१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

किसान सुन्तला खेतीतर्फ

किसान सुन्तला खेतीतर्फ
अ अ+ अ-

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँ गाउँका टीकाबहादुर हमाललाई बिहानदेखि बेलुकासम्म सुन्तलाको स्याहारसुसार गर्न भ्याईनभ्याई छ । यो समय सुन्तला टिप्ने र बिक्री गर्ने भएकाले त झन् उहाँ बगैँचामै व्यस्त हुनुहुन्छ । बिहानैदेखि सुन्तलाकै चिन्तन गर्ने हमाल कोही पाहुना आए समय दिनसमेत पाउनुहुन्न ।

आजकल हमाललाई भेट्न परे सुन्तलाकै बगैँचामै पुग्नुपर्छ । ५२ वर्षीया हमालले विगत ३१ वर्षदेखि सुन्तला खेती गर्दै आउनुभएको छ । सुन्तला खेतीबाटै उहाँले वार्षिक पाचँदेखि छ लाखसम्म आम्दानी गर्नुहुन्छ । “एक वर्ष बिराएर सुन्तलाको उत्पादन राम्रो हुन्छ, पोहोर साल सात लाखको बिक्री गरियो”, हमालले भन्नुभयो, “यो वर्ष कम्तीमा पाँच लाख पर्ने अनुमान छ ।” सुन्तला लिन घरमै व्यापारी आउँछन् । उहाँको सुन्तला स्थानीय बजारदेखि तम्घास, सन्धिखर्क हुँदै बुटबलसम्म पुग्छ । अहिले प्रतिकिलो ५० देखि ६० रुपैयामा सुन्तला बिक्री हुन्छ ।

“यो पुख्र्यौली पेशा हो, मैले व्यावसायिकीकरण गरेको मात्र हुँ”, उहाँले भन्नुभयो, “घरमै आम्दानी भएपछि विदेश जानुको औचित्य छैन ।” उहाँले कूल १२ रोपनी जग्गामा सुन्तला खेती गर्नुभएको छ । अहिले २५० बोटमा सुन्तला उत्पादन भइरहेको छ भने थप ४० हजार बिरुवा नर्सरीमा छन् । तीमध्ये अधिकांश बिरुवा बिक्री हुन्छन् । घरमा ६ जनाको परिवार छ । सुन्तलाका साथसाथै ११ बाख्रा र ११ घार मौरी पनि छ । घरखर्चका लागि बाख्रा र मौरीबाट पुग्छ । सुन्तलाको रकम बचत हुन्छ । “घरखर्च अन्य आम्दानीबाट चल्छ, सुन्तलाबाट कमाएको रकम बचत हुन्छ”, उहाँले भन्नुभयो । सुन्तलाबाट कम मिहिनेतमा बढी आम्दानी हुने भएपछि खाद्यान्न लगाउने ठाउँमा सुन्तला लगाएको उहाँ बताउनुहुन्छ । तर राज्यले तरकारी खेती लगायतका कृषिजन्य सामग्रीमा अनुदान दिँदा सुन्तला खेतीमा कुनै अनुदान नदिएको उहाँको गुनासो छ ।

सोही गाउँकै चन्द्र विकले पनि गत वर्ष ६० हजारको सुन्तला बिक्री गर्नुभयो । नौ वर्षदेखि व्यावसायिक सुन्तला खेतीमा व्यस्त विकको बगैँचामा एक सय बोटले उत्पादन दिइरहेका छन् भने थप पाँच सय बिरुवा नर्सरीमा छन् । ६० वटा बिरुवाबाट शुरु गर्नुभएको विकले वर्षैपिच्छे आम्दानी बढाउनुभएको छ । सुन्तला एकपटक लगाएपछि धेरै वर्षसम्म फल्ने र अन्य खेतीलाई झैँ स्याहार गर्न नपर्ने भएकाले सुन्तला खेतीतर्फ आकर्षित भएको उहाँको भनाइ थियो । जिल्लामा पछिल्लो समय कृषकको सङ्ख्या बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यस्तै गुल्मीमा सुन्तलाको उत्पादन बढेपनि भण्डारण गर्ने चिस्यान केन्द्र नहुँदा किसान बिचौलियाको मारमा पर्ने गरेका छन् । “टिपेर लामो समयसम्म राख्न मिल्दैन, बोटमै राखे झेरेर सकिन्छ”, धुर्कोट गाउँपालिका–१ नयाँगाउँकी माया जिसीले भन्नुभयो, “आफूखुशी मुख्य राखेर व्यापारीले लैजान्छन् ।” आफूसँग ५० रुपैयाँ प्रतिकिलो लगेर बजारमा ८० देखि बढी मुख्यमा बेच्ने गरेको उहाँले बताउनुभयो । सिँचाइको अभाव, प्राविधिक ज्ञानको कमी लगायतका समस्याले पनि किसान मर्कामा परेका छन् ।

यस्तै सरकारले गुल्मीलाई ‘सुन्तला जोन’ घोषणा गरेको छ । गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । राम्रो मौसम, अनुदान लगायतका कुराहरुको तालमेलले गर्दा २५ करोडभन्दा बढीको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । “उत्पादन भएको पूरै सुन्तला बजारमा आइपुगेको त छैन”, केन्द्रका निमित्त प्रमुख तनबहादुर रानाले भन्नुभयो, “पोहोर साल २६ करोडको सुन्तला उत्पादन भयो, यस वर्षको तथ्याङ्क छैन ।”

यस वर्ष पुस महिनाको अन्त्यतिर मात्रै तथ्याङ्क आउने उहाँले बताउनुभयो । उत्पादन भएको सुन्तलामध्ये ४० प्रतिशत जिल्लामै खपत हुने र बाँकी जिल्लाबाहिर निकासा हुने गरेको छ । गुल्मीमा कूल एक हजार २९७ हेक्टर क्षेत्रफल सुन्तला उत्पादनयोग्य छ जसमध्ये ६६० हेक्टरमा ९.८ मेट्रिक टन यस वर्ष सुन्तला उत्पादन भएको छ । त्यसलाई न्यूनतम प्रतिकिलो रु ४० का दरले जोड्दा पनि रु २५ करोड ८७ लाखको सुन्तला उत्पादन भएको केन्द्रले जनाएको छ । खुद्रा बजारमा भने सुन्तलाको भाउ भने प्रतिकिलो रु १२० सम्म रहेको छ ।

यता जिल्लाको मुसिकोट नगरपालिका–९ अर्लाङकोटमा ८० हेक्टर जमीन सुन्तला उत्पादन क्षेत्रमा पर्छ । तर त्यहाँ हाल ५० हेक्टरमा मात्र सुन्तला उत्पादन भएको छ । बाँकी ३० हेक्टर जमीनमा व्यावसायिक सुन्तला खेती गरिएको छैन । मुसिकोट नगरपालिका–८ वामीमा १५ हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ । जहाँ सम्भावित क्षेत्रफल ३० हेक्टर छ । रुरु गाउँपालिकाको बलेटक्सारमा ३० हेक्टर क्षेत्रफल जमीन सुन्तला उत्पादनका लागि योग्य छ । तर त्यहाँ जम्मा १० हेक्टरमा मात्र सुन्तला खेती गरिँदै आएको छ । छत्रकोट गाउँपालिकाको दिगाममा १२० हेक्टरमा सुन्तला उत्पादन गरिँदै आएको छ । जहाँ २४० हेक्टर सुन्तला खेतीका लागि सम्भावित क्षेत्रफल हो । सोही गाउँपालिकाकै हर्दिनेटामा २०० हेक्टर सुन्तला खेतीयोग्य जमीनमध्ये १६१ हेक्टर र हुँगामा ५० हेक्टर खेतीयोग्य जमीनमध्ये १५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ । गुल्मीदरबार गाउँपालिकाको गौडाकोटमा एक सय हेक्टर सम्भावित क्षेत्रफलमध्ये जम्मा ५० हेक्टरमा मात्र सुन्तला खेती गरिँदै आएको छ । गुल्मीदरबारको वीरबासमा ५० हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ । जहाँ ८५ हेक्टर सम्भावित क्षेत्रफल छ ।

त्यस्तै सोही गाउँपालिकाकै राजामा ६० हेक्टर सुन्तला खेतीयोग्य जमीनमध्ये ३० हेक्टरमा सुन्तला उत्पादन भइरहेको छ । धुर्कोट गाउँपालिका–६ धुर्कोट रजस्थलमा १४० हेक्टर जमीनमा सुन्तलाको व्यावसायिक खेती गरिएको छ । सोही गाउँपालिका–१ नयाँगाउँमा २२५ हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ । जहाँ सम्भावित क्षेत्रफल ३०० हेक्टर रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । सोही गाउँपालिका–२ पीपलधारामा १३८ हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ । जहाँ सम्भावित क्षेत्रफल २०० हेक्टर रहेको छ । वडा नं ३ हाडहाडेमा १२९ हेक्टरमा सुन्तला उत्पादन गरिएको छ । वडा नं ४ जैसिथोकमा सम्भावित क्षेत्रफल २० हेक्टरमध्ये १० हेक्टरमा मात्रै उत्पादन गरिँदै आएको छ ।

मदाने गाउँपालिकाको भनभनेमा कूल ४० हेक्टर जमीन सुन्तला खेतीका लागि योग्य छ । तर त्यहाँ ३० हेक्टरमा मात्रै उत्पादन गरिँदै आएको छ । सोही गाउँपालिकाको पुर्कोट दहमा ३० हेक्टर सुन्तला खेतीयोग्य जमीनमध्ये जम्मा १० हेक्टरमा मात्र खेती गरिएको छ । कालीगण्डकी गाउँपालिकाको भुर्तङ्गमा कूल ३५ हेक्टर जमीन सुन्तला खेतीयोग्य छ । तर त्यसमध्ये जम्मा १० हेक्टरमा मात्र सुन्तला लगाइएको छ । सोही गाउँपालिकाकै जयखानीमा १०० हेक्टर सुन्तला खेतीयोग्य जमीनमध्ये ७० हेक्टरमा मात्र लगाइएको छ । चन्द्रकोट गाउँपालिकाको हरेवामा ८५ हेक्टर सुन्तला खेतीयोग्य जमीनमध्ये ४० हेक्टरमा मात्र लगाइएको छ ।