२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता

प्रचण्डको हातमा ट्याक्टरको स्टेरिङ थमाएपछि…

प्रचण्डको हातमा ट्याक्टरको स्टेरिङ थमाएपछि…
अ अ+ अ-

काठमाडौँ । नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड एउटा गाउँमा ट्याक्टरको स्टेरिङ घुमाउँदै हुनुहुन्छ । हो, कम्युनिष्ट नेताहरुको श्रमजीवी वर्गको प्रतिनिधिपात्र सरह देखिन्छ यो सिर्जना । त्यसैले स्वयं नेता प्रचण्डले पनि नकार्न सक्नुभएन, सिर्जनालाई राम्रो भन्नुभयो र एकैछिन भावुक बन्दै हेर्नुभयो ।

पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनस्थल प्रज्ञा भवनको एउटा कुनामा क्यान्भासमा सजिएको उक्त सिर्जनाले उहाँलाई मात्र होइन, त्यहाँ उपस्थित सबै कम्युनिष्ट नेतालाई एकपटक टक्क अढ्यायो । उनीहरुले पनि यो झलक प्रचण्डकै आँखाबाट हेरे र भने– क्रान्ति उद्योग तथा कृषिबाटै थाल्ने हो, त्यसैले यो कृतिले कम्युनिष्ट चरित्रको मुखाकृति भरिदिएको छ । यो सिर्जना मात्र नभएर सत्य हो, हामी नेपालीको वास्तविक धरातल यही हो । 

कलाकार केशवराज खनालले प्रचण्डलाई ड्राइभर बनाएर औद्योगिक क्रान्तिको विम्बात्मक कला सिर्जना गर्नुभएको छ । त्यही भवनमा हिजोदेखि समाजवादी क्रान्तिको बहस चलिरहेको छ, अनि यता कलाकार खनालले त्यस बहसका केन्द्रबिन्दु प्रचण्डका हातमा स्टेरिङ थमाइदिनुभएको छ । त्यो पनि ट्याक्टरको । यसको सङ्केत यो पनि हो कि उहाँले घुमाउने ट्याक्टरको स्टेरिङले यो हलको समाजवादी बहससँगै क्रान्तिको पनि नायकत्व प्रदान गर्न सकोस् । 

चालक प्रचण्डको सिर्जना मात्रै होइन समाजवादी दृष्टिकोणका सिर्जनाले यहाँको हल भरिएको छ । भित्र समाजवादी क्रान्तिको विचार मन्थन भइरहेको सन्दर्भ पारेर त्यसकै एउटा कुनामा क्रान्तिकारी कलाकारले समाजवादी क्रान्तिको सन्देश छरेका छन् । चित्र हेरेर उपस्थित नेता तथा कार्यकर्तालाई एकपटक झस्काइदिएका छन् कलाकारले । चित्रले सबैलाई एकपटक वर्गीय धरातलतर्फ फर्काइदिएको छ । 

आज चित्र प्रदर्शनीको अवलोकन गर्न पुग्नुभएका अध्यक्ष प्रचण्ड पनि त्यो देखेर दङ्ग पर्नुभयो । आफैँ ट्याक्टर ड्राइभर बनेको सिर्जनामा टक्क अडिएर अध्यक्ष प्रचण्डले भन्नुभयो, “राम्रो छ, राम्रो गर्नु भएछ, लक्ष्य समात्ने कलाकृति आएको छ ।” उहाँसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रवक्ता कृष्णबहादुर महरा, नेतृ पम्फा भुसाललगायत नेता कार्यकर्ताले चाख पूर्वसिर्जना अवलोकन गर्नुभयो । कलाकारले कुनै राजनीतिक पार्टीको महाधिवेशनमा चित्र सिर्जनामार्फत नौलो अभ्यासको थालनी गरी नेतालाई घच्घच्याउने प्रयासको सहभागीले सराहना गरेका छन् ।

प्रचण्डलाई चालक बनाइदिने चित्रकार खनाल भन्नुहुन्छ, “मुलुकमा समाजवादी क्रान्ति आवश्यक छ, क्रान्ति त्यतिकै सफल हुँदैन त्यसको आधार भनेको औद्योगिक क्रान्ति हो भनेर समाजवादी दृष्टिकोण पस्किएको हुँ ।” खनालले कृषि क्रान्ति र औद्योगिक क्रान्तिको विषय आफूले चित्रमार्फत उठाएको जानकारी दिनुभयो । हिमाल, पहाड, तराईमा क्रान्ति आवश्यक छ, विगतमा जनयुद्धको नेतृत्व गर्नुभएका अध्यक्ष दाहालले अब कृषि क्रान्तिको नेतृत्व पनि लिनुपर्छ भनेर चित्र सिर्जना गरेको खनालको भनाइ छ । मुलुकमा जति मानिस छन् श्रमसँग जोडिनुपर्छ, उनीहरुले उचित मूल्य पाउनुपर्छ भनेर प्रचण्डलाई साङ्केतिक रुपमा गाडी हाक्न लगाइएको हो । कृषि क्रान्तिको सवालमा अध्यक्ष दाहालको राजनीतिक दस्तावेज मै आइसकेको छ । उहाँले श्रमसँग जोड्ने कुरा राम्रो विषय उठान भएको प्रतिक्रिया दिनुभयो । “एक्सन कमरेड अध्यक्षबाटै हुनुपर्छ”, चित्र अवलोकनका क्रममा खनालले राखेको भनाइमा अध्यक्ष दाहालले भन्नुभयो, “अँ एकदम ।”

अर्का ८० वर्षीय अग्रज कलाकार जुलुमलाल चित्रकारले मुलुकको गरिबीको गम्भीर समस्या रङको माध्यमबाट देखाउनुभएको छ । सुत्केरी उतार्न समस्या छ, धान राख्ने घ्याम्पो खाली छ, बच्चाहरु भोकै छन्, मानिस मागेर गुजारा चलाउन विवस छन् । यस्तैयस्तै विषय जोडिएका चित्र चसक्क पार्ने खालको छ । “यसले हेर्ने वित्तिकै थाहा हुन्छ, मुलुकमा गम्भीर सामाजिक समस्या छ”, उहाँले थप्नुभयो, “कलामार्फत हामीले नेपाली समाजको रुपान्तरणको विषय उठान गर्न खोजेका छौँ ।”  सिर्जनामार्फत चित्रकारले मुलुकमा आमूल परिवर्तनको खाँचो औँल्याइदिएका छन् । ‘व्यवस्था परिवर्तन त भयो तर अवस्था उस्तै छ’, कलाकारका सिर्जनाले त्यही बोलिरहेको छ । 

कलाकार खेम विकेले कम्युनिष्टहरुले मुठ्ठी बाटेर गरिने लाल सलामको अर्थ प्रष्ट्याउने जमर्को गर्नुभएको छ । उहाँको चित्रमा मुठ्ठीको औचित्य के, भनेर कम्युनिष्ट जगघट भएको प्रज्ञा भवनमा गम्भीर प्रश्न छाड्नुभएको छ । “त्यो मुठ्ठीले सामान्तवादको जिव्रो समाउन सकोस् भन्ने सन्देश हो”, उहाँले चित्रको उद्देश्यबारे भन्नुभयो । चित्रकला प्रदर्शनीमा समाजवादको यात्रालाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । वित्तीय पुँजीवाद, औद्योगिक क्रान्ति, समानता र समृद्धिका चित्र प्रस्तु गरिएको छ । थाङ्का शैलीबाट जनवादी कलालाई कलाकार कमानसिंह लामाले चित्रमार्फ अभिव्यक्त गर्नुभएको छ ।

कलाकार तथा कला समीक्षक देवेन्द्र थुम्केलीको सिर्जनामा हिजोको दैनिक जीवन कसरी चलिरहेको छ भनी आरन चलाउने मजदुरको कथा उनिएको छ । थुम्केलीले वित्तीय पुँजीवादको विषयलाई सिर्जनामार्फत दृष्किोण प्रस्तुत गरेको बताउनुभयो । पुँजीपतिको हातमा स्रोत र साधान पुगेको कुरा चित्रमा देखाइएको छ । चिलले साना चरा खाए जस्तो गरेर बहुराष्ट्रिय कम्पनीको हातमा उत्पादन गएको कुरालाई जोड दिन खोजिएको बताउनुहुने थुम्केलीका यहाँ समाजवादी यात्राका ६ वटा चित्र प्रदर्शनीमा छ । 

यही ११ गतेबाट सुरु प्रदर्शनीमा आन्दोलन, गणतन्त्र, जनजीविका, श्रम, मजदुर, वित्तीय पुँजीवाद र त्यसको असर, कृषि तथा औद्योगिक क्रान्ति, सामाजिक न्याय र विभेदरहित समाजको परिकल्पना गरिएका कलाकृति छन् । कलाकारले देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिले नेपालको सार्वभौमसत्तामाथि लगाएको गिद्धेदृष्टिलाई कलात्मक रुपमा उधिनेका छन् । 

प्रदर्शनीमा अग्रज कलाकार लालमान लामा, एससी सुमन, देवेन्द्र थुम्केली, केशवराज खनाल, पाल्साङ्मो लामा, कमानसिंह लामा, प्रदीप अधिकारी, रविन्द्र श्रेष्ठ, राजकुमार रानामगर, राजकुमार खड्का, लिलाधर केसी, अमर परियार, अमिर शाक्य, खेम विके, झिग्मे लामा, शिव शेर्पाली, निरीमाया लामा, रञ्जु पुलामी मगर, पूर्णिमा पौडेललगायतका कलाकारका तीन दर्जन बढी कलाकृति समावेश छ । अखिल नेपाल ललितकला सङ्घको संयोजनमा भएको प्रदर्शनीमा समाजवादोन्मुख नेपाली समाजको परिकल्पना गरिएको चित्रहरु समावेश छ । सङ्घका केन्द्रीय अध्यक्ष पाल्साङ्मो लामाले पार्टीको महाधिवेशनको सन्दर्भमा गरिएको कला प्रदर्शनीले नेपाली समाजको बहुआयामिकतालाई कलात्मक रुपमा उतारेको बताउनुभयो ।

माओवादी आन्दोलनको विशिष्ट भूमिका झलक कलाकृतिमा देखिएको छ । यो सम्भवतः नेपालमा समाजवादको विषय लिएर गरिएको यो पहिलो कला प्रदर्शनी हो । प्रदर्शनीले देशलाई समृद्धि दिशातर्फ लैजान राजनीतिक नेतृत्वले विशिष्ट भूमिका खेल्नुपर्छ भन्ने सन्देश दिन खोजेको छ । (रासस, नारायण ढुङ्गाना )