१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

फागुन १ : गौरव कि दुःस्वप्‍न ?

फागुन १ : गौरव कि दुःस्वप्‍न ?
अ अ+ अ-

चन्द्रकिशोर

फागुन १ नेपाली स्मृतिलाई लामो समयसम्म पछ्याइरहने दिन हो । २०५२ सालको यही दिन नेकपा माओवादीले सशस्त्र संघर्ष थालेको थियो । यो दिन पारेर प्रत्येक वर्ष जस्तो विमर्शको प्रक्षेपण गरिन्छ, त्यसभित्र अतिवादको गन्ध भेटिन्छ । एक पक्षले केवल युद्धको गौरवगान गर्ने, अर्को पक्षले दुःस्वप्न मात्रै मान्ने । तर यो यस्तो आली हो, जसले नेपाली समाजको विकासक्रमलाई विभाजन गर्छ । संघर्ष सुरु हुनुपहिले र पछिको नेपाली समाज । तसर्थ सशस्त्र विरोधको व्याकरणलाई फराकिलो क्यानभासमा हेर्नुपर्छ ।

फागुन १ ‘हिंसा उत्सव’ को दिन होइन कि, हाम्रो सामाजिक, सांस्कृतिक, आर्थिक वा राजनीतिक क्षेत्रमा विद्यमान हिंसाको उपस्थितिप्रति मन्थन गर्ने अवसर हो । हिंसाको समस्यालाई गम्भीरतापूर्वक सोच्ने र त्यसलाई कसरी न्यून गर्दै जाने भनी चिन्तन गर्ने मौका हो यो । परिवर्तनका लागि बन्दुक कुन अवस्थामा, कसरी, कोबाट, कुन क्षेत्रमा उठाइयो ? संघर्षको अवतरण कसरी भयो ? बन्दुक उठाउनेहरू कति बदलिए ? लक्ष्यको कति समीप पुगे ? नेपाली समाजको सामन्ती तर सहिष्णु धारले त्यो ज्वारभाटालाई आफूमा कसरी समाहित गर्‍यो ? यसपछि राजनीतिमा हिंसाको फुटकर प्रयोगले कसरी निरन्तरता पाउँदै गयो ? भुइँतहका योद्धाहरूमा केकस्तो परिवर्तनको इच्छा थियो ? कुन महान् परिवर्तन ल्याउने सोचका साथ तिनीहरू त्यसमा संलग्न भएका थिए र त्यो कसरी विस्तार भयो ? आम नेपालीमा यसबारे साझा बुझाइ र त्यसका लागि आवश्यक सामाजिक एवं शासकीय प्रबन्ध नभएसम्म हिंसाको पुनरावृत्ति भइराख्छ ।

हिंसाको अग्निले आन्तरिक अनुकूलता पाएको अवस्थामा मात्रै यो वा त्यो बाह्य पक्षले पानी वा पेट्रोल लिएर आउँछ । नेपाली समाजमा उदीयमान नवराजनीतिक शक्तिको मूल प्रवृत्ति जहिले पनि हिंसा रह्यो, पृथ्वीनारायणदेखि प्रचण्डसम्म । २००७ सालमा नेपाली कांग्रेसले क्रान्ति र २०२८ सालमा वामपन्थीहरूले झापा आन्दोलन जस्ता प्रिय नाराका साथ गरे पनि तिनको माध्यम हिंसा नै थियो । नेपाली राजनीतिक विकासक्रममा हिंसाको निर्णायक भूमिका रहिआएको छ । अहिले संघीय संसदभित्र रहेका मुख्य ठूलो दलले हिंसालाई राजनीतिक निहितार्थका लागि प्रयोग गरेको थियो । प्रचण्ड नेतृत्वको माओवादी पार्टीले सात दलसंँग १२ बुँदे सहमति गर्दै मूलधारको राजनीति अपनायो, जसको परिणति बृहत् शान्ति सम्झौता थियो । यो सम्झौता हुँदै गर्दा एउटा वृत्तमा अब त राजनीतिक कारणले बन्दुक उठ्दैन होला भन्ने विश्वास थियो । तर भयो के ? जयकृष्ण गोइतदेखि विप्लवसम्मले फेरि उही गोरेटो समाउन पुगे । अहिले त झन् राजनीतिक हिंसा होइन, हिंसाको राजनीतिले स्पेस पाउँदै गएको छ ।

सामान्यतः कुनै पनि सभ्य समाजबाट वैधानिक र लोकतान्त्रिक राजनीतिक व्यवहारको अपेक्षा गरिएको हुन्छ । अहिंसा र लोकतन्त्र एउटै सिक्काका दुई पाटा हुन् । जब कुनै पक्षद्वारा कुनै मागका लागि दबाब दिइन्छ, त्यतिखेर सत्ताद्वारा, त्यो चाहे राजनीतिक होस् वा धार्मिक–सांस्कृतिक, सदैव वैधानिकताको दुहाई दिइन्छ । यस्तो वैधानिकता प्रायः विद्यमान यथास्थितिवादी सत्ताका लागि अनुकूलता हुन जान्छ । किनकि कसैको वैधानिकता सत्ताको रवैयामा भर पर्ने हुन्छ । एक दिनअघिसम्म कतिपय माओवादी नेताका टाउकाको मोल तोकिएको थियो, रातारात फेरि उनीहरू वार्तायोग्य पात्र भए । संघर्षरत माओवादीहरू जे थिए–थिए, रूपान्तरण त सरकारी दृष्टिमा आयो ।

यस कारण राजनीतिक आचरणको प्रसंग उठ्दा त्यो वैधानिक हो कि लोकतान्त्रिक वा अहिंसक भनी छुट्याउनुपर्ने हुन्छ । कुनै पनि औचित्यपूर्ण दबाबलाई अवैध घोषित गर्नु कुनै सरकारको वैधानिक अधिकार हुनसक्छ, तर त्यो लोकतान्त्रिक नहुन पनि सक्छ । असहमतिको अधिकार लोकतन्त्रको मूलभूत गुण हो, कसैलाई पनि आफ्नो धारणा व्यक्त गर्नबाट रोक्नु हुन्न । कसैको माग आफ्ना लागि अनुकूल छैन भन्दैमा सत्ताले सुनुवाइ नगर्ने भन्ने हुँदैन । सशस्त्र संघर्षमा जानुपूर्व माओवादीहरूले बुझाएको ज्ञापनमाथि सुनुवाइ र संवाद भएको भए त्यो कालान्तरमा भयानक संक्रमणमा रूपान्तरण हुँदैनथ्यो कि ? इतिहासको झ्यालबाट चियाउँदा यस्तो प्रश्न गर्ने ठाउँ छ नि !

कुनै पनि उत्पीडन, दमन र शोषण आफैमा हिंसा हो । सरकार वा सत्ताका कुनै पनि निकायले अहिंसक आचरणको आवरणमा गर्ने शोषण, दमन, विभेद वा उत्पीडन पनि हिंसा हो । आफूमाथि उठेका प्रश्नलाई दबाउन सत्ताले प्रयोग गर्ने हिंसालाई लोकतान्त्रिक मान्न सकिँदैन । यहीँनिर एउटा सनातन प्रश्न खडा हुन्छ । सामाजिक उत्पीडन, आर्थिक शोषण र राजनीतिक दमनबाट ग्रस्त समाजले आफ्नो बचाउमा हिंसाको प्रयोग गर्छ भने त्यो वैधानिक किन हुने ? हिंसा खराब वा असल, यो पक्षले गर्दा ठीक अनि अर्को पक्षले गर्दा बेठीक भनी गणितीय सूत्रका आधारमा परिभाषित हुने कुरै होइन । अन्यायका विरुद्ध बन्दुक उठाउनेहरू गलत कि सही भन्न कम जटिल छैन । एउटै उत्तर दिन गाह्रो छ । परिस्थितिपिच्छे विश्लेषणमा यसको जवाफ अन्तर्निहित हुन्छ ।

तर राजनीतिक प्रश्नहरूको खोजीमा उठाइएको बन्दुकले अर्को प्रश्न जन्माउने गर्छ । बन्दुक चाहे जुन पक्षको हातमा होस्, त्यसले विवेकमाथि नै पहिलो प्रहार गर्छ । जहां बन्दुक छ, त्यहां थिचोमिचो सुरु भइहाल्छ; अपारदर्शिता, बलमिच्याइँ र आन्तरिक विभेदको सुरुआत भैहाल्छ । दुनियाँको जुनसुकै कुनामा गरिएको सशस्त्र संघर्षले पनि न्यायलाई मारेको, हिंसाको चक्रलाई टेवा दिएको नै भेटिन्छ । भयानक रक्तपातपछि प्राप्त हुने लासहरूमाथिको उपलब्धि कतिपय अवस्थामा फिका देखिन्छ । हिंसा आफैमा दुश्चक्र हो, यसको आधार घृणा हो । कतिपय भन्ने गर्छन्— महान् उद्देश्यप्राप्तिका लागि गरिने हिंसा हिंसा होइन । डाक्टर र अपराधीको चक्कुलाई एउटै श्रेणीमा राख्न सकिँदैन । एउटाको मनोभाव अर्कालाई जीवन दिने हुन्छ, जसमा करुणा प्रबल हुन्छ, जबकि अर्को पक्षको मनोभाव आक्रामक र क्रोधले भरिएको हुन्छ । केही आधुनिक विचारकहरूका मतमा, शोषितमाझ व्याप्त व्यवस्थाविशेषको घृणाले तिनलाई संगठित बनाउँछ र हिंसाले आत्मविश्वास भर्छ । तर उनीहरूले हेक्का राख्न नसकेको कुरा के हो भने, जुन समुदाय वा क्षेत्रले बन्दुक उठाएको हुन्छ, उसैले बढी क्षति बेहोरेको हुन्छ । घृणा र आक्रामकताको मनोभावले ऊ आफैलाई चिन्न र मानवीय संवेदना आर्जन गर्नमा तगारो हाल्छ ।

यसैले एक पटक हिंसाको गोलचक्करमा प्रवेश गरिसकेको समाज त्यसबाट चाँडै मुक्त हुन सक्दैन । भूकम्पका बेलामा जस्तो पछिपछिसम्म परकम्प आइरहन्छ । नेपालको नियति पनि यस्तै छ । पछाडि फर्केर हेर्दा एकै पटक कैयौं प्रश्न इतिहाससमक्ष तेर्सिन्छन् । तर प्रश्नको कठघराबाट नेपालको वर्तमान र आगत पनि कहांँ मुक्त छ त ! प्रत्येक समाजसंँग एउटा आशा हुन्छ— व्यक्तिमा बदलाव आउँछ, एउटा नयांँ सामाजिक व्यवस्था अस्तित्वमा आउँछ र समाजभित्र रहेका हिंसाका अवशेषहरू समाप्त हुन्छन् । तर यसका लागि पहिले असहमति र प्रतिरोधहरूलाई ‘स्पेस’ दिएर आफूभित्र समाहित गर्न आवश्यक छ । तर रचनात्मक प्रतिरोधले सत्तालाई दमन गर्नबाट रोक्छ वा दमन गरे दुनियाँले आलोचना गर्छ भन्ने पनि बिर्सनु हुँदैन ।

शान्तिपूर्ण विरोधलाई बल प्रयोग गरेर थिच्न खोज्ने कतिपय निर्वाचित सरकार स्वयं हिंसाका जननी हुन्् । अर्कातिर, हिंसाको बाटो समाउन उत्प्रेरित गर्ने नेतृत्वको जब चेत जाग्छ, तबसम्म निकै विलम्ब भइसकेको हुन्छ । नेपालका सन्दर्भमा जुनजुन शक्तिले बन्दुक समाए, तिनले आफ्नो विगतप्रति आत्मालोचनाको संस्थागत निर्णय गर्नुपर्छ, अनि मात्रै प्राप्त उपलब्धिप्रति दाबी गर्न मिल्छ । त्यसो नगर्नेहरू स्वयं उदार राजनीतिको आवरणमा हिंसाका पुजारी हुन् । एक पटक हिंसाको उपयोगितालाई स्वीकार गर्ने कुनै पनि लोकतान्त्रिक व्यवस्थाको उद्देश्य आर्थिक–सामाजिक तनावहरूलाई कम गर्ने नभएपछि सत्ताको समानान्तर हिंसा–कारोबारीहरू सलबलाउन थाल्छन् । प्रतिक्रान्ति यस्तै अवस्थामा हुन्छ ।

नेपाली समाजमा छोटा–छोटा अहिंसक आन्दोलनहरू भएका छन् । सत्तालाई ब्युँझाउन अनेक रचनात्मक तरिका छन् । यसमा समय त लाग्छ, तर यसले हानि पुर्‍याउँदैन, आयुर्वेदिक औषधिजस्तै । आज सरकार वा समाजभित्र हिंसाको जुन अवशेष छ, त्यसको मनोविज्ञान बुझ्न जरुरी छ । किनकि हिंसा आफैमा अर्थशास्त्र पनि हो, समाजशास्त्र पनि । र, राजनीति त हुँदै हो । पुँजीवादी व्यवस्थाले हिंसासंग संघर्ष गर्न सक्दैन, किनकि प्रतिद्वन्द्विता उसको मूलमा छ र प्रतिद्वन्द्विता स्वयं हिंसाको स्रोत हो । जस्तो— हामीकहाँ रहेको परिवारको बनोटको जगमा अधिनायक मानस छ । वयको अधिनायक, लिङ्गको अधिनायक, अर्थको अधिनायक, जात र समुदायको अधिनायक । यो सबै हिंसा हो, जसले राजनीतिक हिंसामार्फत परिवर्तनका लागि आधार दिन्छ । आखिर फागुन १ को त्यो पाञ्चजन्य नादले पनि समानतापूर्ण सामाजिक ढांँचा विकसित गर्न खोजेको थियो ।

ब्रेख्तको एउटा नाटकमा एउटी युवती प्रहरीलाई भन्छिन्, ‘मलाई तिमीसँग डर लागिरहेको छ । यो देखेर तिमीलाई लाज लाग्दैन ?’ यस्तो समाज र राज्य बनोस्, जहां कोही कसैसँग डराउनु नपरोस् । यस कारण हिंसाको प्रत्येक आयामलाई चिन्न, निफन्न र फाल्न अहिंसक कोसिस गर्नु नै फागुन १ को चिरसन्देश हो । साभार कान्तिरपुर दैनिक