४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

मतदाता शिक्षालाई कसरी प्रभावकारी बनाउने ?

मतदाता शिक्षालाई कसरी प्रभावकारी बनाउने ?
अ+ अ-

प्रजातन्त्र या लोकतन्त्रमा जनताले छानेका व्यक्तिहरूले मात्र जनतामाथि शासन गर्न पाउँछन् या आधिकारिकरूपमा सेवा गर्न पाउँछन् भन्ने मान्यता छ । यो नयाँ नभएर धेरै पहिलेदेखिको मान्यता हो र आज पनि त्यो मान्यताका आधारमा जनताका प्रतिनिधि चयन गर्ने अथवा छान्ने प्रक्रियालाई निर्वाचन भनिन्छ । निर्वाचनका लागि मतदान गरिन्छ र मतदान प्रत्यक्षरूपमा या अप्रत्यक्षरूपमा गर्न सकिन्छ ।

सामान्यतया केही शताब्दीदेखि मतदान गोप्यरूपमा गरिन्छ र आफ्ना देशका निर्वाचनसम्बन्धी ऐन नियमअनुसार निर्वाचित हुने तरिकाका आधारमा जय पराजय घोषणा गरिन्छ । खासगरी प्रत्यक्षरूपमा जनताले दिएको मतले जित्ने चलनलाई बढी मत ल्याउनेले जित्ने भनिन्छ र यसरी मतदिने व्यक्ति या नागरिकलाई मतदाता भनिन्छ, मतदाताले मत दिने साधनलाई मतपत्र भनिन्छ र त्यसरी मत दिनका लागि जुन ठाउँको चयन गरिन्छ, त्यस ठाउँलाई मतदान केन्द्र भनिन्छ । यसमा कस्ता नागरिकले मत दिन पाउने भन्ने कुरा सम्बन्धित लोकतन्त्रका लागि तयार गरिएको निर्वाचनसम्बन्धी ऐन, नियम, विनियमले तय गरिन्छ ।

नेपालको संविधानले मतदातालाई प्रजातन्त्रको आत्मासरह मानेको छ र १८ वर्ष पुगेको नेपाली नागरिकले आफ्नो नाम तोकेको अवधिमा मतदाताको रूपमा लेखाएर मतदान सुरक्षित गर्नुपर्छ । अहिलेको प्रसङ्ग हो समयावधि पहिले नै अन्तरिम सरकारले अचानक घोषित गरेको आम निर्वाचन २०८२, जुन यही फागुन २१ गते हुन लागेको छ । सरकारले निर्वाचनको सम्पूर्ण तयारी भइसकेको जनाएको छ । करिब १ करोड ८९ लाखभन्दा बढी मतदाता रहेको यस निर्वाचनमा करिब नौ लाख मतदाता नयाँ दर्ता भएका छन् । ती मतदाता सबै निकट समयमा हुनलागेको आम निर्वाचनका लागि तयार भइसकेका छन् र युवाहरूमा नयाँ निर्वाचनमा ठूलो अपेक्षा पनि देखिएको छ ।

अहिले फागुन ४ गतेदेखि १७ गतेसम्म निर्वाचन आयोगले सम्पूर्ण पालिकाहरूका वडाहरूमा मतदाता शिक्षा यसरी सुरु गरेको छ कि यसपटकको निर्वाचनमा बदर मत अत्यन्तै नगण्य होस् या हुँदै नहोस् भन्ने लक्ष्य राखिएको छ । यसका लागि आयोग आफैँले मतदान विज्ञहरूको स्वयंसेवक टोली तयार गरेर घरघरमा पठाएको देखिन्छ । त्यसो त करिब दुई करोड मतदाता जनसङ्ख्यामा सबैतिर पुग्न गाह्रो त होला तर पनि भएको सुरुवातलाई सकारात्मक मान्नुपर्छ किनभने यो निर्वाचन अचानक हुन लागेको हो र पनि निर्वाचनको तयारी राम्रोसँग भएको पाइन्छ । जनतामा यो निर्वाचनबाट मुलुकको नयाँ भविष्यप्रति अपेक्षा धेरै राखेको पनि पाइन्छ । खासमा सुशासन, भ्रष्टाचारमुक्त समाज, निष्पक्ष निजामती प्रशासन तथा सन्तुलित विकासको धारणा नै अहिलेको निर्वाचनले चुनेका सांसदहरूबाट आशा गर्न सकिन्छ । नीति नै ठूलो कुरा हो र राजनीति शुद्ध भए सबै कुराको नीति सङ्लिन्छ भन्ने मान्यता छ ।

त्यसैले लोकतान्त्रिक निर्वाचनमा मतदाता शिक्षा अत्यन्त आवश्यक हुन्छ । किनभने यसले मतदातालाई आफ्नो अधिकार, कर्तव्य र मतदान प्रक्रियाबारे सही जानकारी दिन्छ । शिक्षित मतदाताले उम्मेदवारको योग्यता, नीति र कार्यक्रमका आधारमा सोचेर मत दिन सक्छन्, जसले योग्य नेतृत्व चयन गर्न मद्दत गर्छ । यथोचित मतदाता शिक्षा नभएमा झुठा प्रचार, लोभ–लालच, जातीय वा क्षेत्रीय प्रभावमा परेर गलत निर्णय हुन सक्छ भन्ने मान्यता छ । यसले मत बदर हुने सम्भावना पनि घटाउँछ र सबै नागरिकलाई निर्भय र स्वतन्त्र रूपमा मतदान गर्न प्रेरित गर्छ । त्यसैले मतदाता शिक्षा लोकतन्त्रलाई बलियो, पारदर्शी र प्रभावकारी बनाउन आवश्यक हुन्छ ।

मतदाता शिक्षामा ध्यान दिनुपर्ने कुराहरू

मतदातालाई मतदान सम्बन्धी शिक्षा दिँदा मतदानको अधिकार र कर्तव्यबारे जानकारी दिनुपर्दछ । यसका लागि पनि मतदाता शिक्षा आवश्यक परेको हो जसले मतदान गर्ने र यसको महत्व के हो भन्ने स्पष्ट गराउँछ । मतदान गर्ने तरिका सिकाउनु जरुरी हुन्छ किनभने विभिन्न तरिकाका मतपत्र कसरी सही तरिकाले प्रयोग गर्न सिकाउने जसले गर्दा मत बदर नहोस् । त्यसैगरी उम्मेदवार छनोटको आधार जस्तो कि जात, धर्म, पैसा वा लोभमा नभई योग्यता, नीति र कार्यक्रम हेरेर मतदान गर्न प्रेरित गर्ने शिक्षा प्रदान गर्नुपर्दछ ।

निर्भय र स्वतन्त्र मतदानका लागि कसैको दबाब, धम्की वा प्रलोभनबाट टाढा रहन सिकाउनुपर्दछ । निर्वाचन आचारसंहिताका बारेमा कुरा गर्दा निर्वाचनमा मतदाताहरूका लागि पनि आचार संहिता तयार गरिएको हुन्छ । त्यसो त मतदाताले उम्मेदवारहरूका बारेमा पनि आचार संहिता थाहा पाउनु जरुरी हुन्छ जसले गर्दा निर्वाचन या चुनावका नियम र कानुनी व्यवस्थाबारे जानकारी होस् ।

मतदातामा निर्वाचनसम्बन्धी सही सूचना र गलत प्रचार छुट्याउने क्षमता वृद्धि गरी अफवाह र भ्रामक समाचारबाट सचेत गराउने किसिमको ज्ञान पनि मतदाता शिक्षामा नै पर्दछ । गलत सूचना, मिथ्या सूचना, भ्रामक सूचनाबाट मतदातालाई सचेत गराउन पनि मतदाता शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । समावेशी सहभागिताको मान्यता बमोजिम ज्येष्ठ नागरिक पुरुष या महिला, अपांगता भएका व्यक्ति, युवा, प्रौढ, अक्षर नचिन्ने दुर्गम क्षेत्रका नागरिक सबैलाई पहुँच हुने गरी शिक्षा दिनुपर्दछ । अक्षर चिन्न गाह्रो हुने भएकाले निर्वाचनमा चिन्हको प्रयोग गरिएको हो भनेर मतदाता शिक्षामा स्पष्ट हुनुपर्दछ ।

आफ्नो नाम मतदाता सूचीमा छ कि छैन भन्नेबारे सचेत गराउनका लागि मतदाता नामावली जाँच पनि मतदाता शिक्षामा आवश्यक पर्दछ । अहिले हातमा भएको मोबाइलबाट पनि सम्बन्धित तर सम्भावित मतदाताको नाम हेर्न मिल्ने र उसको मतदाता क्रमसङ्ख्या समेत दिन मिल्ने भएकाले मतदान स्थल, मतदान समय, आफूलाई मनमर्ने दल या व्यक्तिको चिन्हसमेत भएको नमुना मतपत्र देखाएर मत दिनका लागि उत्प्रेरित गर्ने गर्नुपर्दछ ।

सही तरिकाले मतदान गर्न र नक्कली मतदान घटाउने उपायहरू पनि मतदाता शिक्षामा नै अवलम्बन गरिनु पर्छ जसले गर्दा जसले मत दिन पाउने हो उसले मात्र मतको सदुपयोग गरुन् र जसले पाउनै पर्ने हो उसले मात्र मत पाओस् भन्ने कुरामा मतदाता शिक्षामा ध्यान दिनैपर्छ । जस्तो कि मतदाता परिचयपत्र अनिवार्य गर्ने या सही मतदाताले मात्र मतदान गरोस् भन्ने कुरामा सचेत गराउने, जैविक पहिचान (फोटो, औंठाछाप आदि) प्रयोग गर्ने, मतदाता नामावली अद्यावधिक र शुद्ध राख्ने, मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्था गर्ने, मतदान अधिकृत र स्वयंसेवकलाई राम्रो तालिम दिने, नक्कली मतदान गरे कानुनी कारबाही हुने चेतना फैलाउने, मतदातालाई आफ्नो मत आफैँ हाल्नुपर्नेबारे सचेत गराउने, प्रविधिको प्रयोग बढाउने र मतदाताले आफूले मात्र होइन अरुले पनि गलत काम नगरोस् भन्ने कुरामा सचेत रहनका लागि मतदाता शिक्षामा सिकाउनु पर्छ ।

यसरी सही मतदाता शिक्षा र सही व्यवस्थापनबाट निष्पक्ष र विश्वसनीय निर्वाचन सम्भव हुन्छ । मतदाता शिक्षाको अर्थ हो मतदान गर्नु नागरिक अधिकार र कर्तव्य दुवै हो भन्ने सम्झाउनु । मतदानले गर्ने निर्णयले मुलुकको भाग्य बदल्न सकिन्छ । असल जनप्रतिनिधिले मात्र जनताको मतको कदर गर्नसक्छ किनभने उसले मात्र जनताको भावनाको कदर गरेर जनमतको सम्मान गर्नसक्छ । प्रजातन्त्रमा त्यस्तो मतदाताले मात्र प्रजातन्त्रको मर्म बुझेको ठहरिन्छ ।

असल उम्मेदवार भनेको समूहगत रूपमा या व्यक्तिगत मान्यताका आधारमा पनि छुट्याउन सकिन्छ । प्रजातन्त्रमा समूहगत मान्यतालाई मतदाताले मान्यता दिने भएकाले वहुलवादी व्यवस्थामा मात्र प्रजातन्त्र फस्टाउँछ भन्ने मान्यता संसारभरि छ । त्यसैले मतदान गर्दा बदर मत घटाउनका लागि केही उपायहरू अपनाउन सकिन्छ ।

बदर मत घटाउन अवलम्बन गर्न सकिने उपायहरू

बदर मतको सङ्ख्या घटाउनका लागि मतदान गर्ने तरिकाबारे स्पष्ट शिक्षा दिने र मतपत्रमा कहाँ र कसरी छाप लगाउने भन्ने कुरा पहिले नै अभ्यास गराउने गर्न सकिन्छ । नमुना मतपत्रको प्रयोग गरेर मतदान केन्द्र बाहिर नमुना मतपत्र राखेर सही तरिका देखाउने गर्न सकिन्छ ।

त्यसैगरी स्पष्ट र सजिलो मतपत्र डिजाइनमा चिन्ह, नाम र कोठा प्रष्ट देखिने बनाउने, मतदान अधिकृतबाट आवश्यक निर्देशन दिने, मतदान अघि सामान्य जानकारी दिने (तर कसलाई मत दिने भनेर नभन्ने) र हस्ताक्षर गरेरमात्र मतपत्र उपलब्ध गराउने, मतदातालाई पर्याप्त समय दिने र हतारमा मत हाल्दा गल्ती हुने भएकाले आरामसँग मतदान गर्ने वातावरण बनाउने काम गर्न सकिन्छ ।

त्यस्तै शिक्षा तथा सचेतना कार्यक्रम अन्तर्गत रेडियो, टिभी, सामाजिक सञ्जाल, विद्यालय आदि मार्फत सही मतदान विधि सिकाउने, अशिक्षित, वृद्ध तथा अपाङ्गता भएका मतदातालाई सहयोग गर्ने र कानुन अनुसार गोपनीयता कायम राख्दै सहयोग गर्ने व्यवस्था मिलाउने जसका लागि मतदान केन्द्रमा रहेका स्वयंसेवक तथा परिवारका सदस्यहरूलाई मतको सदुपयोग गर्न सचेत गराउँदै विश्वास गर्ने गर्न सकिन्छ ।

यसका साथै एक मतपत्रमा एक मात्र चिन्ह लगाउनुपर्छ भन्ने जानकारी दिने र धेरै ठाउँमा छाप लगाए बदर हुन्छ भन्ने कुरा स्पष्टसँग बुझाउने, यी उपायहरूले मतदाताका गल्तीहरूमा कमी आई बदर मत घट्छ र निर्वाचन परिणाम अझ सही र प्रभावकारी हुन्छ ।

मतदाता शिक्षा दिने स्वयंसेवक निष्पक्ष र उत्तरदायी व्यक्ति हुनु अनिवार्य छ । खासगरी सहर या गाउँ जहाँ भएपनि मतदाताले कसलाई मत दिने हो भन्ने बुझ्न खोज्छन्, त्यस्ता मतदाताहरूलाई स्पष्टरूपमा मतदाता शिक्षा प्रदान गर्ने नागरिक समाजका व्यक्ति हुन् या स्वयंसेवकहरू हुन्, तिनले सही सल्लाह दिनुपर्छ । तर दलीय कार्यकर्ताहरूले दिने मतदाता शिक्षामा भने आफ्नो दलको चिन्हमा मत दिन आग्रहसाथ शिक्षा दिएका पनि हुन सक्छन् । हुनत त्यसलाई पनि सचेतनाको तरिकाले बुझ्नुपर्छ र सकेसम्म मतदातालाई पक्ष या विपक्षमा भन्दा सही व्यक्ति छान्ने प्रक्रियाका बारेमा जानकारी दिनु नै मतदाता शिक्षाको प्रभावकारी उपादेयता हुनेछ ।