१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्धिको पहिलो आधार पर्यटन



अ+ अ-

ओखलढुङ्गा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले समृद्धिको पहिलो आधार पर्यटन भएको बताउनु भएको छ । ओखलढुङ्गाको चण्डेश्वरी विमानस्थलको उद्घाटन गर्दै मन्त्री भट्टराईले नेपालको विविधता र नेपालीको पहिचान विश्वका लागि नमूना भएकाले पर्यटक ल्याएर विकासको लक्ष्यमा छिटो पुग्न सकिने बताउनु भएको हो ।

समृद्धिको पहिलो आधार नै पर्यटन भएकाले पर्यटकीय क्षेत्रको विकासमा सरकार लागिपरेको उहाँको भनाइ थियो । “अहिलेको सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानमा छ । त्यो अभियानमा छिटो पुग्ने माध्यम भनेको पर्यटन हो । भ्रमण वर्ष २०२० ले केही सफलताका सङ्केतहरु देखाउनेछ”, उहाँले भन्नुभयो, “सरकारले सय गन्तव्य घोषणा गरेर केही पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा जुटेको छ । सङ्घ, प्रदेश र स्थानीय सरकार सबैले पर्यटकीय क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखौँ ।”

जिल्लाका सांसदसहितका जनप्रतिनिधि र पर्यटन व्यवसायीसँग केहीबेर अनौपचारिक अन्तरक्रियासमेत गर्नुभएका मन्त्री भट्टराईले ओखलढुङ्गा जिल्ला पर्यटकीय हिसाबले निकै सम्भावना भएको भन्दै पर्यटन प्रवद्र्धनका योजना अघि सार्न सुझाव दिनुभएको छ । “यो विमानस्थललाई नियमित गरौँ । योजनाअघि सार्नुस् सरकारले पर्यटन विकास र प्रवद्र्धन गर्छ”, मन्त्री भट्टराईले भन्नुभयो, “नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन ओखलढुङ्गा जिल्लाका पर्यटकीय क्षेत्रलाई गन्तव्य सूचीमा राखिएको छ । विश्व समुदायलाई ल्याऔँ, हाम्रा गाउँ ठाउँका मनोरम दृश्यहरु देखाऔँँ ।”

मन्त्री भट्टराईले ओखलढुङ्गाको रुम्जाटार र चण्डेश्वरी दुवै विमानस्थलमा नियमित उडान गर्न पहल गरिने बताउनुभयो । कार्यक्रममा सांसद यज्ञराज सुनुवारले चण्डेश्वरी विमानस्थल सञ्चालनमा आएपछि ओखलढुङ्गाका सबै गाउँ सुगम भएको बताउनुभयो । जिल्ला सदरमुकामबाट टाढा र विकासमा पछि परेको भन्दै खिजीदेम्बा क्षेत्रलाई दुर्गम मानिने गरेको भए पनि अब जिल्लाका सबै गाउँ सुगम बनेको उहाँको भनाइ थियो । “यो क्षेत्रलाई दुर्गम भनिन्थ्यो । त्यो अब इतिहास भयो । वर्तमानमा सुगम भइसक्यो । भविष्यमा हामी विकसित गाउँ बनाउने अभियानमा छौँ ।” जिल्लाको पर्यटन प्रवद्र्धनमा अहिलेका सबै जनप्रतिनिधि र पर्यटन व्यवसायीहरु जुटेको बताउँदै सांसद सुनुवारले ओखलढुङ्गा जिल्लाका पर्यटकीय क्षेत्रहरु पर्यटकको प्रमुख गन्तव्यका रुपमा विकास गरिने बताउनुभयो ।

पूर्वसांसद रामहरि खतिवडाले आफ्नो पार्टीका ठेकेदार भएकै कारण आलोचना बढेपछि आफैँले पहल गरेर विमानस्थल निर्माणको काम सक्न दबाब दिएको बताउनुभयो । उहाँले चण्डेश्वरी विमानस्थलमा नियमित उडान गर्न सुझावसमेत दिनुभयो । सरकारका मन्त्री र सांसदहरु चर्चा कमाउने काममा मात्रै लागिपरेको भन्दै खतिवडाले जनताले महसुस गर्ने गरी काम गर्न आग्रह गर्नुभयो ।

चण्डेश्वरी विमानस्थलमा सोमबार तारा एयरको विमानमार्फत परीक्षण उडान गरिएको छ । काम शुरु भएको १३ वर्षपछि बल्ल विमानस्थलको रनवेमा ग्राभेलको काम सकेर परीक्षण उडान गरिएको हो ।

आव २०६३÷६४ मा विमानस्थल निर्माणका लागि जग्गाको व्यवस्था गरिएको थियो । आव २०६९÷७० बाट विमानस्थलको जग्गा सम्याउने काम शुरु भएको थियो । विमानस्थलमा ग्राभेल, माटो कटिङ, फिलिङ, ड्रेन र अस्थायी टावरघरको निर्माण सम्पन्न भएपछि उडान गरिएको आयोजना प्रमुख एवम् नागरिक उड्डयन प्राधिकरणका इन्जिनीयर विनायक भट्टराईले बताउनुभयो ।

विमानस्थलमा ग्राभेल लगायतको काम एक वर्षमा सम्पन्न गर्नेगरी २०७३ फागुन २४ गते गाल्भा–निसान–पूर्णिमा जेभीले ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले निर्धारित समयमा काम नसकेपछि थप गरिएको म्याद पनि गत असोज १५ गते सकिएको छ । केही दिनअघिमात्र ठेकेदार कम्पनीले विमानस्थलको ग्राभेल लगायतको काम सकेको हो । ग्राभेल, माटो कटिङ, फिलिङ, ड्रेन निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणबाट भ्याटसहित रु दुई करोड पाँच लाख ३३ हजार ७४० मा ठेक्का लागेको थियो । ५८० मिटर लम्बाइ र चौडाइ विमानस्थलको रनवे ग्राभेल गरिएको छ ।

कूल ६५० मिटर लम्बाइ भएको विमानस्थलमा दुईवटा ट्विनअटर विमान पार्किङ गर्न सकिनेछ । रनवेको काम सकिए पनि विमानस्थलमा यात्रु प्रतीक्षालय, सुरक्षा पोष्ट लगायतका अन्य संरचनाहरु अझै बन्न बाँकी छन् । पहिरो रोक्न वाल, रनवेको थप स्तरोन्नतिको काम पनि बाँकी छ ।

गाउँमा विमान पुगेपछि स्थानीयवासी खुशी भएका छन् । पर्यटनको प्रचुर सम्भावना भएको ठाउँमा विमान आइपुग्नु आफैँमा हर्षको विषय भएको सगरमाथा आरोही पेम्बा शेर्पाले बताउनुभयो । विश्वको सर्वोच्च शिखर सगरसाथमा हेर्न आउने विदेशी नागरिकलाई समेत चण्डेश्वरी विमानस्थलबाट लैजाँदा सहज र सस्तो हुने उहाँको भनाइ थियो ।

विमानस्थलमार्फत नियमित उडान हुन सके जिल्लाको पश्चिमी भूभागका स्थानीयवासीलाई सहज हुने खिजिदेम्बा गाउँपालिका–४ का वडाध्यक्ष कमलप्रसाद न्यौपानेले बताउनुभयो । सहज यातायातको सुविधा नहुँदा यस क्षेत्रका नागरिक आपत्कालीन आवस्थामा लाखौँ खर्च गरेर हेलिकोप्टर चार्टर गर्न बाध्य छन् । ढिलै भए पनि आफ्नो क्षेत्रमा विमानस्थल बन्दा यहाँका स्थानीयवासी हर्षित भएका छन् ।