२५ भाद्र २०८३, बिहीबार
,
Latest
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसपार्कको निर्माण तीव्रगतिमा



अ+ अ-

बागलुङ । बागलुङ बसपार्कको निर्माण कार्य तीव्रगतिमा भइरहेको छ ।

ठेक्का सम्झौताअनुसार सरासर काम भएमा आउँदो वैशाखभित्रै बागलुङ बसपार्क बनिसक्नुपर्छ । अहिलेसम्म निर्माणको भौतिक प्रगति ५० प्रतिशत नाघेको छ ।

बागलुङ नगरपालिका–४ उपल्लाचौरमा निर्माणाधीन बसपार्कका लागि विसं २०५८ देखि जग्गाको जोहो गर्न थालिएको थियो । बसपार्क बन्ने आशमा झण्डै रु एक अर्ब पर्ने १७ रोपनी जग्गा स्थानीयवासीले निःशुल्क उपलब्ध गराएका थिए । जग्गा व्यवस्थापन भए पनि बसपार्क निर्माणको योजना अलपत्र थियो ।

बागलुङ नगरपालिकाले विसं २०७४ फागुनमा नगर विकास कोषसँग ऋण सम्झौता गरेपछि बसपार्क बन्ने निश्चित भएको थियो । विसं २०७५ कात्तिकमा ठेक्का टुङ्गाएपछि गएको फागुन १५ गतेदेखि ‘आशिष फेवा जेभी’ले निर्माणको काम थालेको हो । तत्कालीन शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बसपार्कको शिलान्यास गर्नुभएको थियो ।

बसपार्कको मुख्य संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको बागलुङ नगरपालिकाका इञ्जिनीयर मनोज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ‘टर्मिनल’ भवनसहित बसपार्कको मैदान चौडा बनाउने काम सकिएको छ । व्यावसायिक भवन निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ ।

“आउँदो वैशाख मसान्तभित्रै निर्माण सक्ने लक्ष्यसहित धमाधम काम भइरहेको छ”, इञ्जिनीयर शर्माले भन्नुभयो । ‘टर्मिनल’, व्यावसायिक भवनसँगै ३५ मिटर चौडा र ९८ मिटर लम्बाइ भएको ‘पार्किङ’स्थल, सवारी मर्मत केन्द्र, फोहर सङ्कलन केन्द्र, भूमिगत ट्याक्सी ‘पार्किङ’, बगैँचालगायतका संरचना बसपार्कभित्र बन्नेछन् ।

बसपार्कको शुरुको ‘डिजाइन’मा केही फेरबदल हुँदा गत असारदेखि भदौसम्म निर्माण कार्य प्रभावित भएको थियो । बसपार्क निर्माणमा अब ढिलाइ नहुने निर्माण कम्पनीले जनाएको छ । “बसपार्कको ५० प्रतिशत काम पूरा भएको छ, तोकिएकै समयभित्र निर्माण सकिन्छ”, निर्माण कम्पनीका इञ्जिनीयर प्रकाश तिमिल्सिनाले भन्नुभयो ।

पुनः नक्साङ्कनसहित प्राविधिक पक्ष हेरफेर गर्दा बसपार्कको लागत रु एक करोड १३ लाख थपिएको छ । ठेक्का हुँदा निर्माण कम्पनीले रु सात करोड ६६ लाख ९९ हजारमा बसपार्क निर्माणको जिम्मा पाएको थियो । ‘डिजाइन’ परिवर्तनसँगै लागत बढेर रु आठ करोड ७९ लाख ९९ हजार पुगेको छ । जसमध्ये नगर विकास कोषको ऋण लगानी ९० प्रतिशत, नेपाल सरकारको सात र बागलुङ नगरपालिकाको साढे दुई प्रतिशत लगानी छ । वार्षिक पाँच दशमलव पाँच प्रतिशत ब्जाजदरमा २० वर्षभित्र तिर्ने गरी नगरपालिकाले कोषसँग ऋण सम्झौता गरेको थियो । उक्त ऋणको रकम बसपार्कमा आउजाउ गर्ने सवारी साधनबाट उठेको पैसाबाट तिर्ने लक्ष्य छ ।

अब पनि बसपार्क निर्माणमा ढिलासुस्ती भए जग्गादातामाथि ठूलो अन्याय हुने जग्गा व्यवस्थापन तथा विकास समितिका अध्यक्ष सुभाषचन्द्र राजभण्डारीले बताउनुभयो । समितिको नाममा रहेको स्थानीयवासीको ५९ रोपनी जग्गामध्ये १७ रोपनी जग्गा विसं २०७१ मा बसपार्क बनाउन नगरपालिकालाई दिइएको थियो । तीमध्ये ५० प्रतिशत भने जग्गाधनीले फिर्ता पाउने छन् । ५० प्रतिशतमध्ये नगरपालिकालाई दिएर बचेको १२ रोपनीमा बस्ती नक्साङ्कन, बाटो, ढल, नाली, पानी, बिजुलीजस्ता पूर्वाधार निर्माण गरिनेछ । बसपार्कका लागि १८ वर्षदेखि जग्गा बाँझै छाडेका स्थानीयवासीले जग्गा फिर्ताको माग गरेका छन् ।

नगरप्रमुख जनकराज पौडेलले प्राविधिक समूहबाट अध्ययन गराई तत्काल जग्गादाताको समस्या समाधान गरिने बताउनुभयो । व्यवस्थित र सुविधायुक्त बसपार्क निर्माण गर्ने वर्षौंदेखिको योजना साकार हुन लागेको उहाँको भनाइ छ ।
“बागलुङ विकासको प्रमुख पूर्वाधार बसपार्क हो । त्यसैले समयमै पूरा गर्न आफैं लागिपरेका छौं” उहाँले भन्नुभयो, “ठेकेदारलाई दैनिक भेटेरै काम सक्न निर्देशन दिइरहेका छौं । पहिलेभन्दा तीव्र रूपले काम भइरहेको छ ।”

अहिले बागलुङ नगरपालिका–३ चिप्पलेटीमा अव्यवस्थित रुपमा अस्थायी बसपार्क सञ्चालित छ ।