१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
अ अ+ अ-

बागमती। मकवानपुरको पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौँडाबाट वीरगञ्ज जाने मार्गको छेउ चुरे पर्वत शृङ्खलामा अवस्थित चुरियामाईको मन्दिर यस क्षेत्रको प्रसिद्ध तीर्थस्थल हो ।

चुरे पर्वत शृङ्खलामा रहेकाले पनि यस तीर्थस्थललाई चुरियामाई नामकरण गरिएको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । हेटौँडा बजारबाट करिब १३ किलोमिटर दक्षिणतर्फअर्थात् वीरगञ्ज जाने पूर्व-पश्चिम राजमार्गको बायाँतर्फ चुरे पहाडको फेदीमा रहेको यो मन्दिरमा हेटौँडा आसपासका बासिन्दासँगै पूर्व-पश्चिम राजमार्गमा आवतजावत गर्नेहरू दर्शनका लागि आउने गरेका मन्दिरका सहायक पुजारी चन्द्रबहादुर लामाले जानकारी दिनुभयो ।

यसअघि चुरियामाईको मूर्ति चुरे पर्वतको टुप्पोमा रहेकामा राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा भक्तजनलाई पूजाअर्चना गर्न सुविधा होस् भनेर चुरे पर्वतको टुप्पोबाट हालको फेदीमा ल्याई स्थापना गरिएको पुर्खाहरूले बताएका उहाँले जानकारी दिनुभयो । त्यसैले यस मन्दिरलाई राणाकालीन इतिहासको जीवन्त साक्षीका रूपमा लिने गरिएको उहाँको भनाइ छ । यसले राणाकालीन इतिहासको संरक्षण प्रवर्द्धन गर्नुका साथै धार्मिक पर्यटनलाई जोड्ने काम गरिरहेको उहाँले बताउनुभयो ।

विशेष गरी मन्दिरमा नयाँ सवारीसाधन किनेपछि पूजा गर्न आउने भक्तजनको चाप हुने गरेको स्थानीयवासी बताउँछन् । यहाँ सवारीसाधन ल्याएर पूजा गरेपछि राम्रो हुने विश्वास रहेकाले हेटौँडा मात्र नभई आसपासका क्षेत्रबाट पनि नयाँ सवारीसाधन लिएर पूजा गर्न आउने प्रचलन बढिरहेको यातायात व्यवसायी कैलाश थापाले बताउनुभयो ।

“सानो होस् वा ठूलो नयाँ सवारीसाधन किनेपछि चुरियामाईको पूजा गर्न आउने प्रचलन छ”, उहाँले भन्नुभयो, “यहाँ आएर पूजा गरेपछि राम्रो हुने विश्वास प्राचीनकालदेखि रहँदै आएको हो ।” विशेष गरी दसैँको समयमा यहाँ पूजाआजाका लागि आउनेको घुइँचो लाग्ने पुजारी लामाले बताउनुभयो । अन्य समयमा भने शनिबार र विशेष तिथिमितिमा दर्शनार्थीको चाप लाग्ने गरेको उहाँको भनाइ छ ।

मन्दिरमा आकर्षक र कलात्मक शैलीको कालो प्रस्तरको चुरियामाईको मूर्ति छ भने वरपर विभिन्न देवीदेवताका मूर्तिहरू छन् । दर्शनार्थीको घुइँचोलाई व्यवस्थित गर्नका लागि फलामेबारलाई व्यवस्थित गरिएको छ । साथै पूर्व-पश्चिम राजमार्गको चोकबाट उक्लनुपर्ने करिब १० मिनेटको सिँढी बाटोलाई व्यवस्थित गराइएको छ । मन्दिरसम्म उक्लदा यहाँको मनोरम प्राकृतिक सौन्दर्यताले जोकोहीलाई लोभ्याउने गरेको स्थानीय बताउँछन् ।

दक्षिण एसियाकै पहिलो सुरुङमार्ग अर्को महत्वपूर्ण आकर्षण

मन्दिर परिसरमा रहेको दक्षिण एसियाकै पहिलो सुरुङमार्ग यहाँको अर्को आकर्षण हो । मन्दिर आउने दर्शनार्थीले यहाँस्थित सुरुङमार्गका बारेमा निकै चासोका साथ जान्ने, बुझ्ने र अवलोकन गर्ने गरेका चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिका सदस्य रामकुमार पुलामीले बताउनुभयो ।

उहाँका अनुसार यसअघि हेटौँडा उपमहानगरपालिकाले संरक्षण र सञ्चालन गर्दै आएको सुरुङमार्गको संरक्षण, सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी हाल चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

सम्झौताअनुसार समितिले सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनसँगै नियमित रेखदेख, सरसफाइ, मर्मतसम्भार, पर्यटक व्यवस्थापन तथा आवश्यक पूर्वाधार सञ्चालनको जिम्मेवारी पनि निर्वाह गरिरहेको उहाँले जानकारी दिनुभयो । सुरुङ अवलोकनका लागि आउने पर्यटकबाट उपमहानगरले निर्धारण गरेको शुल्क सङ्कलन गर्न सकिने व्यवस्था गरिएको छ भने सङ्कलित रकम सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनमा खर्च गर्नुपर्ने प्रावधान छ ।

‘हेटौँडा उपमहानगरपालिका चुरियामाई सुरुङ सञ्चालन कार्यविधि, २०८१’ अनुसार करिब ५०० मिटर लामो सुरुङमार्ग अवलोकनका लागि विभिन्न किसिमको शुल्क तय गरिएको व्यवस्थापन समितिका सदस्य पुलामीले जानकारी दिनुभयो ।

निर्धारित शुल्कअनुसार पाँच वर्ष उमेरसम्मका लागि निःशुल्क व्यवस्था गरिएको छ भने नेपाली नागरिकका लागि रु ५०, विद्यार्थीका लागि रु १०, विदेशी पर्यटकका लागि रु १०० तय गरिएको छ । चलचित्र, डकुमेन्ट्री, म्युजिक भिडियो निर्माणका लागि रु एक हजार शुल्क निर्धारण गरिएको उहाँले बताउनुभयो । नगरपालिकाले आगन्तुकहरूबाट शुल्क सङ्कलन गर्ने व्यवस्था गरे पनि अधिकांश व्यक्तिले शुल्क नखोज्ने उहाँले अनुभव  सुनाउनुभयो ।

विसं १८७२ मा राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा निर्माण सुरु भई विसं १८७४ मा सम्पन्न भएको चुरियामाई सुरुङमार्ग तत्कालीन हेटौँडा-अमलेखगञ्ज रेलमार्गअन्तर्गत निर्माण गरिएको ऐतिहासिक सम्पदा हो । करिब दुई वर्ष लगाएर निर्माण गरिएको यस सुरुङमार्गले दक्षिण एसियाकै पहिलो सुरुङका रूपमा चासो र चर्चा कमाएको छ ।

यस सुरुङमार्ग निर्माणको प्राविधिक नेतृत्व तत्कालीन सडक विभागका मुख्य इन्जिनियर डिल्लीजङ्ग थापाले गर्नुभएको थियो । लामो समयसम्म प्रयोगविहीन रहेको उक्त सुरुङको स्तरोन्नति बागमती प्रदेश सरकारले सम्पन्न गरी संरक्षण र व्यवस्थापनका लागि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

यो सुरुङमार्गको ऐतिहासिकताको प्रचारसँगै चुरियामाईको धार्मिक महत्व संरक्षण र प्रवर्द्धन गर्न सकिएमा यो मकवानपुरको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास हुनसक्ने जानकारहरू बताउँछन् । राणाकालीन इतिहासको जीवन्त साक्षी सुरुङमार्गसँगै चुरियामाईको धार्मिक महत्वलाई प्रचारप्रसार गरी यहाँको अधिकतम पर्यटकीय उपयोग गर्नुपर्नेमा स्थानीयको जोड छ । रासस