२५ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन्



अ+ अ-

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिप्रति माफी माग्नुभएको छ ।

बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै मन्त्री गौतमले माफी माग्नुभएको हो । उहाँले जेनजी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएका कारण कानून निर्माणमा समस्या भइरहेको आशयको अभिव्यक्ति दिनुभएको थियो । उक्त अभिव्यक्तिको संसदीय समितिदेखि राष्ट्रिय सभाको बैठकसम्म आलोचना भएको थियो ।

स्पष्टीकरणका क्रममा मन्त्री गौतमले आफूले राष्ट्रिय सभाले कानून निर्माणमा असहयोग गरेको भनेर अभिव्यक्ति नदिएको स्पष्ट पार्नुभयो । उहाँले कानून निर्माण प्रक्रिया प्रतिनिधिसभाको बहुमतले मात्रै पूरा नहुने भन्दै प्रतिनिधिसभा, राष्ट्रिय सभा हुँदै राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै कानून बन्ने संवैधानिक प्रक्रियाबारे आफूले धारणा राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले तथ्यभन्दा बाहिर गएर कुनै पनि यस्तो कुरा भनेको छैन, जसले यहाँहरूको भावनामा चोट पुगोस् । मैले भनेको कुरा के थियो भने प्रतिनिधिसभामा दुई तिहाइ छ । कानून निर्माण प्रक्रिया प्रतिनिधिसभाको बहुमतले मात्रै पूर्ण हुँदैन । कानून निर्माण प्रक्रिया प्रतिनिधिसभा, राष्ट्रिय सभा हुँदै राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि कानून निर्माण हुन्छ । यो जटिल प्रक्रिया छ ।’

मन्त्री गौतमले आफू राजनीतिक व्यक्ति भएकाले आफ्नो अभिव्यक्तिलाई समाचार तथा सामाजिक सञ्जालमा विभिन्न कोणबाट व्याख्या गरिएको बताउनुभयो । आफूले राष्ट्रिय सभाले असहयोग गरेको भन्ने भाषा वा शब्द प्रयोग नगरेको उहाँको जिकिर थियो ।

कानून निर्माणको जटिल प्रक्रियालाई राजनीतिक कोणबाट व्याख्या गरिँदा आफ्नो भनाइको आशय फरक रूपमा बुझिएको भन्दै उहाँले असन्तुष्टिसमेत व्यक्त गर्नुभयो ।

मन्त्री गौतमले प्रतिनिधिसभा र राष्ट्रिय सभाबीचको समन्वय तथा सहकार्यलाई अझ प्रभावकारी बनाउन आफूहरू प्रतिबद्ध रहेको बताउँदै आफ्नो अभिव्यक्तिबाट राष्ट्रिय सभाका सदस्यहरूको भावनामा चोट पुगेको भए क्षमा माग्नुभएको हो।