१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

करातेमा नेपालका १० स्वर्ण पदक



अ+ अ-

काठमाडौं । काठमाडौँमा जारी तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत करातेको कुमुतेतर्फ नेपालकी अनुपमा मगरले स्वर्णपदक हात पार्नुभएको छ ।

महिला ६८ केजी माथिको तौल समूहको फाइनलमा अनुपमाले पाकिस्तानी खेलाडीलाई हराएर नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो । अनुपमाले पाकिस्तानकी नार्गिसलाई ६–३ ले पराजित गर्नुभयो । त्यसअघि अनुपमा श्रीलङ्काकी विजेकुन मोहम्मदलाई ७–४ ले पराजित गर्दै फाइनमा पुग्नुभएको हो । सोही स्पर्धामा श्रीलङ्का र बङ्गलादेशले कास्यपदक जित्यो । यससगैँ करातेमा नेपालको स्वर्ण पदक सङ्ख्या १० पुगेको छ ।

यसअघि करातेको एकल कातामा मण्डेकाजी श्रेष्ठ र टिम काताअन्तर्गत पुरुषतर्फ मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रवीण मानन्धर तथा टिम काता महिलामा निर्मला तामाङ र सङ्गीता मगर सरु कार्की तथा ५५ केजीमा लक्ष्मण तामाङले नेपाललाई स्वर्णपदक दिलाउनुभएको थियो । त्यसैगरी ८४ केजीमाथि विप्लवलाल श्रेष्ठ, ४५ केजी मुनी कुसुम खड्का, ५० केजी मुनि अनु अधिकारी ६७ केजीमा नवीन रसाइली र ६८ केजीमा सुनिता महर्जनले स्वर्णपदक जित्नुभएको थियो । करातेमा अहिलेसम्म कुनै पनि स्पर्धामा नेपाल पदक विहीन भएको छैन ।
यस्तै १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत यही मङ्सिर २० गतेदेखि २३ गतेसम्म जनकपुरधामको जिल्ला खेलकूद विकास समितिको कभर्डहलमा हुने कुस्ती खेलका लागि सम्पूर्ण तयारी सम्पन्न भएको छ ।

सोका लागि कभर्ड हलमा खेल मैदान र होटलमा खेलाडीको आवासको व्यवस्थापनकार्य सम्पन्न भइसकेको जनाइएको छ । कुस्तीमा सहभागी हुनेमध्ये नेपाल र बङ्गलादेशका खेलाडि जनकपुरधाम आइपुगेका खेलकुद विकास समितिका प्रशासकीय प्रमुख विनोदकुमार सिंहले बताउनुभयो । उहाँका अनुसार सो खेलमा माल्दिभ्स र भुटान बाहेक नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका खेलाडी सहभागी हुने छन् ।

खेलमा नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्काको महिला र पुरूष टिमको सहभगिता रहने छ भने पाकिस्तानबाट पुरूष टिमको मात्र सहभागिता रहने जनाइएको छ । नेपालका खेलाडीका लागि जनकपुरधामको सिटी स्टार होटल, बङ्गलादेशका लागि बेलकम, भारत र श्रीलङ्काका लागि राजदरबार होटल र पाकिस्तानका लागि बर्दिवासको पावन मिथिला होटलमा व्यवस्थापन गरिएको प्रमुख सिंहले जानकारी दिनुभयो ।
यता तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत उसु खेलमा नेपालका दीपक हमालले स्वर्ण पदक जित्नुभएको छ ।

लगानखेलस्थित आर्मीको कर्भडहलमा आज भएको खेलमा उहाँले थाउलोको नानगुन अलराउन्डमा १९.३२ स्कोर प्राप्त गरेर स्वर्ण पदक जित्नुभएको हो । उसु खेलमा नेपालको यो तेस्रो स्वर्ण पदक हो । यसअघि मङ्गलबार भएको उसुको पहिलो दिन नेपाली खेलाडी विजय सिन्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जित्नुभएको थियो ।

त्यस्तै यो पदकसँगै नेपालको स्वर्ण पदक सङ्ख्या २४ पुगेको छ । सोही स्पर्धामा भारतका साजन लामाले रजत जित्नुभयो भने बङ्गलादेशका अमिर हुसेनले कास्य पदक हात पार्नुभयो । त्यसअघि थाउलोतर्फको खेलमा श्रीलङ्काले स्वर्ण जितेपछि विवाद सिर्जना भएको थियो ।

नेपाल र भारतले खेलमा धाँधली भएको भन्दै निर्णयमा आपत्ति जनाउँदै खेलाडी र अफिसियलले म्याटमा धर्ना दिनुभएको थियो । सोका कारण खेल करिब ३० मिनेट रोकिएको थियो । यस स्पर्धामा श्रीलङ्काका थारिदुले स्वर्ण जित्नुभएको छ । भारतका ग्यादेश सिंहले रजत र नेपालका हरिप्रसाद गोलले कास्य पदक हात पार्नुभयो ।