२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

राष्ट्रिय सम्मेलनपछि कस्तो बन्ला माओवादी

राष्ट्रिय सम्मेलनपछि कस्तो बन्ला माओवादी
अ अ+ अ-

काठमाडौँ। विचारको नयाँ संश्लेषण गर्दै समाजवादको नयाँ आधार बनाउने लक्ष्यका साथ नेकपा (माओवादी केन्द्र) ले यही पुस ११ देखि १३ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।

राष्ट्रिय सम्मेलनलाई सभ्य र भव्य बनाउनका लागि जनवर्गीय सङ्गठनले आवश्यक तयारी गरिरहेका छन् । माओवादीको सहायक सङ्गठन वाइसिएल नेपालले प्रचारात्मक काम शुरु गरिसकेको छ ।

सात वटा भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशले सम्मेलनमा सहभागी हुने प्रतिनिधि तथा पर्यवेक्षक चयन गरिसकेका छन् । यस्तै पार्टी केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्नुहुने भएको छ ।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार नियमित प्रक्रियाबाट कूल एक हजार ४८३ जना प्रतिनिधि चयन भएका छन् । त्यसको कूल १० प्रतिशत मनोनयन गर्ने जिम्मा आजको स्थायी समितिको बैठकले अध्यक्ष प्रचण्डलाई दिएको छ ।

माओवादीले यसभन्दा अगाडि पाँच प्रतिशत मात्रै मनोनयन गर्ने बताएको थियो । त्यसलाई शुक्रबारको बैठकले १० प्रतिशत बनाएको छ । बैठकपछि प्रवक्ता महराले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि मनोनयन गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिइएको जानकारी दिनुभयो ।

कुन प्रदेशबाट कति सहभागी

माओवादी केन्द्रीय कार्यालयका अनुसार आयोजक समितिबाट १७९ सहभागी हुनेछन् । यस्तै सल्लाहकारबाट १४९, जेष्ठ कम्युनिस्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ जना राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् ।

यस्तै प्रदेश–१ बाट ९६, प्रदेश–२ बाट १०६, वाग्मती प्रदेशबाट १२८, गण्डकी प्रदेशबाट ७४, लुम्बिनी प्रदेशबाट १०५, कर्णाली प्रदेशबाट ८७, सुदूरपश्चिम प्रदेशबाट ८४, प्रवास प्रदेशबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्मर्क समन्वय प्रदेशबाट ८३ जना सहभागी हुने व्यवस्था गरिएको छ ।

अध्यक्ष प्रचण्डले कूल १४८ प्रतिनिधि मनोनयन गरेपछि कूल प्रतिनिधि सङ्ख्या एक हजार ६३१ जना पुग्नेछ ।

माओवादीले पहिलो पटक संवैधानिक व्यवस्थाअनुसार नै केन्द्रीय समितिमा महिला, दलित, जनजाति, आदिवासी समुदायलाई विशेष भूमिकासहित जिम्मेवारी दिने भएको छ । महिलालाई अनिवार्यरूपमा ३५ प्रतिशत बराबरको हिस्सा छुट्याइएको छ ।

माओवादीले गत मङ्सिर ४ गतेदेखि नै पार्टीको वडासम्मेलन गरेको थियो । त्यसका लागि पार्टीको तर्फबाट विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा निर्वाचन आयोग नै बनायो । आयोगका प्रतिनिधिसहितको उपस्थितिमा माओवादीले ११ मङ्सिरमा देशभरका पालिका सम्मेलन आयोजना गर्यो । प्रदेश–२ का केही पालिकामा बाहेक झण्डै ९८ प्रतिशत पालिकामा नयाँ नेतृत्व चयन भएको छ । गत मङ्सिर २५ गते प्रदेश सम्मेलनको आयोजना गरियो । वाग्मती र प्रदेश–१ मा निर्वाचन प्रक्रियाबाटै नयाँ नेतृत्व चयन भएको छ ।

वाग्मती प्रदेशका नवनिर्वाचित अध्यक्ष सरल सहयात्री पौडेल नेतृत्वको वाग्मती प्रदेश समितिले आज मात्रै आफ्नो पदभार ग्रहण गरेको छ । सहमति हुन नसकेपछि माओवादीले मतदान नै गराएर दुई प्रदेशको नयाँ नेतृत्व चयन गरेको हो ।

प्रदेश–२ को प्रदेश समिति मात्रै गठन गरिएको छ । गण्डकी प्रदेशमा अध्यक्ष मात्रै चयन गरिएको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेशमा पनि अध्यक्ष मात्रै चयन गरिएको छ । सुदूरपश्चिम प्रदेशमा पनि प्रदेश समिति चयन गरिएको छ । बाँकी रहेका गैरभौगोलिक प्रदेशको पनि नेतृत्व चयन भएको छ ।

अध्यक्षमा छैन चासो, महासचिवमा दावी बढ्दै

माओवादीको यस पटक निर्वाचन प्रक्रियाका माध्यमबाट नेतृत्व चयन गर्ने बताएको छ । यद्यपि माओवादीका नेताका अनुसार अध्यक्ष प्रचण्डको विकल्पमा कुनै पनि नेताहरुले दावी पेश गरिसकेको अवस्था छैन ।

पार्टीका महासचिवमा भने औपचारिक, अनौपचारिकरूपमा नेताहरूले दावी गरिरहेका छन् । सङ्गठन विभाग प्रमुख रहेका जनार्दन शर्मा, केन्द्रीय कार्यालयका इञ्चार्जसमेत रहनुभएका वर्षमान पुनले महासचिवमा दावी गर्नुभएको छ । यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहनुभएका देवेन्द्र पौडेलसमेतले महासचिवका लागि इच्छा व्यक्त गर्नुभएको छ । यस्तै आज मात्रै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले पनि आफू महासचिवका लागि योग्य रहेको दावी पेश गर्नुभएको छ ।

तत्कालीन संयुक्त जनमोर्चाको अध्यक्षसमेतको जिम्मेवारी सम्हाल्नु भएकाले भुसालले आफू महासचिवका लागि योग्य रहेको दावी पेश गर्नुभएको हो । माओवादीको विधानअनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित, पाँच प्रतिशत मुस्लिमको प्रतिनिधित्व गराउने व्यवस्था गरेको छ ।

माओवादीको सङ्गठित सदस्यले वडासम्मेलन मार्फत वडाको नेतृत्व चयन गरे । वडाबाट आएका प्रतिनिधिले गाउँपालिकाको नेतृत्व चयन गरे । यस्तै नगरमा २००, उपमहानगरमा ३०० र महानगरमा ४०० प्रतिनिधि उपस्थित भएर महानगर, उपमहानगर तथा नगरपालिका अधिवेशन सम्पन्न गरेको छ । महानगर, नगर र पालिकाबाट चयन भएकाले प्रदेश समिति निर्वाचित गरेको छ । प्रदेश सम्मेलन हुँदै राष्ट्रिय सम्मेलनमा जुटेको माओवादीले नेपालको संविधानमा व्यवस्था गरिएको समाजवादको सन्दर्भमा स्पष्ट खाका पेश गर्ने दावी गरेको छ ।

अध्यक्ष प्रचण्डले पार्टीलाई रूपान्तरण गरेर क्रान्तिकारी पार्टीकै रूपमा अगाडि बढाउने सङ्कल्प गर्नुभएको छ । टुटफुटको शृङ्खलाबाट अगाडि बढेको माओवादीलाई २०६४ सालको जस्तै रापिलो र स्पातिलो बनाउने दृढ सङ्कल्प गर्नुभएका प्रचण्डले समाजवादी आन्दोलनलाई विकास गरेर एउटा २१औँँ शताब्दीको एउटा नयाँ मोडेल विश्वलाई दिने बताउँदै आउनुभएको छ ।

पार्टीलाई कमीकमजोरी सच्याएर एउटा क्रान्तिकारी पार्टीका रूपमा, एउटा अन्तर्राष्ट्रवादी पार्टीका रूपमा, र समाजवादी क्रान्ति नेता पार्टीका रूपमा यसलाई रूपान्तरण गर्ने दोसाँधमा आफू रहेको भन्दै प्रचण्डले राष्ट्रिय सम्मेलनबाट विचारमा प्रष्टता आउने दावी गर्नुभएको छ ।

नेकपा (एमाले) र नेपाली कांग्रेसले हालै सम्पन्न गरेको महाधिवेशनभन्दा माओवादीले फरक तरिकाले राष्ट्रिय सम्मेलनको आयोजना गरेको दावी गरिहँदा त्यसबाट कस्तो निष्कर्ष निकाल्ला त्यो भने प्रतीक्षाको विषय बनेको छ ।

त्यसो त अध्यक्ष प्रचण्डले आजको स्थायी समितिको बैठकमा राष्ट्रिय सम्मेलनमा पेश गरिने राजनीतिक दस्तावेज पेश गर्नुभएको छ । दस्तावेज कुन दिशामा केन्द्रीत भएको छ भन्ने बारेमा माओवादीको नेतृत्वले कुनै जानकारी नदिए पनि निरन्तरतामा क्रमभङ्गता हुने दावी गरिएको छ । रासस