काठमाडौं । युएईमा जारी टी–१० क्रिकेट लिगको सुपर लिग अन्तर्गत आज (शुक्रबार) नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने र पूर्व कप्तान पारस खड्का रहेको टिमबीच प्रतिस्पर्धा हुँदैछ । सन्दीपको टिम कर्नाटका टुसकेर्स र पारसको आबु धाबीबीच हुने खेल आबु धाबीस्थित शेख जायद स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ ।
सुपर लिगमा दुवै टिमको प्रदर्शन खराब रहेकोले प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवै टिम जित निकाल्ने योजनासहित हुनेछन् । सन्दीपको टिम कर्नाटका ५ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ भने पारसको आबु धाबी भने ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
सन्दीपले हरेक खेलमा उत्कृष्ट खेल्दै आएका कारण आबु धाबीविरुद्ध कर्नाटकाले उनलाई प्लेईङ सेटमा राख्ने प्रवल सम्भावना रहेको छ । यता, पारस भने सुरुवाती दुई खेलपछि टिम बाहिर रहदै आएका छन् । तर, कर्नाटकाविरुद्ध पारसले मौका पाउने सम्भावना रहेको छ ।