१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवसेवा आश्रमद्वारा छ हजार २७५ को उद्धार, दुई हजार ४२५ जनाको पुनर्मिलन



अ+ अ-

वाग्मती । मानव सेवा आश्रम स्थापना भएको नौ वर्ष पुगेको छ । नेपाललाई सहयोगापेक्षी सडक मानवरहित बनाउने उद्देश्यका साथ स्थापना भएको आश्रमले विगत नौ वर्षमा छ हजार २७५ जनालाई उद्धार गरेको छ । 

उद्धार गरिएका सडक मानवमध्ये सो अवधिमा दुई हजार ४२५ जनालाई परिवारसँग पुनर्मिलन गराएको आश्रमले जनाएको छ । मानव आश्रमका होमना पौडेलले उद्धार गरिएकामध्ये आश्रमबाट एक हजार ६७ जना उपचारपश्चात् स्वेच्छाले घर फर्केका छन् भने ६३४ जना आश्रमको संरक्षणमा रहँदा निधन भएको जानकारी दिनुभयो । 

आश्रमका अनुसार हालसम्म ३५४ जनाको सामुदायिक पुनःस्थापना भएको छ । हाल आश्रमका सातै प्रदेशको १७ जिल्लामा २३ सेवा केन्द्रमार्फत एक हजार ५६७ जना आश्रित रहेका छन् । आश्रमको मुख्य कार्यालय हेटौँडामा रहेको छ । सो कार्यालयबाट हालसम्म एक हजार ३५५ जनाको उद्धार भएको छ भने ७३६ जनाको पारिवारिक मिलन गराइएको छ । उपचारपश्चात स्वेच्छाले ३३६ जना घर फर्केका छन् भने १४७ को आश्रममा निधन भएको आश्रमले जनाएको छ । साथै ४३ जनाको सामूदायिक पुनःस्थापना गरिएको छ । हाल हेटौँडा आश्रममा १६७ जना आश्रित रहेको पौडेलले बताउनुभयो ।

मानवसेवा आश्रमले सडकमा बेवारिसे अवस्थामा रहेका मानिसको उद्धार गरी उनीहरुलाई पुनःस्थापना गर्ने र स्वास्थ्यावस्था राम्रो भएपछि घर परिवारबारे जानकारी लिने गरेको छ । परिवारबारे जानकारीपछि  पुनःमिलन गराउने गरिएको उहाँको भनाइ छ । आश्रममा आश्रय लिएका अधिकांश मासिक सन्तुलन गुमाएका र घरबारविहिन रहेका हुन्छन् । उद्धार गरिएका व्यक्तिले आश्रममा आफ्नो इच्छाअनुसार कामगर्ने गरेको बताइएको छ । आश्रमको आर्थिक वर्ष २०७७/७८ मा कूल आम्दानी रु २३ करोड  ९६ लाख ७९ हजार  ३९५ र खर्च रु १२ करोड ७८ लाख ५८ हजार २२१ तथा बचत रु ११ करोड १८ लाख २१ हजार १७४ रहेको आश्रमले जनाएको छ । 

आश्रमलाई तीनै तहका सरकारी निकाय, अन्य सङ्घसंस्था र व्यक्तिबाट सो रकम प्राप्त भएको हो । आश्रममा प्रत्येक महिनाको पहिलो हप्तामा मानसिक रोग विशेषज्ञबाट उपचार हुने गरेको छ । आश्रममा सेवाका लागि दुई नर्सको व्यवस्था गरिएको छ । आश्रममा महिला र पुरुष छुट्टै राख्ने व्यवस्था गरेको छ । नेपालको सडक मानवमुक्त घोषणा अभियानलाई सार्थक बनाउन सो संस्था लागेको पौडेलको भनाइ छ ।