१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरुबारीमा रिजर्भ ट्याँकी र पाइप बिछ्याउने काम समयमै सकिन्छ : इन्जिनियर थापा



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयले किलोमिटर पाइप लाइन र भारतीय कन्स्ट्रक्सन कम्पनी सिआईपिएलको ज्वाइन्ट भेन्चरलाई २५० किमि पाइप लाइन र ओभरहेड ट्याँकी निर्माणको काम जिम्मा लाएको करिब ९ महिना बितेको छ । कामको जिम्मा लिएर शुरुआत नै नगरेको उक्त कम्पनीलाई आयोजनाले काम शुरुआत गर्न लगाएको बताएको छ । प्राविधिक पक्ष र ठेक्का सम्बन्धमा कुनै समस्या नभएको तर बीचमा सामाजिक र आर्थिक समस्या नआएमा समयमै काम सम्पन्न हुने आयोजना प्रमुख ई. भोजबिक्रम थापाले बताए ।

कामको ठेक्का पाएको उक्त जेभीले ८ महिनासम्म कामको थालनी नै नगरेपछि समयमा सम्पन्न हुने कुरामा शंका थियो । थापाले भने पटक पटक छलफलमा डाकेर काम अगाडि बढाउन लगाइएको छ । आरुबारीमा रिजर्भ ट्याँकी खन्ने काम शुरु भएको छ, भारतबाट पाइप ल्याउने र कार्यक्षेत्रमा सम्पर्क कार्यालय खोल्ने काम भएको छ, उनले बताए । यही जनवरी २० तारिखबाट काम शुरु गर्ने प्रतिबद्धता कन्ट्राक्टरले जनाएको छ । दैनिक पानी दिनका लागि आरुबारीका बासिन्दालाई ओभरहेड ट्याँक तत्काल निर्माण गर्न आवश्यक छ, सो ठाउँ उचाईमा पर्दछ ।

कामै शुरु नगरेपछि कार्यालयमा बोलाएर केरकार गर्दा बाँकी समयमा काम सक्छु भन्ने २२ महिनाको कार्ययोजना पेश गरेको, पाइप ल्याउन भारतीय उद्योगमा गएको फोटो र एलसी खोलेको कागजात देखाएपछि आयोजनाले काम गर्न सक्नेमा विश्वास गरेको ई. थापाले बताए । ई. थापाले हनुमन्ते र मनोहरा खोला किनारमा स्थानीय र प्रदेश सरकारबाट काम गर्ने वातावरण नबनेकाले काममा अप्ठ्यारो परेको समेत बताए । जबसम्म खानेपानी र सरसफाईलाई अत्यावश्यक श्रेणीमा राखेर कानुन बनाइँदैन त्यसबेलासम्म यो क्षेत्रमा अपेक्षा गरे अनुसार प्रगति हुन सक्दैन, ई. थापाको भनाई छ ।

शैलुङ जेभीका प्रोजेक्ट म्यानेजर ईन्जिनियर राजेन्द्र महर्जनले सन् २०१९ मार्च २७ मा ३० महिनामा काम सक्ने भनी आयोजनासँग सम्झौता भएको र सन् २०२० को जनवरी २० देखि कामले गति लिने बताए । उनले यो बीचमा पाइप उत्पादन र त्यसलाई स्वीकृत गराउने, आयोजनाको पुनः डिजाइन गर्ने र स्वीकृत गर्ने, पाइप बिछ्याउने ठाउँ खन्ने लगायतका परियोजनाको शुरुआतको पूर्वाधारका काम गत असारदेखि नै भइरहेको जानकारी दिए । परियोजनाका परामर्शदाताको निगरानीमा काम हुने, १६७ किमि पाइप बिछ्याउने र आरुबारीमा निर्माण हुने १२७० हजार लिटरको ओभरहेड ट्याँकी निर्माणको कामलाई समयमै सम्पन्न गर्ने उद्देश्यका साथ काम भइरहेको इन्जिनियर महर्जनले बताए ।