काठमाडौँ । नेपाली महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले आइसिसी महिला टी ट्वान्टी विश्वकपको क्वालिफायरमा जित निकाल्ने लक्ष्यसहित खेल्ने बताएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार गरेको पत्रकार सम्मेलनमा नवनियुक्त प्रशिक्षक पाठकले घरेलु मैदानमा हुने ग्लोवल छनोटमा आफ्नो टोली जित निकाल्ने लक्ष्यसहित खेल्ने विश्वास व्यक्त गरेका छन् । आगामी जनवरी १८ देखि फेब्रुअरी ३ सम्म नेपालमा आइसिसी टी ट्वान्टी विश्वकप क्वालिफायर हुँदैछ । घरेलु मैदानमा हुने क्वालिफायरमा नेपाल समूह ‘बी’ मा छ । नेदरल्यान्ड्स, स्कटल्यान्ड, थाइल्याण्ड र जिम्बाब्वे गरी पाँच टोली रहेको समूहमा शिर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा शीर्ष चार टोलीले आगामी सन् २०२६ को जुन १२ देखि ५ तारिखसम्म इङ्ल्यान्ड र वेल्समा हुने आइसिसी ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ ।
क्यानले छनोटअगाडि नै महिला टोलीका लागि अनुभवी प्रशिक्षक नियुक्त गरेको हो । उनले सात वर्षसम्म थाइल्यान्डको महिला र पुरुष टोलीको प्रशिक्षकका रूपमा काम गरेका थिए । यसपल्ट छनोटमा उनले सोही टोलीको विपक्षी प्रशिक्षकका रूपमा काम गर्नुपर्नेछ । नेपाली महिला क्रिकेट टोलीको कमजोरी फिटनेस र ब्याटिङमा सुधार ल्याउने उनको मुख्य जिम्मेवारी हुनेछ । उनले नेपाली पिचमा ब्याटिङका लागि राम्रो रहेको पनि उल्लेख गरे । तर त्यसका लागि कन्डिसन पनि बुझ्नुपर्ने औंल्याएका छन् । टोलीको ब्याटिङ कमजोर भएपनि खेलाडीको इच्छाशक्ति कस्तो छ भन्ने कुराले नतिजामा फरक पर्ने उनको भनाइ छ ।
नेपाली खेलाडीको इच्छाशक्ती बलियो रहेकाले त्यसमा सुधार हुने उनको विश्वास छ । यद्यपि, क्रिकेटमा रातरात परिवर्तन नहुने पनि उनी बताउँछन् । त्यसका लागि लामो योजना र जुनियरस्तरमा पनि राम्रो गर्नुपर्ने उनको भनाइ छ । आपूm नेपाल आउनुको पछाडि राम्रो टोलीलाई प्रशिक्षक गर्ने चाहना रहेको प्रशिक्षक पाठक बताउँछन् । नेपाली महिला क्रिकेट टिमलाई विपक्षी प्रशिक्षकका रूपमा हेरेकाले उनीहरूको क्षमताबारे आफू राम्रो जानकारी रहेको उनले बताए । प्रशिक्षक पाठकले नेपाली खेलाडीको स्ट्रेन्थ र प्यासन राम्रो रहेको पनि उल्लेख गरे । क्रिकेटप्रति धेरै लगाव भएको टोलीलाई प्रशिक्षण गर्न पाउनुले छुट्टै आनन्द मिल्ने उनको बुझाइ छ ।
आइसिसी महिला टी ट्वान्टी विश्वकप ग्लोबल क्वालिफायर नेपालमा आयोजना हुनुले नेपाली महिला खेलाडीमा ठूलो आत्मविश्वास पनि बढ्ने प्रशिक्षक पाठकको विश्वास छ । आफू प्रशिक्षक हुँदा थाइल्यान्ड विश्वकपमा छनोट भएकाले त्यसको अनुभव महत्वपूर्ण उनी बताउँछन् । नेपाली खेलाडीमा क्रिकेटप्रति बलियो लगाव र क्षमता हुनु नै जितका लागि महत्वपूर्ण पक्ष रहेको उनले उल्लेख गरे । उनीहरूका लागि राम्रो वातावरण बनाउन सके नतिजा पनि आउने उनी बताउँछन् । आफ्नो योजनाप्रति खेलाडी स्पष्ट हुनुपर्ने उनले औंल्याए । जहाँ र जुन प्रतियोगिता खेले पनि त्यहाँबाट खेलाडीले सिकेर अगाडि बढ्नुपर्ने उनी बताउँछन् ।










