काठमाडौं । प्रतिनिधि सभाको चालु अधिवेशन शुक्रवार औपचारिक रूपमा सम्पन्न भएको छ ।
अधिवेशन समापन बैठकलाई सम्बोधन गर्दै सभामुख डोलप्रसाद अर्यालले कानून निर्माणमा सांसदहरूले देखाएको सक्रियता, संसदीय मर्यादा तथा सत्तापक्ष र प्रतिपक्षबीच भएको सहकार्यको प्रशंसा गर्नुभयो ।

सभामुख अर्यालले संसद केवल बहुमतका आधारमा निर्णय गर्ने थलो मात्र नभई जनमुखी बहस, संवाद र छलफलको महत्वपूर्ण मञ्च भएको बताउनुभयो । जनप्रतिनिधिहरूले सोहीअनुरूप आफ्नो भूमिका निर्वाह गरेको उहाँको भनाइ थियो ।
उहाँले युवा सांसदहरूको अध्ययनशीलता र परिपक्वता तथा अनुभवी सांसदहरूको अनुभवको संयोजनले संसदको कामकारबाहीलाई थप प्रभावकारी बनाउन योगदान पुगेको उल्लेख गर्नुभयो ।
सभामुख अर्यालले जलवायु परिवर्तनको विषयलाई पनि संसदले प्रमुख प्राथमिकताका साथ उठाउँदै आएको बताउनुभयो । उहाँले आफ्नो नेतृत्वमा प्रतिनिधिमण्डलले तान्जानियामा आयोजना हुने अन्तर–संसदीय सङ्घको महासभामा नेपालको तर्फबाट हिमाली मुलुकले भोगिरहेका चुनौती तथा जलवायु वित्तसम्बन्धी विषयलाई सशक्त रूपमा उठाउने जानकारी दिनुभयो ।
उहाँले जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले भोगिरहेका असर तथा त्यसबाट उत्पन्न जोखिमलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गरिने बताउनुभयो ।







