स्पेनिस लिगमा रियल मड्रिडले सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा घरेलु मैदानमा रियल सोसिडाडलाई ३–१ गोल अन्तरले रियल मड्रिडले पाखा लगाएको हो । यो जितसंगै रियलले शीर्ष स्थानको बार्सिलोनासंग अंक बराबरी गरेको छ । बार्सा गोल अन्तरका आधारमा शीर्ष स्थानमा रहेको छ ।
वैकल्पिक खेलाडीको रुपमा ग्यारेथ वेल मैदान छिरेका थिए । तर उनले मिश्रित किसिमको प्रतिक्रिया पाएका थिए । डी सिल्भाको गोलमार्फत पाहुना टोली सोसिडाडले खेलमा अग्रता बनाएको थियो । खेलको ३७ औ मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई खेलमा फर्काएका थिए ।
त्यसैगरी फेडरिको भाल्भर्डेले ४७ औ मिनेटमा घरेलु टोलीलाई २–१ ले अघि बढाए । लुका मोड्रिचले ७४ औ मिनेटमा गोल गर्दै रियललाई सहज जित दिलाउन सफल भए । रियलले १३ खेलबाट २८ अंक जोड्यो । सोसिडाड २३ अंक सहित पाँचौ स्थानमा रह्यो ।