२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता

घरको छानो फेरिने कहिले हो ?…

घरको छानो फेरिने कहिले हो ?…
अ अ+ अ-

फुङ्लिङ । एउटा गोठ जस्तो आधा भाग मात्र भएको घर । घरको छानोपट्टिको भाग छैन । ढुङ्गाका गारो पनि हार नमिलेको मकैको दाना जस्तै । आधा भाग मात्र भए पनि पालले छोपिएको छ । घरको सिकुवामा कुकुर छ । घर चुहिन थालेसँगै मान्छेले घर छाड्यो तर कुकुर भने त्यहीँ छ ।  

ताप्लेजुङ, फक्ताङ्लुङ गाउँपालिका—४ खानी गाउँका पूर्णबहादुर तामाङको त्यो घर पनि गत वर्ष बर्खे झरीले भत्काएको थियो । उहाँ अहिले अरूको बनाएका घरमा शरण लिएर बस्नुभएको छ । छयहत्तर वर्षीय पूर्णका धेरै वर्ष फेरिए,  कपाल सेताम्य भयो तर अहिलेसम्म घरको छानो फेरिएको छैन । अर्थाभावका कारण उहाँले अहिलेसम्म खरको छानो फेर्न सक्नुभएको छैन । 

उहाँ पुर्खाका पालादेखि नै खरले छाएको घरमा बस्दैआउनुभएको हो । दश वर्ष अगाडि खानी गाउँमा सबै एक प्रकारको घर थियो – खरले छाएको । विस्तारै केही पैसा हुनेले घरको छाना फेर्दै गए । केही विपन्न परिवारको भने अहिले पनि उस्तै छ । 

अरुको घरको छानो हेर्दै मन अमिलो बनाएर बस्नुपर्ने तामाङले सुनाउनुभयो । उहाँले भन्नुभयो, “सबै टिनले छाएको घरमा बस्दा आफू खरले छाएको र त्यसमा पनि झरी पर्दा चुहिने घरमा बस्नुपर्दा आफ्नै भाग्यलाई दोष दिन्छु ।” 

सोही गाउँकी सुनमाया तामाङको पनि व्यथा उस्तै छ । उहाँको आफ्नै आँखाले छिमेकीको घर छाउन नसकेर ढलेको देखेको छ । आफ्नो पनि घर भत्किएला कि भन्ने चिन्ताले उहाँलाई घरिघरि पोलिरहन्छ ।

अहिले गाउँघरमा अन्नबाली घर भित्र्यासकिएको छ । फुर्सदिलो यस समयमा गाउँघरमा घर बनाउन तथा  छानो छाउन खर जुटाउने र छाउने समय हो । गत वर्ष नै स्थानीय तहहरूबाट खरको छानामुक्त बनाइदिने भनी प्राविधिक आएर घरको चार कुना नापजाँच गरेका थिए । सुनमायाको घरको छानो गत वर्ष नै छाउनुपर्ने थियो । उहाँले घर छाउनका लागि खर काट्न तयारी गर्दागर्दै स्थानीय तहबाट प्राविधिक आएर चार कुन नापजाँच गर्नुभयो । खरले छाएका घरमा जस्ताको पाता दिइने भएपछि उहाँको खुशीको सीमा नै रहेन ।  त्यो खुशी धेरै समय रहेन । गत वर्ष नै नापजाँच गरिए पनि  अहिलेसम्म जस्ताको पाता नपाउँदा उहाँमा निराशा छाएको छ । उहाँले भन्नुभयो, “गाउँपालिकादेखि आएका  प्राविधिकले अर्को चरणमा आउँछ भनेपछि आशा गरेर बसेका छौँ । दिने नदिने थाहा छैन । नदिने भए खर जुटाएर भए पनि छाना छाउनैप¥यो । चुहिने घरमा त बस्न सकिन्न ।”

सिदिङ्वा गाउँपालिका—४ साब्लाखु निवासी खोमनाथ खड्काका मुहारमा पनि आजभोलि खुशीका रेखा देखिन छाडेको छ । जाडो मौसम सुरु भएको छ । घरको छाना मक्किएर झरिसक्यो । छानो उदाङ्गो हुँदै छ । अझ हावाहुरीको समय आउँदै छ । त्यसैको पिरले खड्कामा खुशी हराउँदै गएको छ । गत वर्ष नै जस्ताको पाता दिने भनेर घर नापजाँच गरिए पनि दुई वर्ष बित्न लाग्दा अहिलेसम्म जस्ताको पाता नपाउँदा आफूलाई दुःख लागेको उहाँले सुनाउनुभयो । 

पूर्णबहादुर, सुनमाया र खोमनाथ मात्र नभई जिल्लाका एक हजार ८७४ घरपरिवारको व्यथा उस्तै छ । अर्थाभावका कारण खरको छानामुनि बस्न बाध्य भएका एक हजार ८७४ परिवारको घरका छाना छाउन सहरी विकास तथा भवन निर्माण विभागको नयाँ जस्तापाताको छाना लगाउने कार्यक्रममार्फत गत वर्ष नै नापचाँच गरिएको छ । त्यसैको आसमा बसेका परिवार अहिले दोधारमा छन् ।जस्तापाता पाइएला भनी बसेका उनीहरूमा निक्कै छट्पटीसमेत सिर्जना भएको छ । खर काटेर घरको छानो छाउन थालौं भने घर नापजाँच गरिएकाले जस्तापाता पाइहालिन्छ कि भन्ने आशा पनि तिनलाई छ । 

दुई हजार घर खरको छानोमुक्त

गत वर्ष पुस्तौँदेखि खरको छाना लगाउँदै आएका एक हजार ८१८ घरको छाना फेरिएको छ । सहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा  स्थानीय तहले स्थानीय तहले ताप्लेजुङलाई खरको छानामुक्त जिल्ला बनाउने अभियान सुरु  गरेका हुन् । विभाग र स्थानीय तहहरूको सहजीकरणमा पुस्ताँैदेखि खरको छानामुनि बसेका अतिविपन्न परिवारलाई खरको छाना फेरिदिएपछि गरिबका लागि लागि पनि सरकार रहेछ भन्ने अनुभूति भएको फक्ताङ्लुङ गाउँपालिका—६ का सन्तकुमार फेम्बुले बताउनुभयो । 

यस्तै गत आर्थिक वर्ष फक्ताङ्लुङ गाउँपालिकामा बसोबास गर्ने २४५  विपन्न परिवारको खरको छाना हटाएर जस्ताको छाना लगाइएको फक्ताङलुङ गाउँपालिकाका सूचना अधिकारी जयप्रकाश रिजालले जानकारी दिनभयो । खरको छाना प्रतिस्थापन कार्यक्रमका लागि सहरी विभागबाट गत आव विनियोजित रु  एक करोड २२ लाख ५० हजार बजेट खर्च भएको फक्ताङलुुङ गाउँपालिकाले जनाएको छ । खरको छाना प्रतिस्थापन कार्यक्रमका लागि जस्तापाता खरिद गर्न प्रतिघरपरिवार रु ५० हजारका उपलब्ध गराइएको थियो । त्यस्तै आठराई त्रिवेणीमा रु एक करोड ६० लाख ५० हजार बजेटले २१३ घरपरिवारको खरको छाना प्रतिस्थापन गरिएको छ । खरको छानामुक्त गाउँपालिका बनाउनेकार्यक्रमअन्तर्गत गाउँपालिकाले पनि गत आव रु  ७० लाख बजेट थपेको थियो ।

मैवाखोला गाउँपालिकामा पनि रु ८७ लाख बजेटमा १७४ घरपरिवारले आफ्ना घरमा जस्तापाता छाएका थिए । फुङ्लिङ नगरपालिकामा रु ९५ लाख विनियोजित रकमबाट  विपन्न १७४ परिवारले छानामा जस्तापाता फेरेका छन् । सिरिजङ्घा गाउँपालिकामा रु ८३ लाख ५० हजारबाट १६७ घरपरिवारले तथा सिदिङ्वा गाउँपालिकामा रु एक करोड ४५ हजार बजेटबाट २९० घरपरिवारले जस्ताको पाता लगाएका छन् । पाथीभरा याङ्वरक गाउँपालिकामा रु एक करोड बजेटमा  पुस्तौदेखि खरको छानामुनि बस्दै आएका २०० घरपरिवारले जस्ताको छाना लगाएका छन् । मेरिङ्देन गाउँपालिकामा भने रु ९४ लाख बजेटबाट १८८ घरपरिवारको घरको छाना फेरिएको छ  । ती स्थानीय तहमा अझै पनि धेरै खरको छानामुनि बस्दै आएका विपन्न परिवार छन् । सम्बन्धित स्थानीय तहले खरको छाना भएका बासिन्दालाई जस्तापाता छाइदिने विषयमा कार्यपालिकाको बैठकबाट निर्णय हुँदै आएको जनाएका छन् । 

जस्तापाता लगाउन नसकी खरको छानामुनि बस्दै आएका निम्नवर्गका स्थानीय परिवारलाई लक्ष्य गरी जस्तापाताको छाना फेर्ने अभियान सुरु गर्न थालिएको स्थानीय तहले जनाएका छन् । खरको छाना हुँदा आगलागी हुने जोखिम पनि धेरै भएकाले स्थानीयवासीलाई सुरक्षित बसोबासमा सहयोग गर्नसमेत अभियानको थालनी गर्न सुरु गरिएको स्थानीय तह बताउँछन् । 

्सहरी विभागका अनुसार चालु आवमा पनि खरको छानामुक्त कार्यक्रम राखिएको छ । गत वर्ष नापजाँच गरेर पनि जस्ताको पाता नपाउने एक हजार ८७४ विपन्न घरपरिवारले आगामी असार अगाडि अर्थात् यसै आवभित्र जस्ताको पाता पाउने विभागका सूचना अधिकारी गणेश कर्माचार्यले  बताउनुभयो । जिल्लालाई घरको छानामुक्त बनाउनका लागि विभागले रु चार करोड ३१ लाख बजेट विनियोजन गरेको जनाइएको छ । 

विभागका अनुसार  फक्ताङलुङ गाउँपालिकामा २४५ विपन्न परिवारको खरको छाना विस्थापन गर्न रु ५६ लाख, मिक्वाखोलामा १४७ घरपरिवारका लागि रु ३४ लाख र  मेरिङ्देनमा १८८ घरका लागि रु ४३ लाख बजेट विनियोजन भएको छ । 

विभागका अनुसार मैवाखोलाका १७४ घरपरिवारका लागि रु ४७ लाख, आठराई त्रिवेणीका २१३ घरका लागि रु ४९ लाख, फुङ्लिङ नगरपालिकाका १९० घरपरिवारका लागि रु ४४ लाख विनियोजन भएको छ । त्यस्तै पाथीभरा याङ्वरकका २०० घरपरिवारलाई रु ५३ लाख, सिरिजङ्घाका २९० घरपरिवारका लागि रु ६७ लाख, सिदिङ्वाका १६७ घरपरिवारका लागि रु ३८ लाख विनियोजन भएको छ ।

विभागमार्फत दुई वर्षका अवधिमा जिल्लाका तीन हजार ६९२ विपन्न परिवारको पुस्तौँदेखिको खरको छाना विस्थापन गरी जस्तापाता छाउने कार्य हुने छ । 

आठराई त्रिवेणी गाउँपालिकाले आफ्नो पालिकाभित्र बसोबास गर्ने आर्थिक अवस्था कमजोर भएका परिवारका लागि आवास निर्माण गरिदिनका लागि गाउँपालिकाले रु एक करोड २० लाख बजेट विनियोजन गरेको आठराई त्रिवेणीका अध्यक्ष विश्वनाथ सिटौलाले बताउनुभयो । जग्गाविहीन र आर्थिक अवस्था कमजोर तथा विपन्न परिवारलाई जग्गा खरिद गर्न र घर बनाइदिनका लागि मैवाखोलाले पनि रु एक करोड ३० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङ्बाङले बताउनुभयो । यसरी विभाग र स्थानीय तहका पहलमा दुई वर्षभित्र ताप्लेजुङलाई खरको छानामुक्त जिल्ला बनाउने अभियान अघि बढेकामा जनता उत्साहित छन् । (रासस, दिलकुमार लिम्बू)