छैटौँ पटक बलोन डी’ओर अवार्ड जितेलगतै खेलेको खेलमा लियोनल मेसी ह्याट्रिक गर्न सफल भएका छन् । स्पेनिस लालिगा अन्तर्गत आइतबार बिहान रियल माल्लोर्काविरुद्धको खेलमा मेसीले ह्याट्रिक गरेका हुन् । यस खेलमा बार्सिलोनाले माल्लोर्कालाई ५–२ ले पराजित गर्यो ।
घरेलु मैदानमा भएको खेलमा ७औं मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो । १७औं मिनेटमा मेसीले गोल गरी अग्रता दोब्बर बनाएका थिए । ३५औं मिनेटमा माल्लोर्काका अन्टे बुदिमिरले गोल गरी २–१ बनाए । ४१औं मिनेटमा मेसीले अर्का गोल गरी अग्रता पुन बढाए लगतै ४३औं मिनेटमा स्वारेजले गोल गर्दा बार्सिलोना पहिलो हाफमै ४–१ ले अघि बढ्यो ।
दोस्रो हाफको ६४औं मिनेटमा अन्टे बुदिमिरले अर्को गोल गरी माल्लोर्कालाई खेलमा फर्काउने प्रयास गरेका थिए । मेसीले ८३औं मिनेटमा तेस्रो गोल गरी ह्याट्रिक पूरा गरे । यो उनको ला लिगाको ३५औं ह्याट्रिक हो। जितपछि बार्सिलोना १५ खेलबाट ३४ अंकसहित शीर्ष स्थानमा कायम छ ।