१० असार २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?



अ+ अ-

कर्णाली। सिता बादी बादी समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्ति हुनुहुन्छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ नयाँगाउँकी उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो ।

शुक्रबार भएको सरकार गठनका क्रममा बालेन्द्र शाह नेतृत्वको सरकारमा उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । विसं.२०५२ भदौ २३ गते सुर्खेतम जन्मनुभएकी उहाँले सुर्खेतको झुप्रा खोलामा बालुवा चालेर आफ्नो आमा बाबासँग दैनिकी गुजार्दै आउनुभएको थियो ।

उहाँले पदभार ग्रहण गर्दै भन्नुभयो, “यो स्थानमा पुगिएला भन्ने कल्पनासमेत गरेकी थिइन । किनकी मेरो बिगत र पृष्ठभूमि निकै असहज थियो । परिवार सम्झेर आजको यो पलले मलाई भावुक बनाएको छ ।”

महिला हिंसा, अपाङ्गता भएका व्यक्तिका समस्यालाई नीतिगत तहबाट कानून निर्माण गरी कार्यान्वयन गर्ने र उनीहरुमा परिवर्तनमा आभास गराउने सोच राखेर अगाडि बढ्ने संकल्प गरेको उहाँले बताउनुभयो । मूलतः कमजोर आर्थिक अवस्था, शिक्षाबाट बञ्चित, भूमिहीन बादी समुदायका समस्यासहित समाजमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको हक एवं अधिकारका सवालमा बिगत भन्दा माथि उठेर काम गर्ने मन्त्री बादीको भनाइ छ ।

झुप्रा खोला, भेरी नदी किनारमा बालुवा उत्खनन् गरेर जीविकोपार्जन गर्दै आउनुभएका उहाँले भेरीगंगा नगरपालिकाको सत्तरी भन्ने स्थानबाट प्राथमिक तहको शिक्षा लिनुभएको थियो । १३ वर्षको उमेरमा पढ्नकै लागि एक संस्थाको सहयोग घर छोडेर काठमाडौँ जानुभयो । उहाँले राजनीतिक शास्त्रमा स्नातकोत्तर तहको उपाधि हासिल गर्नुभएको छ ।

अधिकारकर्मी हिक्मत वादीले सङ्कट बेहोर्दै पटक पटक गरेको आन्दोलन र निरन्तरको संघर्षपछि वादी समुदायको प्रतिनिधित्व गर्दै सीता संघीय सरकारको मन्त्रिपरिषद् सदस्य बन्नु इतिहासकै गर्वलायक क्षण भएको बताउनुभयो । “सदियौंदेखि थिचोमिचोमा परेको भूमिहीन समुदायले अब न्याय पाउने आशा गरेको छु । अब हामी प्रति हेर्ने नजर फेरिने र अवस्था बदलिनेछ”, उहाँले भन्नुभयो ।”

जीवनयापनका लागि खोला, नदी किनार धाउनुपर्ने, कमजोर आर्थिक अवस्थामा शिक्षाबाट बञ्चित, कमजोर स्वास्थ्य अवस्था बदल्न र विभेद, असमानता, गरिबी, बेरोजगारीविरुद्ध स्पष्ट नीति निर्माण गरी कानून बनाएर कार्यान्वयन गर्नतर्फ विशेष भूमिका निर्वाह गर्ने मन्त्री वादीले बताउनुभयो ।

त्यस्तै मुलुकमा देखिएको व्याप्त भ्रष्टाचार अन्त्य गर्ने, दलितहरुलाई आत्मसम्मानका साथ बाँच्न सक्ने सहज अवस्था निर्माण गर्ने, सेवा प्रवाह सहजता ल्याउने, महिला सशक्तीकरण, दलित अधिकार, बाल संरक्षण, सुशासन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर सरकारी तहबाट विशेष जिम्मेवारी पूरा गर्ने र नागरिकहरुको जीवन बदल्ने यात्राको रुपमा राजनीतिकलाई माध्यम बनाउने उहाँले बताउनुभएको छ ।

कर्णालीका राजनीतिक विश्लेषक तथा नागरिक समाजका अगुवा पिताम्बर ढकालले पिछडिएको भूगोल कर्णाली र त्यसमा पनि समुदायबाट मन्त्री बनेकी सीता बादीको ऐतिहासिक सफलता संघीय लोकतान्त्रिक गणतन्त्रको उत्तम अभ्यास भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो व्यवस्थाको सुन्दर पक्ष भनेकै सीता जस्ता पछाडि परेका समुदाय, भेक, क्षेत्र, जाति, लिंग र धर्मका नागरिकहरुको समानुपातिक र समावेशी प्रतिनिधित्व हो । यसले लोकतन्त्रलाई अँझ बढी बलियो बनाएर लैजान्छ ।” रासस