५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ उपत्यकामा ट्राफिक चेकजाँचमा कडाइ



अ+ अ-

काठमाडौँ। काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

उपत्यकाका मुख्य सडक, चोक तथा उपत्यका भित्रिने प्रमुख नाका नागढुङ्गालगायत क्षेत्रमा विशेष ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै यात्रुवाहक तथा मालवाहक सवारीसाधनमाथि विशेष निगरानी बढाएको जनाएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने तथा प्राविधिक रूपमा कमजोर अवस्थाका सवारीसाधनलाई लक्षित गरी अभियान सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यस अभियानमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी स्वयं सडकमा खटिनुभएको जनाइएको छ । ट्राफिक प्रहरी प्रमुख अधिकारीले दिउँसोदेखि राति अबेरसम्म यहाँका विभिन्न स्थानमा पुगेर ट्राफिक व्यवस्थापन, चेकजाँच तथा चालकलाई सचेतनामूलक जानकारी दिने कार्य गरिरहनुभएको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

सवारी दुर्घटना न्यूनीकरणका लागि चालक, सहचालक तथा यात्रु सबैको जिम्मेवारी आवश्यक रहेको ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताउनुभयो । आज दिउँसो काठमाडौँ भित्रिने मुख्य नाका नागढुङ्गामा सवारी जाँचका क्रममा उहाँले सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “सिट क्षमताभन्दा बढी यात्रु नबोक्न, सवारीसाधनको अवस्था नियमित परीक्षण गर्न, तीव्रगति नियन्त्रण गर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न हामीले विशेष अभियान सञ्चालन गरेका छौँ । दुर्घटना न्यूनीकरणका लागि म आफैँ पनि सडकमा खटिएर अनुगमन गरिरहेको छु । तपाईँहरू पनि ट्राफिक नियम पूर्ण रूपमा पालना गर्नुहोला ।”

ट्राफिक प्रहरीले पछिल्लो समय उपत्यकामा हुने अधिकांश दुर्घटनाको मुख्य कारण तीव्रगति, लापरवाहीपूर्ण सवारी सञ्चालन, ओभरटेक, मोबाइल प्रयोग गरेर गाडी चलाउने तथा मापसे, लापसे गरेर सवारी चलाउने रहेको जनाएको छ । ती गतिविधि नियन्त्रण गर्न विशेष टोली परिचालन गरिएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताउनुभयो ।

पछिल्लो समय नागढुङ्गा, कलङ्की, कोटेश्वर, चाबहिल, जडीबुटी, बल्खु, महाराजगन्ज, नयाँ बसपार्कलगायत व्यस्त क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति बढाइएको छ । लामो दूरीका सार्वजनिक सवारीसाधनको प्राविधिक अवस्था, चालकको स्वास्थ्य अवस्था तथा यात्रु क्षमताबारे समेत निगरानी थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।

उपत्यकामा पछिल्लो समय बढ्दो सवारी चापका कारण सडक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न विभिन्न चेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । विद्यालय, कलेज तथा सार्वजनिक स्थानमा ट्राफिक सचेतना अभियान सञ्चालन गरी नागरिकलाई नियम पालना गर्न आग्रह गरिएको छ ।

ट्राफिक प्रहरीका अनुसार अभियानलाई आगामी दिनमा अझ प्रभावकारी बनाइनेछ । दुर्घटना न्यूनीकरणसँगै सुरक्षित र व्यवस्थित यातायात प्रणाली विकास गर्ने उद्देश्यले चेकजाँचलाई निरन्तरता दिइने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रासस