन र गोली प्रहारबाट खोजिन नहुने धारणा सार्वजनिक गरेको छ। लोकतन्त्रको मूल आधार संवाद, सहिष्णुता, विधिको शासन र पारस्परिक सम्मान रहेको भन्दै सरकारले संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएको छ।

पार्टीले तराई–मधेसका विभिन्न क्षेत्रमा हिन्दु चाडपर्व तथा धार्मिक कार्यक्रमका बेला पटक–पटक तनाव र साम्प्रदायिक विवाद दोहोरिने क्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता घटनाको कारण, सुरक्षा व्यवस्थाका कमजोरी तथा प्रशासनिक उत्तरदायित्वको गहिरो अध्ययन गरी दीर्घकालीन समाधान खोज्न र सर्वपक्षीय समिति गठन गरेर तत्काल संवाद सुरु गर्न सरकारलाई आग्रह गरेको छ।

राप्रपाले प्रत्येक नागरिकले संविधान र कानुनले दिएको अधिकारभित्र रही आफ्नो धर्म, संस्कृति र परम्पराको निर्भय अभ्यास गर्न पाउने वातावरण राज्यले सुनिश्चित गर्नुपर्ने उल्लेख गरेको छ। साथै, राज्यको उदासीनताका कारण सामाजिक तथा धार्मिक तनाव बढ्दै गएको भन्दै दीर्घकालीन शान्तिका लागि सबै पक्षलाई विश्वासमा लिएर राष्ट्रिय सहमतिको मार्ग तय गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

बैठकले २०६२/६३ को राजनीतिक परिवर्तनपछि अवलम्बन गरिएको वैचारिक तथा संवैधानिक मार्गचित्रमाथि गम्भीर राष्ट्रिय समीक्षा आवश्यक भएको निष्कर्षसमेत निकालेको छ।

राप्रपाले वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनर्स्थापनाको आफ्नो एजेन्डा कुनै समुदायको अधिकार सीमित गर्ने उद्देश्यबाट प्रेरित नभई नेपालको ऐतिहासिक पहिचान, राष्ट्रिय एकता, सांस्कृतिक निरन्तरता तथा सबै नागरिकको धार्मिक स्वतन्त्रता र समान अधिकार सुनिश्चित गर्ने अवधारणा भएको जनाएको छ।