१४ भाद्र २०८३, आईतवार
,
Latest
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलडीसीबाट स्तरोन्नतिपछि औषधिको मूल्य बढ्नसक्छः महानिर्देशक बस्नेत



अ+ अ-

काठमाडौं । उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले नेपाल अल्पविकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति भएपछि औषधि र खोपको मूल्यमा उल्लेख्य वृद्धि हुनसक्ने चेतावनी दिनुभएको छ ।

विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले एलडीसी ग्रजुएसनपछि नेपालले अन्तर्राष्ट्रिय व्यापारमा पाउँदै आएका विभिन्न छुट तथा सहुलियतहरू कटौती हुने बताउनुभयो । यसले विशेषगरी औषधि उत्पादन क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने उहाँको भनाइ छ ।

महानिर्देशक बस्नेतका अनुसार हाल नेपाल अल्पविकसित राष्ट्रको सूचीमा रहेकाले औषधि र खोप उत्पादन गर्दा बौद्धिक सम्पत्तिसम्बन्धी प्याटेन्ट अधिकार नलिई उत्पादन गर्न पाउने सुविधा उपभोग गरिरहेको छ । तर स्तरोन्नतिपछि भने नेपालले प्याटेन्ट अधिकार भएका कम्पनीहरूलाई रोयल्टी तिर्नुपर्नेछ, जसका कारण स्वदेशमै उत्पादन भइरहेका औषधिको मूल्य उल्लेख्य रूपमा बढ्न सक्ने अवस्था रहने उहाँले बताउनुभयो ।

उहाँले औषधि र खोपको मूल्यवृद्धिले निजी क्षेत्र र औषधि व्यवसायमा संलग्न उद्यमीहरूलाई प्रत्यक्ष असर पार्ने उल्लेख गर्नुभयो । व्यापारिक सहुलियतहरू हट्दा र उत्पादन लागत बढ्दा हालको कर प्रणालीमा समेत परिवर्तन आवश्यक पर्ने अवस्था आउने उहाँको भनाइ छ । साथै, भारत तथा अन्य तेस्रो मुलुकसँगको व्यापारमा पाइँदै आएका सुविधा पनि एलडीसी ग्रजुएसनपछि गुम्ने सम्भावना रहेको उहाँले औंल्याउनुभयो ।

महानिर्देशक बस्नेतले औंल्याउनुभयो, “अहिले हामीले मेडिसिन र भ्याक्सिनमा विभिन्न सुविधा पाइरहेका छौं । भारत वा अन्य देशसँग व्यापार गर्दा समेत सहुलियत पाइरहेका छौं । तर एलडीसी ग्रजुएसनपछि ती सुविधा नपाउने अवस्था आउँछ । अहिले नेपालमा उत्पादन हुने औषधि प्याटेन्ट नलिई उत्पादन गर्न पाइरहेको छ, तर अब भने रोयल्टी तिरेर मात्रै उत्पादन गर्नुपर्ने हुन्छ । यसले औषधिको मूल्यमा एक्कासी वृद्धि हुन सक्छ ।”

उहाँका अनुसार यो चुनौती औषधि क्षेत्रमा मात्र सीमित नभई अन्य थुप्रै क्षेत्रमा पनि देखिनेछ । भविष्यमा आउन सक्ने जोखिमहरूलाई सम्बोधन गर्न सरकारले समयमै ठोस जोखिम न्यूनीकरण रणनीति बनाएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । यस्ता परिवर्तनले व्यावसायिक वातावरण तथा उपभोक्ताको क्रयशक्तिमा समेत प्रभाव पार्ने भएकाले यस विषयमा गम्भीर रूपमा सोच्नुपर्ने बेला आएको उहाँको भनाइ छ ।