२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बौद्ध सम्मेलन हुने भएपछि लुम्बिनी क्षेत्रको पर्यटनमा नयाँ आश



अ+ अ-

भैरहवा । सरकारले आगामी बुद्ध पूर्णिमाको अवसर पारेर लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी गरेपछि लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । लुम्बिनीलाई प्राथमिकतामा राखेर बौद्ध सम्मेलन गर्नुले यहाँको पर्यटन व्यवसायमा मात्र नभई बृहत्तर लुम्बिनी विकासको योजना अघि बढाउन पनि सहयोग पुग्ने व्यवसायीको भनाइ छ । “बौद्ध सम्मेलनले अन्तर्राष्ट्रिय जगत्मा लुम्बिनीको प्रचार हुनुका साथै पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्छ, त्यसैले पनि सरकारले गरेको निर्णय स्वागतयोग्य छ”– लुम्बिनी होटल एसोसिएसनका महासचिव लीलामणि शर्माले भने ।

सरकारले बुद्ध जयन्ती अर्थात् वैशाख शुक्ल पूर्णिमाको अवसर पारेर हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्दै आएको छ । यस पटकको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव वानकी मुनसहित २१ वटा राष्ट्रका प्रतिनिधिलाई बोलाउने सरकारको तयारी छ । लुम्बिनीमा तेस्रोपटक अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुन लागेको हो । लुम्बिनीलाई सरकारले प्राथमिकतामा राखेको भन्दै लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीले बौद्ध सम्मेलन सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने पनि बताएका छन् । सिद्धार्थ होटेल एसोसिएसनका उपाध्यक्ष मेघनाथ आचार्यले बौद्ध सम्मेलनलाई स्थानीय स्तरबाट सहयोग गरिने बताए ।

“बौद्ध सम्मेलनमा आउने अन्तर्राष्ट्रिय पाहुनाका कारण लुम्बिनीको विश्वव्यापी प्रचार हुन्छ, यसले गर्दा लुम्बिनीमा पर्यटक बढ्छन् र पर्यटन व्यवसाय फस्टाउँछ, त्यसैले बौद्ध सम्मेलन सफल पार्नुपर्छ”–उनले भने । बौद्ध सम्मेलनले लुम्बिनीको प्रचारप्रसारमा सघाउ पुगे पनि पर्यटकको बसाइ लम्ब्याउने खालका कार्यक्रम सरकारले सञ्चालन गर्नुपर्ने व्यवसायीको भनाइ छ । गौतम बुद्ध र मायादेवीका प्राचीन, ऐतिहासिक कथा तथा बुद्धका सन्देशसमेतलाई समेटेर वृत्तचित्र तयार गरी लुम्बिनी क्षेत्रमा यसको नियमित प्रदर्शन तथा प्रचारप्रसार गर्ने हो भने पर्यटकको बसाइ अवधि लम्बिन सक्ने संस्कृतिविद् गितु गिरीले बताए ।

“अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा आएका पाहुनाले आ–आफ्नो देशमा प्रचार त गर्छन् तर ती देशहरूबाट लुम्बिनी आउने पर्यटकहरू उपयुक्त कार्यक्रम नहुँदा धेरैबेर टिक्दैनन्, त्यसले बौद्ध सम्मेलन सँगसँगै यस कुरामा पनि ध्यान दिनुपर्छ”– उनले भने । यद्यपि सङ्घीय सरकारको लुम्बिनीप्रतिको चासो र प्राथमिकताले अब लुम्बिनीको विकासमा आशा भने पलाएको लुम्बिनीका होटल व्यवसायी अक्रम खानले बताए । “यस वर्ष बौद्ध सम्मेलन हुने खबर सुन्दा उत्साह जागेको छ”–उनले भने ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन लुम्बिनीमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शिलान्यास गरिएको पाँच हजार व्यक्ति क्षमताको सभाहलमा हुनेछ । उक्त सभाहल निर्माणको अन्तिम चरणमा पुगेको छ । लुम्बिनीका होटल एसोसिएसनका अध्यक्ष मिथुनमान श्रेष्ठले लुम्बिनी आउने पाहुनाका लागि होटलमा स्थान अभाव हुन नदिइने बताए । लुम्बिनीमा विहारले पनि व्यापार गरिरहेकाले सरकारले यसलाई भने नियन्त्रण गर्नुपर्ने उनको माग छ । गोरखापत्र दैनिकबाट