काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र पठाएको छ।
स्रोतका अनुसार मंगलबार लेखकलाई पत्र पठाउँदै आयोगमा उपस्थित भएर सात दिनभित्र बयान दिन आग्रह गरिएको हो।
आन्दोलनका क्रममा प्रशासनिक तथा सुरक्षा निकायको नेतृत्वमा रहेका व्यक्तिहरूको बयान सकिएपछि आयोगले राजनीतिक नेतृत्वको बयान लिने प्रक्रिया सुरु गरेको जनाएको छ।
सोही प्रक्रियाअन्तर्गत तत्कालीन गृहमन्त्री लेखकलाई पत्र पठाइएको हो। आयोगले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि पत्र पठाउने तयारी गरिरहेको जानकारी दिएको छ।
उक्त आयोगले यस अवधिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित केही राजनीतिक व्यक्तिहरूको बयान लिन बाँकी रहेको जनाएको छ।










