काठमाडौं। नेपालमा जारी पाँचौँ एकदिवसीय खेलमा नेपाल ‘ए’ ले स्कटल्याण्डलाई डकवर्थ लुइस (डीएलएस) पद्दतिका आधारमा ९ रनले पराजित गरेको छ।
नेपाल ‘ए’ ले चारमध्ये तीन खेल जित्दै श्रृंखला जितेको हो । घरेलु टोलीले पहिलो खेलमा स्क्टल्यान्डलाई ४५ र दोस्रो खेलमा अेमरिकालाई तीन विकेटले पराजित गर्यो । शनिबार मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा घरेलु टोलीबीचको खेल वर्षाका कारण ३४.५ ओभरमा बिचैमा रोकिएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको नेपाल ‘ए’ ले ३४.५ ओभरमा ४ विकेटको क्षतिमा २०४ रन बनाउँदा खेल रोकिएको थियो।
नेपालका लागि सन्दीप जोराले उत्कृष्ट प्रदर्शन गर्दै ९४ बलमा अविजित ८३ रन बनाए भने इशान पाण्डेले ५० रन बनाउँदै बलियो साथ दिएका थिए। त्यस्तै त्रित राज दासले २४ रन र बसिर अहमदले २० रन जोडे। खेल रोकिँदाको समयमा नेपाल डीएलएस नियम अनुसार पार स्कोरभन्दा ९ रनले अगाडि रहेका कारण विजयी घोषित भयो।
स्कटल्याण्डका लागि मार्क वाट, ब्राडली करी, ओलिभर डेभिडसन र माइकल लिस्कले समान १-१ विकेट लिएका थिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डका लागि जर्ज मुन्सेले आक्रामक ५१ बलमा ६२ रनको इनिङ्स खेलेका थिए। यस्तै माइकल इङ्लिसले अविजित ५६ रन र कप्तान रिचर्ड बेरिंगटनले ४० रनको योगदान दिए।
नेपालका लागि बलिङतर्फ आकाश चन्दले ९ ओभरमा ५९ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए। शेर मल्ल, बिपिन खत्री र पवन सर्राफले समान १-१ विकेट हात पारे।
अब नेपाल ‘ए ’ ले श्रृंखलाको अन्तिम खेलमा भोलि अमेरिकासँग खेल्ने तालिका छ । क्रिकेट विश्वकव लिग २ को पूर्वसन्ध्यामा यो प्रतियोगिता आयोजना गरिएको हो । आगामी सोमबारदेखि अमेरिका, स्कटल्यान्ड र नेपालले लिग–२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने तालिका छ ।











